January 15, 2025, Wednesday
२०८१ माघ ३

राष्ट्रपति ट्रम्पद्धारा ब्रिक्सलाई डलरको विकल्प नखोज्न चेतावनी

२०८१ मंसिर १७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

355

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई चेतावनी दिएका छन् । उनले ब्रिक्स देशहरूलाई अमेरिकी डलरको सट्टा अन्य मुद्रा अपनाएमा शतप्रतिशत ’ट्यारिफ’ लगाउने बताएका हुन । ट्यारिफ भनेको कुनै देशको सरकारले आयातित वस्तु वा सेवाहरूमा लगाउने कर हो । यस चेतावनीसँगै ट्रम्पले भारत, रुस, चीन र ब्राजिल रहेका नौ सदस्यीय समूह ब्रिक्ससँग प्रतिबद्धता मागेका छन् ।

ब्रिक्स सन् २००९ मा गठन भएको होे । यो एकमात्र प्रमुख अन्तर्राष्ट्रिय समूह हो जसको संयुक्त राज्य अमेरिका हिस्सा छैन । यसका अन्य सदस्यहरू दक्षिण अफ्रिका, इरान, इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्स हुन् । पछिल्ला केही वर्षहरूमा केही ब्रिक्स सदस्य देशहरू, विशेष गरी रूस र चीनले अमेरिकी डलरको विकल्प खोजिरहेका छन् वा बरु, तिनीहरूले आफ्नै ब्रिक्स मुद्रा सिर्जना गरिरहेका छन् । तर, रुस र चीनको यो कदममा भारत अहिलेसम्म सहभागी भएको छैन । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै उनले भनेका छन्, ‘ब्रिक्स देशहरू डलरबाट टाढा जान खोजिरहेका छन् । हामीलाई यी देशहरूबाट एउटा प्रतिबद्धता चाहिन्छ कि उनीहरूले न नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन्, न त अमेरिकी डलरलाई प्रतिस्थापन गर्न अर्को मुद्रालाई समर्थन गर्नेछन् । यदि यी देशहरूले यसो गर्नेबारे सोच्छन् भने उनीहरूले १०० प्रतिशत ट्यारिफको सामना गर्नुपर्नेछ ।’

यस्तै, ब्रिक्सले अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरलाई प्रतिस्थापन गर्ने कुनै सम्भावना नरहेको पनि बताएका छन् । यदि कुनै पनि देशले यस्तो गर्न खोजे शुरूमा अमेरिकाबाट टाढा रहनुपर्ने उनको भनाइ छ । २०२३ मा दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलनमा ब्रिक्स देशहरूले नयाँ साझा मुद्रा सिर्जना गर्ने सम्भावनालाई विचार गर्ने निर्णय गरेका थिए । यो विचार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रस्ताव गरेका थिए ।