Newyork Time 09:06 am
October 15, 2024, Tuesday
२०८१ आश्विन २९

अमेरिकी राष्ट्रपति निर्वाचनका निर्णयक यी सात राज्यहरु किन र कसरी ?

२०८१ आश्विन ९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

360

 

लगभग २४ करोड अमेरिकीहरू यस पटकको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन् । तर सम्भवतः तिनीहरूमध्ये तुलनात्मक रूपमा ५० देखि ५५ प्रतिशतले मात्रै मतदान गर्लान यसै भन्न सकिन्न , विगतको थइांकले यस्तै संकेत गर्दछ । आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफको निर्धारण यहि निर्वाचनले गर्नेछ । औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन्सका डोनल्ड ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको विशेषज्ञहरूको विश्वास छ ।
तीमध्ये एरिजोना, जोर्जिया, मिशिगन, नभाडा, नर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन त्यस्ता राज्य हुन् जसले ह्वाइट हाउसको चाबी आफूसँग राखेको चर्चा छ । ति निर्णायक भनिएका राज्यहरुमा अब चुनावका अन्तिम महिनाहरूमा ती राज्यका अनिर्णीत मतदाताको मन जित्न दुवै पक्ष जोडतोडले लागिरहेका छन् । आखिर किन यी राज्यहरुलाई निर्णायक मानिन्छ त । फोटोमा देखाइएको तथ्यांक कमला ह्यारिस उम्मेदवार हुनु अघिको हो

एरिजोना
सन् २०२० मा डेमोक्र्याटसहरूले ’ग्रयान्ड क्यान्यन स्टेट’ भनिने यस राज्यको समर्थनबाट राष्ट्रपतिमा चुनाव जिते । यस राज्यले उक्त पार्टीको उम्मेदवारलाई सन् १९९० को चुनावपछि पहिलो पटक थोरै मतान्तरले जितायो । यो राज्यको मेक्सिकोसँग सयौँ माइलसम्म सीमा जोडिएको छ र यो आप्रवासनसम्बन्धी राष्ट्रिय बहसको केन्द्रमा छ ।
हालैका महिनामा सीमा पार गर्ने घटनाहरूमा अहिलेसम्मकै ठूलो गिरावट देखिएको छ र यो विषय राजनीतिज्ञ र मतदाताहरूको चासोको केन्द्रमा छ । सीमा समस्या हल गर्ने प्रयत्नका निम्ति राष्ट्रपति जो बाइडेनद्वारा एउटा भूमिका दिइएकी ह्यारिसलाई ट्रम्पले यस विषयमा हमला गरेको ग¥यै छन् । ट्रम्पले आफूले चुनाव जितेको खण्डमा इतिहासकै ठूलो ’डिपोर्टेशन अपरेशन’ (आप्रवासीहरूलाई घर फर्काउने अभियान) चलाउने प्रतिबद्धता दोहोर्याएका छन् । उनको त्यो प्रतिवद्धतालाई विश्वास मान्ने आधार भने छैन किनकी उनले एक कार्यकाल राष्ट्रपति बन्दा उनको का गराई व्यवहारमा निकै अन्तर देखिई सकेको छ । रिपब्लिकन्सले गर्भपतनमाथिको १६० वर्ष पुरानो प्रतिबन्धलाई पुनः लागु गर्ने कोसिस गरेपछि एरिजोनामा यस विषयक बहस पनि तात्यो । तर प्रतिबन्धको प्रयत्न रोकियो ।

अमेरिकी सर्वोच्च अदालतले एउटा ऐतिहासिक फैसला गर्दै महिलाहरूलाई गर्भपतन गराउन पाउने संवैधानिक अधिकार दिएपछि सन् २०२० यता यो मुद्दाले देशभर विस्फोटक रूप लिएको छ ।

