संयुक्त राज्य अमेरिकामा आगामी नोभेम्बर ५ मा नयाँ राष्ट्रपति छान्न निर्वाचन हुँदै छ । यतिखेर सबै राज्यहरुमा निकै उत्साहका साथ पहिले नै हाल्न पाउने मतदानको सदुपयोग गरी रहेका छन । विगतमा भन्दा यस पटक मतदातामा निकै उत्साह थपिएको समाचार माध्यमहरुले जनाएको छ । यो निर्वाचनमा सुरुमा सन् २०२० मा झैँ जो बाइडन र डोनल्ड ट्रम्प उम्मेदवार बनेका थिए । तर गत जुलाई महिनामा बाइडनले आफू उम्मेदवार नबन्ने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि सारे । के अमेरिकाले प्रथम महिला राष्ट्रप्रमुख पाउला त कि पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पुनः सत्तामा फर्किएलान ? अमेरिकी राजनीतिमा मात्र नभए र संसारभरको राजनीतिक बहस चासोको मुख्य विषय बनेको छ ।
कमला ह्यारिस गत जुलाई महिनाको अन्त्यतिर प्रतिस्पर्धामा आएदेखि नै राष्ट्रव्यापी सर्वेक्षणहरूका औसत मानमा उनलाई डोनल्ड ट्रम्पभन्दा केही अगाडि रहेको देखियो । उनले निरन्तर आफ्नो अग्रता कायम राखेकी छन् । निर्वाचन अभियान थालेपछि सुरुका केही साताहरूमा उनीप्रति समर्थन बढेको देखियो । अगस्ट महिनाको अन्तिमसम्म आइपुग्दा उनले झन्डै चार प्रतिशतको अग्रता कायम गरिन् ।
सेप्टेम्बरको पूर्वार्धदेखि दुई उम्मेदवारहरूप्रति समर्थन व्यक्त गर्ने मतदाताको सख्या तुलनात्मक रूपमा स्थिर देखिएको छ । सेप्टेम्बर १० मा ह्यारिस र ट्रम्पबीच भएको बहसपछि पनि त्यसमा ठूलो परिवर्तन देखिएको छैन । टेलिभिजनबाट प्रत्यक्ष प्रसारित उक्त बहस सात करोड मानिसले हेरेका थिए । विगत केही सातामा प्रतिस्पर्धामा कति थोरै परिवर्तन भएको छ भन्ने कुरा तलको चित्रले देखाउँछ । विभिन्न रङ्गमा प्रस्तुत रेखाले मुख्य तीन उम्मेदवारका पक्षमा अभिव्यक्त मतको औसत मान र बिन्दुले प्रत्येक सर्वेक्षणमा उनीहरूले प्राप्त गरेको समर्थनको प्रतिशत सङ्केत गर्छन् । यस्ता सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियताको झल्को दिने भए पनि तिनकै आधारमा निर्वाचनको परिणाम यस्तै हुन्न भन्न चाहिँ सकिँदैन ।
किनभने संयुक्त राज्य अमेरिकामा इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलमा आधारित प्रणालीले निर्वाचनको परिणामको छिनोफानो गर्छ । त्यसअन्तर्गत राज्यहरूलाई त्यहाँको जनसख्याका आधारमा निश्चित सख्यामा मतभार अर्थात् इलेक्टोरल कलेज मत दिइएको हुन्छ । देशभरिका सबै राज्यसँग कुल ५ सय ३८ इलेक्टोरल कलेज मत हुन्छ । निर्वाचन जित्न २७० मतभार पाउनैपर्छ । सर्वसाधारण मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मत दिन्छन्, राष्ट्रिय स्तरमा हैन । दुई राज्यमा बाहेक अन्यत्र सर्वाधिक मत ल्याउने उम्मेदवारले उक्त राज्यका लागि तोकिएको सबै मतभार अर्थात् इलेक्टोरल कलेज मत हात पार्ने प्रावधान छ । पपुलर मल पाए पनि ईलोक्ट्रोल मत बढी पाउने नै निर्वार्चित हुन्छ । अघिल्लो निर्वाचनहरुमा यस्तै थूप्रै पटक भएका छन ।
अधिकांश राज्यले प्रत्येक निर्वाचनमा प्रायः एउटै पार्टीलाई मत दिन्छन् । केही राज्यमा मात्र दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ । ती राज्यले नै समग्र निर्वाचनको परिणाम तलमाथि पारिदिन्छन् । ती राज्यलाई ब्याटलग्राउन्ड स्टेटु स्विङ स्टेट भन्ने गरिन्छ । यो निर्वाचनमा सातवटा राज्यमा दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ । मत सर्वेक्षणहरूमा ती राज्यमा कुनै पनि उम्मेदवारले स्पष्ट र निर्णायक अग्रता कायम गरेको देखिँदैन । त्यहि राज्यहरुका आधारमा निर्वाचन जित हार हुन्छ ।
