May 15, 2025, Thursday
२०८२ जेष्ठ २

भारतीय प्रधानमन्त्रि मोदी र प्रधानमन्त्रि ओलीबीच एकलाएक्लै भेटको कुटनीतिक अर्थ !

२०८१ चैत्र २२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

420

 

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शुक्रबार थाइल्यान्डमा भएको एक्लाएक्लै भेटपछि प्रधानमन्त्रि ओलीले दुई देशबीचको सम्बन्धमा नयाँपन आउने बताएका छन । दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको थियो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास बिमस्टेक शिखर सम्मेलका दौरान दुई नेताबीच ‘साइडलाइन’ वार्ता भएको हो । भारतसँग सम्बन्ध चिसिएको भनिँदै आएका बेला ओली–मोदीबीच भएको एक्लाएक्लै भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

बिमस्टेक शिखर सम्मेलनको समापनपछि मोदी बसेको होटल मान्डारिन ओरिएन्टलमा भएको भेटलाई दुवै नेताले फलदायी भएको बताएका छन् । भारतीय विदेश मन्त्रालयले दुई प्रधानमन्त्रीबीच भेटमा अद्वितीय र घनिष्ठ सम्बन्धको समीक्षा भएको जनाएको छ । दुई देशबीच भौतिक र डिजिटल सम्पर्क, नागरिकबीचको सम्पर्क तथा ऊर्जा क्षेत्रमा भएको प्रगतिप्रति दुवै नेताले सन्तोष व्यक्त गरेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीसँगको भेट अत्यन्त सार्थक र सकारात्मक रहेको जनाएका छन् । ‘मेरो प्रिय मित्र प्रधानमत्री नरेन्द्र मोदीजीसँग आत्मीय भेट भयो, हाम्रो कुराकानी अत्यन्त सार्थक र सकारात्मक भएको छ,’ उनले लेखेका छन्, ‘यो सौहार्दपूर्ण भेटघाटका लागि खुसी व्यक्त गर्छु ।’ ओलीले ‘एक्स’ मा आफ्नो प्रतिक्रिया हिन्दी भाषामा लेखेका छन् ।

मोदीले पनि ‘एक्स’ मार्फत प्रधानमन्त्री केपी ओलीसँगको भेटघाट फलदायी रहेको लेखेका छन् । उनले नेपाली भाषा प्रयोग गरेका छन् । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो, भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ,’ मोदीले लेखेका छन् ‘हामीले नेपाल–भारतबीच मित्रताका विभिन्न क्षेत्रमा छलफल गर्‍यौं ।’

ऊर्जा, कनेक्टिभिटी, संस्कृति, र डिजिटल प्रविधिजस्ता क्षेत्रमा छलफल भएको उनले उल्लेख गरेका छन् । बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणाम विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका विषयमा पनि दुई नेताबीच कुराकानी भएको उनले ‘एक्स’ मा उल्लेख गरेका छन् ।