जर्जिया
ट्रम्पमाथि र्जोिजयामा एउटासहित जम्मा चार वटा फौजदारी अभियोग छन् । हामीले तयार पारेको “स्विङ स्टेटहरू“को सूची सन् २०२० को चुनावमा रिपब्लिकन अधिकारीहरूले बाइडनको जितलाई असफल गराउने कोसिस गरेका स्थानहरूसँग निकै मिल्दोजुल्दो छ । ट्रम्पले चुनावमा हस्तक्षेप गरेको भनी लागेका चार मुद्दामध्येको एउटा जोर्जियाको फुल्टन काउन्टीमा खेपिरहेका छन् । उनी एउटामा दोषी ठहरिसकेका छन् भने बाँकी टुङ्गिइसकेको छैन । उनीसहितका १८ अन्यमाथि बाइडनसँगको झिनो हारलाई उल्ट्याउन षड्यन्त्र गरेको आरोप छ । तर ट्रम्पले आरोपहरू अस्वीकार गर्दै आएका छन् र चुनावअघि यस मुद्दाको सुनुवाइ हुने सम्भावना पनि देखिँदैन ।
जोर्जियाको एकतिहाइ जनसख््या अफ्रिकन–अमेरिकन मूलको छ भने अश्वेत बासिन्दाको देशकै ठूलो अनुपात पनि यहीँ छ । यही जनसख्याले यस राज्यमा सन् २०२० को चुनावलाई बाइडनको पक्षमा उल्ट्याइदिन मूल भूमिका खेलेको विश्वास गरिन्छ । अमेरिकाका अश्वेत बासिन्दाहरू बाइडनप्रति निराश भएको विवरणहरू आएका भए पनि ह्यारिसको प्रचारमा लागेकाहरूले यस क्षेत्रमा स्थितिलाई सम्हाल्न सकिने आशा गरेका छन् ।

मिशिगन
बाइडनले आफ्नो मध्यपूर्वसम्बन्धी नीतिलाई लिएर मिशिगनमा आलोचनाको सामना गरिराखेका छन् । पछिल्ला दुई चुनावमा यो ’ग्रेट लेक्स स्टेट’ले विजेता उम्मेदवारलाई चुनेको छ । सन् २०२० मा बाइडनलाई समर्थन गरेको भए पनि अहिले भने यो राज्य गाजा युद्धमा बाइडनले इजरेललाई दिएको सहयोगबारे देशभर फैलिएको असन्तुष्टिको पर्याय बनेको छ ।
फेब्रअरीमा मिशिगनमा भएको डेमोक्याटिक पार्टीको ’प्राइमरी’ प्रतिस्पर्धामा एक लाखभन्दा धेरै मतदाताले “अप्रतिबद्ध“को विकल्पमा मत दिए । उनीहरू अमेरिकाले इजरेललाई दिँदै आएको सहयोग रोकियोस् भन्ने चाहने अभियानकर्मीहरू थिए । उल्लेख्य कुरा के हो भने देशकै ठूलो अरब–अमेरिकनहरूको हिस्सा मिशिगनमा बसोबास गर्छ । यो जनसख्याको बाइडनप्रतिको समर्थन खतरामा परेको थियो । तर ह्यारिसको इजरेलप्रतिको प्रस्तुति कडा देखिएका कारण गाजाका केही प्रदर्शनकारीहरूले उनीहरूको मुद्दामा ह्यारिसले अधिक सहानुभूति राख्ने अपेक्षा गरिएको बताएका छन् ।
ट्रम्पले उनको सम्भावित जिततर्फको यात्रामा यस राज्यको महत्त्वपूर्ण भूमिका हुने बताउँदै आएका छन् । मध्यपूर्वका घटनाक्रमबारे टिप्पणी गर्दै उनले इजरेललाई गाजामा सञ्चालित हमासविरुद्धको अभियान शीघ्र समाप्त गर्न आह्वान गरेका छन् ।

