नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज गीतहरू बजारमा आउने क्रम जारी छन् । विभिन्न तीज गीतले यतिबेला नेपाली बजार पिटिरहेको छ । सोही क्रममा यस वर्ष पनि चर्चित गायिका कला लम्सालको तीज गीत “गल्ला लाहुरे” सार्वजनिक भएको छ । तीजको अवसर पारेर ल्याइएको उक्त गीत बुधबार बिहान गायिका लम्सालले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । पछिल्लो समय भ्युजका लोभमा तीजको नाममा तीज संस्कृतिलाई असर पर्ने गरी अश्लील गीत निकाल्ने क्रम बढीरहेको छ । तर गायिका कला लम्सालले भने सदा झै यस वर्ष पनि मौलिकता झल्कने तिज गीतलाई ननै प्राथमिकता दिएकी छिन् ।
गीतमा कलाको आफ्नै सुमधुर आवाज रहेको छ भने शब्द तथा सँगीत शिव हमालको रहेको छ । भिडियोमा मोडल तथा गायक रामजी खाड , अञ्जली अधिकारी र कला आफैले पनि अभिनय गरेकी छिन् । भिडियो निर्देशन तथा कोरियोग्राफी जेरि भन्डारीले गरेका छन् । हरेक वर्ष मौलिक तीज गीत गर्ने गायिका लम्साल यस वर्ष पनि श्रोताहरूको लागि तीजको कोसेली लिएर आएकी हुन् । अहिलेको परिपेक्षमा तीजको भावहरू समेटिएको गीतहरू अत्यन्त न्यून सङ्ख्यामा आइरहेको बेलामा मौलिक तीज गीत निकाल्नु नै कलाको विशेषता मानिएको छ । उनले हरेक वर्ष एकल मौलिक तिज गीत गाउने गरेकी छिन् यस कारण पनि नेपाली गीत संगीत क्षेत्रमा कलाले आफ्नो छुट्टै पहिचान बनाएकी छिन् ।
मौलिक गीतहरू गाउँन रुचाउने कलाले अघिल्ला वर्षहरूमा ‘पातली’ तीज गीत अन्तर्गत ४ भाग सार्वजनिक गरिसकेकी छन् । जसले बजारमा अपार सफलता हासिल गरेको छ । पोहोर साल तिजमा भने उनले चरी भरर बोलको गीत सार्वजनिक गरेकी थिईन् । २०६२ सालदेखि औपचारिक साङ्गीतिक यात्रा सुरु गरेकी लम्सालले हालसम्म १०० भन्दा बढी गीतमा स्वर भरिसकेकी छन् । लम्सालको बुझाइमा लोकसंगीत भनेको सँगीतको जननी हो । तर त्यही मौलिकता बोकेको कला संस्कृति हराउँदै गएकोमा भने उनलाई चिन्ता छ । लोकदोहोरी गीत तथा तिज गीतहरू आफ्नै मौलिक स्वरमा प्रस्तुत गर्ने क्षमता उनमा छ । यसकारण पनि नेपाली लोक गायनमा उनले फरक पहिचान बनाएकी छन् । गायिका लम्सालले हालसम्म साङ्गीतिक यात्राका क्रममा भारत, यूएई, क्यानडा, जापान, अस्ट्रेलिया, रसिया लगायत देशको भ्रमण गरिसकेकी छन् । सोही क्रममा लम्साल हाल बेलायत यात्रामा छिन् । उनी तीज पछि मात्रै नेपाल पर्कने छिन् ।