अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले यादवको नाम अस्ट्रेलियाका लागि राजदूतमा सुनुवाइ गरेको थियो । संसदीय सुनुवाइ समितिले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा यादवलाई सर्वसम्मतिले अनुमोदन गरेको समिति सचिवालयले जानकारी दिएको छ ।
सुनुवाइका क्रममा यादवले नेपाल र अस्ट्रेलियाबीच राजनीतिक, आर्थिक, पर्यटन लगायतको सम्बन्ध विस्तार गर्ने बताइन् । नेपालको विकासमा अस्ट्रेलियाको आर्थिक सहयोग रहेको उल्लेख गर्दै यादवले आगामी दिनमा अझ सुदृढ गर्नका लागि आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नेपालमा उत्पादित अर्ग्यानिक चिया, कफी, अदुवा, अलैंची, सुति कपडा, कार्पेट, ह्यान्डक्राफ्ट, तयारी पोसाक लगायतको प्रदर्शनी, बिक्री गर्ने गरी व्यापार मेलाको आयोजना गरेर निर्यात व्यापारमा पहल गर्ने यादवको भनाइ थियो ।