नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड राजकुमारी डचेस सोफीका साथ आफ्नो पारिवारिक बिरासत पछ्याउँदै पोखराको त्यो ठाउँमा बास बस्न पुगेका छन्, जहाँ उनकै दाजु राजा चार्ल्स तृतीयका पदचापहरू छन् ।
राजकुमार एडवार्ड दम्पती बास बस्न पुगेको ठाउँमा आफ्नै दाजु राजा चार्ल्सका पद्चाप मात्रै छैनन्, राजा चार्ल्सलाई नेपाल घुमाउने, ट्रेकिङ गराउने बेलायती सेनाबाट अवकास प्राप्त कर्णेल जिमी रवट्र्सको सोच र पसिनाको लगानी पनि छ ।
बेलायती राजकुमार दम्पती बास बसेको त्यो लज हो, ‘टाइगर माउन्टेन पोखरा’ । यो लज चार्ल्सको ट्रेकिङपछि त्यो पदमार्ग घुम्न जानेहरू बढेसँगै कर्णेल रवट्र्सले खोलेका थिए ।
…
२०३१ सालमा राजा वीरेन्द्रको शुभ राज्याभिषेकमा सहभागी हुन बेलायती राजकुमार चार्ल्स (अहिलेका राजा चार्ल्स तृतीय) नेपाल आएका थिए । तर, विशेष औपचारिक कार्यक्रम भएकाले त्यो बेला नेपाल घुम्ने रहर पूरा हुन सकेन । त्यसबेला तीन दिन काठमाडौंमै बसेर बेलायत फर्किएका राजकुमार चार्ल्सलाई नेपालमा ट्रेकिङ गर्ने मन जागेको थियो ।
उनको त्यो इच्छा पूरा गरिदिने सेतू बने, बेलायती सेनाबाट अवकास प्राप्त कर्णेल जिमी रवट्र्स । रवट्र्स नेपालमै ट्रेकिङ थाल्ने पायोनियर थिए । नेपालमा हिमालयन पदयात्राको सुरुवात नै उनै बेलायती कर्णेल रवट्र्स गरेका हुन् भने पहिलो ट्राभल पनि नेपालमा उनैले खोलेका थिए ।