अगस्ट महिनादेखि एरिजोना, जोर्जिया र नर्थ क्यारोलाइनामा एकै उम्मेदवारको अग्रता छैन । ती तीन राज्यमा केही सातादेखि ट्रम्प झिनो मतले अगाडि देखिएका छन् । नभाडा राज्यमा पनि अगाडि हुने उम्मेदवार एकै छैनन् । त्यहाँ अहिले ह्यारिसलाई ट्रम्पभन्दा केही अगाडि देखिन्छ । मिशिगन, पेन्सिल्भेनिआ र विस्कन्सिनमा अगस्ट महिनादेखि ह्यारिस अगाडि देखिएकी छिन । कहिलेकाहीँ उनी ट्रम्पभन्दा दुई वा तीन प्रतिशतले अगाडि हुन्छिन् । तर केही दिनदेखि प्रतिस्पर्धा बढेको देखिन्छ ।
सन् २०१६ मा ट्रम्प विजयी हुनुअघि यी तीनवटै राज्यलाई डेमोक्र्याटिक पार्टीको गढ मानिन्थ्यो । सन् २०२० मा जो बाइडनले ती राज्यमा आफ्नो पार्टीको प्रभाव पुनः स्थापित गरे । यसपालि ह्यारिसले ती राज्यलाई आफ्नो पक्षमा पार्न सकिन् भने उनलाई चुनाव जित्न सजिलो हुने छ । उम्मेदवार नबन्ने घोषणा गर्नुअघि सातवटा स्विङ स्टेटमा जो बाइडन आफ्ना प्रतिस्पर्धी ट्रम्पभन्दा औसतमा पाँच प्रतिशतले पछाडि रहेको मतसर्वेक्षणहरूले देखाएका थिए । तर उनको ठाउँमा ह्यारिस उम्मेदवार बनेपछि डेमोक्र्याटिक पार्टीका पक्षमा समर्थन बढेको देख्न थालियो । पेन्सिल्भेनिआ राज्यमा बाइडेन ४ दशमलव ५ प्रतिशतले पछाडि थिए । सात राज्यमध्ये सर्वाधिक इलेक्टोरल कलेज मत १९ भएकाले दुवै उम्मेदवारका लागि पेन्सिल्भेनिआ महत्त्वपूर्ण छ । सो राज्यमा निर्वाचन जित्ने उम्मेदवारलाई परिणाम आफ्नो पक्षमा पार्न आवश्यक २७० मतभार पु¥याउन सहज हुनेछ ।
मत सर्भेक्षणहरु कति तथ्यपरक होलान ?
अमेरिकी निर्वाचनमा यस्ता सर्भेक्षण केहिबाहेक प्रायजसो मिल्ने गरेको ईतिहास छ । धेरै मानिसले मत सर्वेक्षणहरूले कुन उम्मेदवारलाई अगाडि देखाउँछन् र निर्वाचनमा को विजयी होला भनेर चर्चा गर्ने गरेका छन् । तर मत सर्वेक्षण गर्ने संस्थाहरूले सन् २०१६ मा भएको निर्वाचनको परिणाम सही अनुमान गर्न सकेका थिएनन् । उनीहरूको अनुमानविपरीत हिलरी क्लिन्टनलाई पराजित गर्दै डोनल्ड ट्रम्प राष्ट्रपति बनेका थिए ।
यदि इलेक्टरल मत बराबर भएमा के होला भन्ने प्रश्न पनि उठि रहेका छन । विगतमा यस्ता घटनाहरु भएका पनि छन । कुल ५ सय ३८ इलेक्टरल मत रहेकोले दुई उम्मेदवारको २६९, २६९ मत हुने सम्भावना रहन्छ। यस्तो भयो भने को राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुन्छ ? यस्तो बेला निर्णय अमेरिकी संसद्ले गर्छ। अमेरिकी संसद्ले सन् १७९६, सन् १८००, सन् १८२५, र सन् १८७७ मा गरी चारपटक यस्तो अवस्था सिर्जना हुन गएको विशेष परिस्थितिमा राष्ट्रपति छानेको ईतिहास छ ।
कंग्रेस भनिने अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति र माथिल्लो सदन सिनेटले उपराष्ट्रपति छान्ने कानुनी व्यवस्था छ। हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनमा प्रत्येक राज्यको प्रतिनिधि मण्डलले एक मत दिन पाउँछ । यसको अर्थ त्यहाँ जम्मा ५० मत हुन्छ र २६ मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति चुनिन्छ । हालको अवस्थामा अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याटको बहुमत छ । सिनेट भनिने माथिल्लो सदनका एक सय सदस्य सबैले मत दिएर उपराष्ट्रपति छान्ने कानुनी व्इवस्था छ । अहिले अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत छ ।
विभिन्न अन्तराष्ट्र्रिय सन्चारमाध्यममा प्रकासित समाचारमा आधारित ।