परराष्ट्रमन्त्री आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन्। भारतको झारखण्डस्थित बाबा वैद्यनाथधाममा दर्शन तथा पूजाआजापछि उनी आज नयाँ दिल्ली पुगेको उनको सचिवालयले जनाएको छ।
मन्त्री राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले स्वागत गरेका थिए।
मन्त्री राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन्।
यस कार्यक्रमका दौरानमा मन्त्री राणाले भारतका विदेशमन्त्री एस जयशङ्कर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। सो राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरूको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ।
RSS