विश्वव्यापी रुपमा आलोचना र मानव जीवनमा हाहाकार नै भएको कुटनीतिक रिपोर्टपछि ट्रम्प प्रशासनले रोकिएको केहि ४५.३ अर्ब विदेशी सहायता जारी गरेको छ । जसको धेरैजसो हिस्सा सुरक्षा, लागू औषध नियन्त्रण र मानवीय सहायता कार्यक्रमहरूका लागि छुट्याइएको छ । अन्य सुचिमा सीमित मात्रामा मानवीय राहत समावेश गरिएको जनाइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गरेपछि ९० दिने विदेशी सहायता रोक्ने आदेश दिएका थिए तर अदालत र सहयोगी राष्ट्रहरुबाट दवाव आएपछि एकमहिना पनि दवाब थेग्न सकेनन । भोकमरी तथा घातक रोगहरूसँग लड्ने कार्यक्रमदेखि विस्थापित मानिसहरूका लागि आश्रय प्रदान गर्ने कोषहरू समेत रोकिएको थियो ।
सहायता रोकिएपछि अमेरिकी अधिकारीहरू र मानवीय संस्थाहरूले कार्यक्रमहरू सुचारू राख्न विश्वव्यापी दवाव परेको थियो । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले जनवरीको अन्त्यतिर इजरायल र इजिप्टका लागि सैन्य सहायता तथा खाद्य सहायता सहित जीवनरक्षक मानवीय सहयोगका लागि अपवाद जारी गरेका थिए । तर, हालसम्म थोरै मात्र मानवीय सहायता अपवादहरू स्वीकृत गरिएको अधिकारीहरू र सहायता संस्थाहरूले बताएका छन् ।
फेब्रुअरी १३ सम्ममा स्वीकृत २४३ अपवादहरूको सूची रोयटर्सले प्राप्त गरेको भन्दै समाचार छापेको छ । यसले ट्रम्प प्रशासनले कुन कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ भन्ने देखाउँछ । रिहाइ भएको रकममध्ये ४४.१ अर्बभन्दा बढी अमेरिकी विदेश मन्त्रालयको राजनीतिक–सैन्य मामिला ब्युरोद्वारा संचालित कार्यक्रमहरूको लागि छुट्याइएको छ, जसले हतियार बिक्री तथा सैन्य सहायता सम्हाल्छ । अन्य अपवादहरू ट्रम्पको आप्रवासन नीतिसँग सम्बन्धित थिए, विशेष गरी अवैध लागूपदार्थ प्रवाह रोक्ने प्रयासहरूमा केन्द्रित रहेको छ । जसको तुलनामा मानवीय सहायता रकम कम छ ।
राज्य विभागको अन्तर्राष्ट्रिय लागू औषध तथा कानुनी प्रवर्तन मामिला ब्युरोद्वारा संचालित कार्यक्रमहरूलाई २९३ मिलियन छुट्याइएको छ । यसमा आप्रवासी ट्र्याक गर्ने डाटाबेस, सम्भावित आतङ्ककारी पहिचान गर्ने प्रणाली, र बायोमेट्रिक जानकारी आदानप्रदान गर्ने कार्यक्रमहरू समावेश छन् ।
ट्रम्प प्रशासनको प्राथमिकता सुरक्षा कार्यक्रमहरूमा रहेको देखिएको छ जसमा १०० मिलियनभन्दा कम रकम छुट्याइएको छ, जुन सहायता रोक्नु अघि वार्षिक ४० अर्बको हाराहारीमा थियो । अपवादमा गाजाका लागि ७८ मिलियनको गैर–खाद्य सहायता तथा इजरायल–हमास युद्धविराम सम्झौतासँग सम्बन्धित रेडक्रसलाई ५६ मिलियन सहयोग समावेश थियो । तर, सूडान, सिरिया, युक्रेन, म्यानमार, अफगानिस्तानजस्ता संकटग्रस्त क्षेत्रहरूलाई कुनै विशेष अपवाद दिइएको देखिएको छैन ।
ताइवानका लागि ८७० मिलियन फिलिपिन्सको सुरक्षा बल आधुनिकीकरणका लागि ३३६ मिलियन, युक्रेनी राष्ट्रिय प्रहरी र सीमा सुरक्षाका लागि २१.५ मिलियन छुट्याइएको छ ।
विदेश मसन्त्र रुबियोले भनेका छन् कि ट्रम्प प्रशासनले विदेशी सहायता कार्यक्रमहरूलाई पुनः मूल्याङ्कन गर्दै प्राथमिकताहरू मिलाएको हो । हैटी प्रहरी तथा अन्तर्राष्ट्रिय सुरक्षा फोर्सलाई ६४ मिलियन, आणविक हतियार नियन्त्रण कार्यक्रमहरूका लागि ३०.४ मिलियन, पाकिस्तानका लागि ३९७ मिलियन, जसले एफ–१६ लडाकू विमानको प्रयोग निगरानी गर्छ । ट्रम्प प्रशासनको विदेशी सहायता कटौतीको मुख्य उद्देश्य “अमेरिका फस्र्ट“ नीति अनुरूप प्राथमिकता मिलाउनु रहेको देखिन्छ ।