सरकारले अमेरिकाको टेक्सास, क्यालिफोर्निया तथा दुबईमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार सरकारले नेपाली सुमदायको जनघनत्व बढेको कारण ती ३ स्थानमा महावाणिज्यदुतावास स्थापना गर्ने निर्णय गरेको हो । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा पुगेका बेला प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्रि डा आरजु देउवा राणाले नेपाली समुदायको तर्फबाट माग गरेका थिए ।
करिब एक लाख हाराहारीमा नेपाली समुदायको बसोबास रहेको अमेरिकाको दक्षिण पश्चिम क्षेत्र अवस्थित टेक्सस अमेरिकाकै सबैभन्दा ठुलो मध्येको एक राज्य हो । अन्य छिमेकी राज्यमा समेत बसोबास गर्ने नेपाली मसुदायले आवश्यक सेवा सुविधाका लागि टेक्ससको डायलसलाई केन्द्र बनाएर कन्सुलर कार्यालय राख्न सरकारलाई आग्रह गरिएको थियो ।
यसैबीच सरकारले परराष्ट्र मन्त्रालयमा ६१ दरबन्दी थप्ने निर्णय गरेको छ। पछिल्लो समय नेपालको कुटनीतिक छविमा केहि घुमिलता आएको ठहर गर्दै चुस्त कुटनीति सम्बन्ध स्थापनाका लागि जनशक्ति अभाव भएको निष्कर्ष निकाल्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थप्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् स्रोतका अनुसार ११ सहसचिव, २८ उपसचिव र २२ शाखा अधिकृतको दरबन्दी थप्ने निर्णय गरिएको छ । कुटनीतिक सम्बन्धलाई चुस्त बनाउनका लागि धेरैजसो विदेशस्थित नियोगहरूमा दरबन्दी थप्न लागिएको बताईन्छ ।
विदेश भ्रमणबाट फर्किएकै दिन गत १८ असोजमा परराष्ट्रमन्त्री राणाले त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन । परराष्ट्र मन्त्रालयमै केही नयाँ महाशाखा स्थापना गर्न लागिएको छ । साथै, अन्य केही दूतावासमा पनि दरबन्दी थप्न लागिएको छ । परराष्ट्र सेवामा कर्मचारी बढुवाको जाम रहेको तथा दूतावासहरूमा कार्यबोझ बढेको भन्दै लामो समयदेखि दरबन्दी थप्न लबिङ हुँदै आएको थियो ।