February 7, 2025, Friday
२०८१ माघ २५

संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार पदमा नेपालको उम्मेदवारी

२०८१ कार्तिक ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

585

संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार पदमा नेपालले उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका महसचिवलाई सिधै रिपोर्टिंङ गर्नुपर्ने तहको पदमा नेपाली सेनाबाट उम्मेदवारी परेको हो । रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव मनोजकुमार आचार्यका अनुसार, संयुक्त राष्ट्र संघको मिलिटरी एड्भाइजर पदमा उम्मेदवारी दिन प्रतिस्पर्धात्मक प्रक्रियामा भाग लिन उपरथी प्रेमध्वज अधिकारीलाई अघि सारिएको छ । यदि प्रतिस्पर्धामा सफल भए रथी पदमा बढुवा गरेर कामकाज गर्न जान स्वीकृति दिएको उनले बताएका छन् ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयबाट यसअघि नेपाली सेनालाई सैनिक सल्लाहकारमा उम्मेदवारी दिन प्रस्ताव हुँदा नेपालले कसैलाई पठाएको थिएन । प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएलगत्तै उनले अधिकारीलाई उम्मेदवारको रुपमा अघि सारेका थिए । जंगीअड्डाका स्रोतका अनुसार, फेरि उम्मेदवारी दिने अवसर आएपछि हाल युद्धकार्य विभागमा रहेका उपरथी अधिकारीलाई अघि सारिएको थियो । सैनिक सल्लाहकारको नियुक्ति संयुक्त राष्ट्र संघको महासचिवले गर्छन् । महसचिव एन्टोनियो गुटेरसले सन् २०२१ मा सेनेगलका जनरल विरामे डियोपलाई सैनिक सल्लाहकार नियुक्त गरेका थिए ।