एम्बास्डर फण्ड फर कल्चरल प्रिभेन्सन (एफसिपि) कार्यक्रममार्फत, संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले सन् २००३ देखि नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्न सहयोग गर्दै आएको छ । यो कार्यक्रमअन्तर्गत विदेश मन्त्रालयले काठमाडौँ, पाटन, मुस्ताङ, हुम्ला र लुम्बिनी लगायतका स्थानहरूमा रहेका २८ वटा परियोजनाहरूको संरक्षण र पुनःस्थापनाका लागि ४ दशमलव ५४ मिलियन डलर अर्थात ६० करोडभन्दा बढी रकम प्रदान गरिसकेको नेपाल स्थिति अमेरिकी दुतावासले जनाएको छ ।
(एफसिपि) कार्यक्रमले काठमाडौँ दरबार स्क्वायरमा अवस्थित गद्दी बैठकको भूकम्प प्रतिरोधात्मक पुनःस्थापनामा समेत सहयोग पु¥याएको जनाइएको छ । सन् १९०८ मा निर्माण गरिएको गद्दी बैठक राज्य प्रमुखको स्वागत र राज्याभिषेक समारोहका लागि प्रयोग गरिन्थ्यो । यो परियोजना (एफसिपि)को सन् २०१६ को प्रमुख अनुदानमध्ये एक थियो, जसअन्तर्गत ७ लाख अमेरिकी डलर सहयोग गरिएको थियो । त्यस सहयोगबाट पुनःस्थापना कार्य २०१८ मा सम्पन्न भएको थियो । गद्दी बैठक पुनःस्थापना परियोजनाले सन् २०१९ मा ईन्जिनियरिंग न्यूज रेकर्ड (ईइनआर) को पुरस्कार (ग्लोवल बेष्ट प्रोजेक्ट श्रेणी) पनि जितेको दुतावासले जनाएको छ ।
यो परियोजना नेपाल सरकारको पुरातत्व विभाग, हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समिति साझेदारीमा सम्पन्न गरिएको थियो । यस परियोजनामा १०० भन्दा बढी स्थानीय कालीगडहरू संलग्न थिए, र परम्परागत निर्माण सामग्री र प्रविधि प्रयोग गरी दरबारलाई भूकम्प प्रतिरोधी बनाइयो, साथै यसको मौलिकता कायम राखियो । पुनःस्थापना सम्पन्न भएपछि, गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ, र यसको भुईँतलामा एउटा संग्रहालय पनि स्थापना गरिएको छ । साथै थप परियोजनाहरूमा लुम्बिनी वा मुस्ताङको पनि पुर्ननिर्माणमा अमेरिकी दुतावासले सहयोग गरेको उल्लेख छ ।