March 26, 2025, Wednesday
२०८१ चैत्र १३

डब्लूटीओको सेवा व्यापार परिषद् अध्यक्षमा नेपाली राजदूत सुवेदी निर्वाचित

२०८१ माघ २८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

325

संयुक्त राष्ट्र संघ (जेनेभा) का लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्लूटीओ) को काउन्सिल फर ट्रेड इन सर्भिसेस (सीटीएस) अध्यक्ष निर्वाचित भएका छन् ।

डब्लूटीओको गत शुक्रबार भएको जनरल काउन्सिल बैठकले सुवेदीलाई आगामी एक वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो । जनरल काउन्सिल अध्यक्ष पिटर ओल्बर्गले डब्लूटीओका विभिन्न समिति अध्यक्षहरूको निर्वाचनका लागि प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा डब्लूटीओ सदस्यहरूले समर्थन गरेपछि सुवेदी उक्त पदमा निर्वाचित भएका हुन् ।

सीटीएस डब्लूटीओको सेवा व्यपारसँग सम्बन्धित जनरल एग्रिमेन्ट अन द ट्रेड इन सर्भिसेस (ग्याट्स) कार्यान्वयनका लागि ग्याट्सको धारा २४ अन्तर्गत गठित निकाय हो । यसलाई डब्लूटीओका परिषदमध्ये महत्त्वपूर्ण मानिन्छ ।

यसले नेपाललाई ग्याट्सको उद्देश्य प्राप्त गर्न डब्लूटीओ सदस्यबीच बृहत सहकार्य अगाडि बढाउने अवसर प्राप्त भएको जेनेभास्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि गत वर्ष सुवेदी कमिटी अन ट्रेड अन डेभलपमेन्ट अध्यक्ष निर्वाचित भएका थिए । सन् २००४ मा नेपालले डब्लूटीओ सदस्यता प्राप्त गरेपछि पहिलो पटक उक्त संगठनको (टायर– १) तहको कमिटी अध्यक्षमा नेपाल निर्वाचित भएको थियो । त्यसको एक वर्षपछि यसपालि उनी अर्को महत्त्वपूर्ण परिषद् अध्यक्ष निर्वाचित भएका हुन् ।

 

डब्लूटीओ सदस्यबीच सेवा व्यापार क्षेत्रमा सहमति र सहकार्य अभिवृद्वि गर्ने अवसर नेपाललाई  प्राप्त भएको छ । सन् २०२६ फेब्रुअरीमा अफ्रिकी देश क्यामरुनमा हुन लागेको डब्लूटीओको १४औ मन्त्रिस्तरीय बैठक सिलसिलामा यसका सदस्यबीच सेवा व्यापार क्षेत्रमा छलफल गराइ निष्कर्ष निकाल्ने अवसर पनि सुवेदीलाई प्राप्त भएको छ ।

अतिकम विकसित मुलुकका प्रथिमकताका विषय खास गरी ‘सर्भिस वेभर’ प्रभावकारी कार्यान्वयन गर्न र नेपाल लगायत २०२६ मा अतिकम विकसित मुलुकको समूहबाट स्तरोन्नति हुने क्रममा रहेकाका हकमा यो सुविधा निरन्तरताका लागि सहजीकरण गर्न महत्त्वपूर्ण हुने देखिने दूतावासले जनाएको छ ।

राजदूत सुवेदीले सीटीएस अध्यक्षको जिम्मेवारी यस वर्ष दोस्रो नियमित बैठकबाट सरु गर्नेछन् भने २०२६ पहिलो नियमित बैठकसम्म उनी पदमा रहनेछन् ।

हाल जेनेभास्थित राष्ट्र संघका लागि नेपालको स्थायी मिसनमा उपसचिव दुर्गाप्रसाद भुसालले वाणिज्य क्षेत्र हेरिरहेका छन् । उनले डब्लूटीओमा नेपालका तर्फबाट महत्त्वपूर्ण विषयमा समन्वय गरिरहेका छन् ।