May 15, 2025, Thursday
२०८२ जेष्ठ २

ट्रम्पकै अगाडि मन्त्रिहरु नै मक्सविरुद्ध खनिए ट्रम्प मौन !

२०८१ फाल्गुन २७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

430

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार मन्त्रिपरिषद्को बैठक राखेका थिए । बैठक राख्नुको प्रमुखमध्ये एक उद्देश्य थियो– एलन मस्क र सरकारी खर्च कटौती गर्ने उनको प्रयासबारे छलफल । मिडिया रिपोर्टका अनुसार यस बैठकमा नेताहरूबीच चर्को बहस भएको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार मस्कले विदेशमन्त्री मार्को रुबियोलाई विदेश मन्त्रालयमा कर्मचारी कटौती गर्न असफल भएको आरोप लगाएका थिए ।

बैठकमा मस्कले रुबियोको कामको प्रशंसा गरेनन् । बरु उनले ट्रम्पका अगाडि रुबियोमाथि व्यङ्ग्य गर्दै भने, “उनी टीभीमा मात्र राम्रो छन् ।”

बैठकमा एलन मस्क र यातायात मन्त्री शन डफीबीच पनि भनाभन चल्यो । यो बहस संघीय उड्डयन प्रशासनमा पहिले नै ट्राफिक नियन्त्रकहरूको अभाव रहेको तथ्यमा भइरहेको थियो । यस्तो अवस्थामा मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डीओजीई)ले यो संख्या पनि घटाउने प्रयास गरेको थियो ।

जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी एयरलाइन्ससँग सम्बन्धित दुईवटा दुर्घटना भएका छन्, जसका कारण डफीको मन्त्रालयमाथि थप छानबिन भइरहेको छ ।

रिपोर्टहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले बहसमा हस्तक्षेप गरेका थिए । उनले अझै डीओजीईप्रति आफ्नो समर्थन रहेको स्पष्ट पारे । तर अबदेखि निर्णय लिने काम मन्त्रीहरूसँग हुने र मस्कको टोलीले सल्लाह मात्र दिन सक्ने ट्रम्पले बैठकमा बताएका थिए ।

विदेश मन्त्रालयका प्रवक्ताले न्यूयोर्क टाइम्सलाई बताएअनुसार मन्त्रिपरिषद् बैठकमा छलफलहरू निकै राम्रोसँग भएको थियो । तर बीबीसीको जिज्ञासामा भने उनीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

बैठकपछि ट्रम्पले ओभल अफिसमा मन्त्रिपरिषद्का सदस्यहरूले कहाँ कटौती गर्ने भनेर निर्णय गर्ने, तर यदि उनीहरू त्यसो गर्न असमर्थ भए भने कटौती गर्ने काम एलन मस्कले गर्ने स्पष्ट पारेका थिए ।

“एउटा बैठक भयो । म मन्त्रिपरिषद्का सदस्यहरूले पहिले कटौती गरून् भन्ने चाहन्छु । उनीहरूले त्यसो गरे राम्रो हुनेछ, तर यदि उनीहरूले कटौती गरेनन् भने मस्कले गर्नेछन्,” ट्रम्पको भनाइ उद्धृत गर्दै समाचारमा जनाइएको छ ।