May 15, 2025, Thursday
२०८२ जेष्ठ २

युक्रेन युद्ध अर्को हप्ता समाप्त हुनेः ह्वाइट हाउस

२०८१ फाल्गुन ११
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

515

 

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले शनिबार राष्ट्रपति ट्रम्पलाई युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न रुससँग सम्झौता गर्न सक्ने क्षमतामा पूर्ण विश्वास रहेको बताइन् । उनले तीन वर्षदेखि चलिरहेको यो युद्ध यसै हप्ता समाप्त हुन सक्ने संकेत गरिन् । “राष्ट्रपति र उनको टोली यो युद्ध अन्त्य गर्न दुवै पक्षसँग वार्ता जारी राख्नमा पूर्ण रूपमा केन्द्रित छन्, र राष्ट्रपति अत्यन्तै विश्वस्त हुनुहुन्छ कि हामी यस हप्तामै समाधान निकाल्न सक्छौं,“ लेभिटले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्सबाट फर्केपछि ह्वाइट हाउसको साउथ लनमा पत्रकारहरूसँग भनिन् ।

यो टिप्पणी त्यतिबेला आएको हो जब राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई “उनको हातमा कुनै बलियो आधार छैन“ भन्दै शान्ति वार्ताका लागि अन्तर्राष्ट्रिय नेताहरूसँगको छलफलबाट बाहिर बस्न सुझाव दिएका थिए । लेभिटले उल्लेख गरिन् कि राष्ट्रिय सुरक्षा सल्लाहकार म्याट वाल्ट्ज यस सम्झौतामाथि काम गर्न यो सप्ताहन्तभरि नै लागिरहनेछन् । साथै, ट्रेजरी सचिव स्कट बेसेन्टले युक्रेनी प्राकृतिक स्रोतहरू उपयोग गर्ने प्रस्तावित सम्झौतासम्बन्धी छलफलहरूमा संलग्न रहेको जानकारी दिइन् । अमेरिकी टोली सहमतिका लागि केहि दिन देखि युक्रेनमा रहेको छ ।

“सम्भावित खनिज स्रोतहरूका सन्दर्भमा, यो राष्ट्रपतिको लागि महत्वपूर्ण पक्ष हो । यो राष्ट्रपतिको लागि धेरै महत्वपूर्ण छ, किनभने यसले अमेरिकी करदाता रकम फिर्ता गर्न मद्दत गर्नेछ,“ लेभिटले भनिन् । “र यसले अमेरिकासँगको आर्थिक साझेदारीलाई बलियो बनाउनेछ, साथै युक्रेनी जनताले यो निर्दयी युद्धपछि आफ्नो देश पुनर्निर्माण गर्न मद्दत पाउनेछन् ।“ अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो परियोजनाबाट २० करोड डलरको कोष उत्पन्न हुने र कानूनी स्वीकृतिपछि युक्रेनमा सुरक्षा हित कायम हुने बताएका छन् । राज्य विभागका अनुसार युद्ध सुरु भएदेखि अमेरिका युक्रेनलाई ६५.९ अर्ब डलरको सैन्य सहायता प्रदान गरिसकेको छ ।