नभाडा
नभाडाले पछिल्लो चुनावमा डेमोक्र्याटलाई मत दिएको थियो तर कोभिडपछिको सुधार यस राज्यमा अन्तभन्दा सुस्त छ । यस राज्यले पछिल्ला केही चुनावमा डेमोक्र्याटलाई मत दिएको छ । तर रिपब्लिकनहरूले त्यसलाई उल्ट्याउन सक्ने सङ्केतहरू देखिएका छन् ।
सर्वेक्षणहरूको अनुगमन गर्दै आएको ’फाइभ थ्री एट’ नामक संस्थाले प्रकाशित गरेको हालैको औसत संश्लेषण प्रतिवेदनका अनुसार सर्वेक्षणहरूले एक पटक यस राज्यमा बाइडनभन्दा ट्रम्प निकै अघि रहेको सङ्केत गरे पनि ह्यारिसको उम्मेदवारीसँगै उक्त अग्रता घटेको देखाएको छ । डेमोक्र्याटहरूले युवा र विविधतायुक्त मतदातालाई आकर्षित गर्न सक्ने उम्मेदवारका कारण यो दूरी अझै घट्न सक्ने आशा गरेका छन । दुवै उम्मेदवारले राम्रै सख्यामा रहेको ल्याटीनो जनसङ्ख्याको मन जित्ने कोसिस गरिराखेका छन् ।
बाइडनले पद सम्हालेयता अमेरिकी अर्थतन्त्र र रोजगारीको सिर्जनामा व्यापक वृद्धि भएको देखिए पनि यस राज्यमा कोभिडपछिको सुधार भने अन्तभन्दा सुस्त देखाएको छ । सरकारी आँकडाका अनुसार क्यालिफोर्निया र डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी)पछि नभाडामा सबैभन्दा उच्च ५.१ प्रतिशतको बेरोजगारी दर छ । ट्रम्पले पुनः शक्तिमा आएको खण्डमा कर तथा नियमन घटाउने कार्यसूचीमा फर्कने प्रतिबद्धता जनाएका छ्न् ।

नर्थ क्यारोलाइना
सर्वेक्षणहरूले यस राज्यमा डेमोक्र्याटिक पार्टीका तर्फबाट ह्यारिस उम्मेदवार भएयता दुई उम्मेदवारबीचको दूरी निकै झिनो बनेको देखाएका छन् । केही विश्लेषकहरूले यहाँ दुवै उम्मेदवारको जितको सम्भावना बराबरी रहेको स्थितिका रूपमा व्याख्या गरेका छन् । जुलाईमा भएको गोली प्रहारको घटनापछि ट्रम्पले पहिलो चुनावी कार्यक्रम यहाँ गर्ने निर्णय गरेकाले पनि सायद यसको महत्व दर्शाएको बताइएको छ । “जितका लागि यस राज्य निकै महत्त्वपूर्ण छ,“ भिडलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए ।
डेमोक्र्र्याटहरूले भने पार्टी ’कन्भेन्शन’को अन्तिम रातमा यस राज्यका गभर्नर रोय कूपरलाई मञ्च सुम्पने निर्णय गरेका थिए । ट्रम्पले सन् २०२० को चुनावमा यस राज्यमा केवल ७० हजारभन्दा केही बढी मतले जित हासिल गरेका थिए । त्यसैले यस पटक जित्न सकिनेबारे डेमोक्र्याटहरूको आशा बढेको छ ।

पेन्सिल्भेनिया
बन्दुकधारीद्वारा प्रहार गरिएको गोली ट्रम्पको कानलाई छोएर गएपछि ट्रम्पले मुठ्ठी उठाउँदै आफ्नो मतदातालाई अभिवादन गरेका थिए । त्यो घटना यहि राज्यमा भएको हो । पेन्सिल्भेनियाको बट्लरमा आयोजित कार्यक्रमका क्रममा ज्यान लिन गरिएको आक्रमणमा ट्रम्प बाँच्न सफल रहे ।
यस राज्यमा दुवै पक्षले जोडतोडका साथ आआफ्ना अभियान सञ्चालन गरिरहेका छन् । यो त्यही राज्य हो, जहाँ ट्रम्प हत्या प्रयासबाट बचेका थिए । सन् २०२० मा बाइडनलाई समर्थन गरेर यो राज्यले आफू निर्णायक भएको प्रमाणित गरिसकेको छ । श्रमजीवीहरूको सहर स्क्रान्टनसँग बाइडनको गहिरो भावनात्मक सम्बन्ध थियो किनकि उनी त्यहीँ हुर्के बढेका थिए ।

अन्य धेरै ठाउँजस्तै यहाँ पनि अर्थव्यवस्था मूल मुद्दाका रूपमा रहँदै आएको छ । बिस्तारैबिस्तारै घट्नुअघि बाइडन प्रशासनका क्रममा देशैभर मुद्रास्फीति बढेको थियो । यहाँका मानिसहरू जीवनयापनका निम्ति महँगीको दबाव खेपिरहेका अन्य राज्यका अमेरिकीहरूभन्दा भिन्न छैनन् । तर पेन्सिल्भेनियामा दैनिक प्रयोग हुने किराना सामग्रीको मूल्य अन्य राज्यमा भन्दा तीव्र गतिमा बढेको बजारसम्बन्धी अध्ययन गर्दै आएको ’डेटासेम्ब्ली’ नामक संस्थाले जनाएको छ । यसअघि नै पेन्सिल्भेनियाको महत्वपूर्ण काउन्टी ईअरीमा मानिसहरू खानाको निम्ति सङ्घर्ष गरिरहेको र आठमध्ये एक जनासँग पर्याप्त भोजन नरहेको प्रतिवेदन प्रकाशित गरेको थियो ।

