February 8, 2025, Saturday
२०८१ माघ २६

मिसन प्रमुखलाई आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको निर्देशन

२०८१ माघ ४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

195

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विभिन्न देशमा रहेका सबै नेपाली मिसन प्रमुखलाई नेपालको आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन् । मन्त्री डा. राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरूलाई बिहीबार मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

‘आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अङ्गका रूपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकांक्षा र आर्थिक वृद्धिका लागि सहयोग पुर्‍याउने गरी कुनै पनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा आर्थिक लगानी आकर्षित गर्न सहयोग पुगोस्,’ उनकाे भनाइ थियाे ।

आफू रहेका देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिनसक्छ र नेपालको आर्थिक विकासका प्रयासलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सोचेर काम गर्न मिसन प्रमुखहरूलाई उनको सुझाव थियो ।

नेपालले आगामी दिनमा जलवायु परिवर्तनका कारण भोग्नसक्ने समस्यालाई ध्यानमा राखेर जलवायु न्यायका विषयलाई विश्वव्यापी रूपमा पैरवी गर्नुपर्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै निकट भविष्यमै नेपालमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमको सफलताका लागि पनि आ–आफ्ना ठाउँबाट लाग्न मन्त्री डा. राणाले सबैलाई आग्रह गरिन् ।

त्यसअवसरमा परारष्ट्र सचिव अमृतबहादुर राईले आफू रहेका देशका नीति एवं कार्यक्रमलाई नेपालको स्वार्थ अनुकूल बनाउन तथा विदेशमा रहेका नेपालीको हकहितको रक्षागरी वैदेशिक रोजगारीमा रहेको ठूलो नेपाली समुदायको हितको प्रवद्र्धनमा लाग्न निर्देशन दिएका थिए ।