February 8, 2025, Saturday
२०८१ माघ २६
५ महादेशमा १२ देशका १४ शहरहरूमा

सुरु भयो १ करोड पुरस्कार राशी भएको “मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स”को अडिसन

२०८१ माघ १५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

315

सबैभन्दा धेरै पुरस्कार राशी भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शोहरू मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन दुईको अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ । संसारका ५ महादेशहरूमा पर्ने १२ देशका १४ शहरहरूमा तय गरिएका यी अडिसनहरूको सुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ ।

अमेरिका र क्यानडाका नेपाली जातिका गायन र नृत्यका प्रतिभाहरू सम्मिलित एक भव्य समारोहका बीच आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए । विश्वभर छरिएर रहेका नेपाली कलाकारहरूबीच प्रतिष्पर्धा गराइने यी दुबै शोहरूका विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन्

शुभारम्भका अवसरमा आयोजित समारोहलाई संबोधन गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न गरिरहनु पर्ने बताए । उनले नेपाली जातिको अमूल्य संस्कृतिले नै आफूहरूलाई नेपाली बनाएको भन्दै यसलाई जोगाउन विश्वस्तरीय दुई शो हरू सुरु गरिएको बताए । नेपाली जातिको संस्कृतिलाई गीत, संगीत र नृत्यका माध्यमबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने, यही माध्यमबाट नेपाली जातिको एकतालाई संसारभर मजवुत पार्ने र जहाँसुकै बसे पनि नेपाली जातिलाई नेपाल देशसँग जोड्ने उद्देश्यले गैरनाफामुलक संस्था फाउण्डेसनले यी शोहरू आयोजना गर्दै आएको उनले जानकारी दिए ।

अमेरिकाबाट सुरु भएको अडिसन युरोपका लण्डन र पोर्चुगल, जापानको टोकियो, चीनको हंगकंगमा फेब्रुअरी १५ र १६ मा हुंदै छ भने अष्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्याण्डको बैकक, युएईको दुवाईमा फेब्रुअरी २२ र २३ मा हुने आयोजकले जनाएको छ । त्यसैगरी कतारको दोहामा फेब्रुअरी २१ मा र भारतको मुम्बईमा मार्च १ र २ मा अडिसन हुने छन् ।

भारतको सिलगसडीमा मार्चको ८ र ९ तारिकमा अडिसन सम्पन्न गरेपछि नेपालका विभिन्न चार शहरहरू विर्तामोड, पोखरा, नेपालगञ्ज र काठमाडौं अडिसनहरू सम्पन्न गरी संसारभरबाट छनिएका प्रतिभाहरूलाई फाउण्डेसनले आफ्‌नै खर्चमा नेपाल लैजाने र बाँकी प्रतिष्पर्धालाई अघि बढाउने छ । दुवै शोहरू नेपाल टेलिभिजनबाट प्रसारण हुनेछन् । अमेरिका र क्यानडाका गीत र नृत्यका ६० भन्दा बढी प्रतिभाहरूले भाग लिएको सो अडिसनबाट गीततर्फ ६ जना र नृत्यतर्फ ५ जना छनौट गरिएको छ ।

अमेरिकाको फिल्ड अडिसनका लागि निर्णायकहरूमा गायनतर्फ बरिष्ठ संगीतकार सुशील विश्वकर्मा, गायकहरू केशब पौडेल, अर्जुन रसाइली र संगीतकार मुस्कान बलम्पाकी मगर तथा नृत्यतर्फ नायक दीलिप रायमाझी, शंकर विसी, रुपेश उप्रेती र पार्वती राई छन् ।