उच्च दरको मुद्रास्फीतिले ह्यारिसलाई देशैभर नोक्सान पु¥याउन सक्छ । सर्वेक्षणहरूले यसले मतदाताहरूलाई अर्थव्यवस्थालाई हेर्ने प्रतिकूल दृष्टिकोण दिइरहेको देखाएका छन् । ट्रम्पले बाइडनको अर्थव्यवस्थाबारे ह्यारिसमाथि दोष थुपार्दै आक्रमण गरेका छन्।

विस्कन्सिन
रिपब्लिकनहरूले आफ्नो २०२४ को ’कन्भेन्शन’का निम्ति मिल्वाकीलाई चयन गरेका थिए । सन् २०१६ र र २०२० का दुवै चुनावमा यस राज्यले पनि जित हासिल गर्ने उम्मेदवारलाई नै चयन गरेको थियो । दुवै पटक बीस बजारभन्दा केही अधिक मतको मात्रै अन्तर थियो । जानकारहरूका अनुसार प्रमुख पार्टीका उम्मेदवारका नीतिहरूविरुद्ध अभियान चलाइरहेका तेस्रो पक्षका उम्मेदवारहरूले विस्कन्सिनजस्ता सीमान्त राज्यहरूमा प्रभाव पार्न सक्छन् ।
सर्वेक्षणहरूले स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जूनिअरले मतदाताको राम्रै समर्थन प्राप्त गर्ने र त्यसले ह्यारिस वा ट्रम्पलाई नराम्रो असर पर्न सक्ने देखाएका छन् । पार्टीद्वारा औपचारिक रूपमा मनोनित भइरहँदा कमला ह्यारिस मिल्वाकीमा थिइन् । डेमोक्र्याटहरू राज्यको चुनावसम्बन्धी कानुन पालना नगरेको भन्दै ग्रीन पार्टीका उम्मेदवारलाई चुनावबाट बाहिर धकेल्न सङ्घर्ष गरिरहेका छन् भने वामपन्थी झुकाव राख्ने शैक्षिक पृष्ठभूमिका अर्का उम्मेद्वार कर्नेल वेस्टविरुद्ध पनि उजुरी गरेका छन् ।
विस्कन्सिनको महत्व बताउँदै ट्रम्पले भनेका थिए, “वास्तवमै महत्त्वपूर्ण यदि विस्कन्सिन जित्यौँ भने सबै कुरा जित्छौँ ।“ उनको पार्टीको ग्रीष्मकालीन ’नेसनल कन्भेन्शन’ मिल्वाकीमा आयोजना गरिएको थियो । डेमोक्र्याटिक पार्टीले ’लाइभ–फीड’का माध्यमबाट उनलाई राष्ट्रपति पदको उम्मेदवारका रूपमा औपचारिक मनोनयन गरिरहँदा ह्यारिस पनि सोही सहरमा चुनावी कार्यक्रम गर्दै थिइन् ।

यसरी विभिन्न कारण यी राज्यहरु निर्णायक मानिएका छन तर विभिन्न सर्वेक्षणहरुले ट्रम्प भन्दा ह्यारिस अगाडी रहेको भन्दै आएको छ । पहिलो डिवेटपछि ट्रम्प घट्दो क्रममा र कमला बढ्दो क्रममा रहेको सन्चार माध्यमहरुले जानएको छ । एकाथरी विश्लेशकहरुले प्रत्यक्ष मत कमलाको निकै धेरै आउने बताएका छन र ईलोक्ट्रोल मतको मात्रै गणना गर्न बाँकी भन्न थालेका छन । विगतमा पनि प्रत्यक्ष मतमा बढी ल्याए पनि हिलारी क्लिन्टनले ट्रम्पसंग ईलोक्ट्रोल मतका कारण राष्ट्रपतिमा हार व्यहोरेकी थिईन ।  विविसिले तयार पारेको समाचारमा आधारित यो समाचार ।