ट्रम्प प्रशासनले आफ्नो अनुमान अनुसार अबैध आप्रवासी पक्राउ र डिपोर्ट गर्न नसकेपछि अबैध आप्रवासीलाई काम दिने र शरण दिनेलाई पनि पक्राउ गर्न थालेको छ । आईसले खासगरी आप्रवासीको बसाई बाक्लो भएका स्थानहरुमा छापा मार्ने कामलाई तिव्रता दिएर अबैध आप्रवासी काम गर्ने सम्भावित स्थानहरुमा छापा हान्दै अबैध आप्रवासी र उसलाई शरण वा काम दिने दुवै पक्षलाई पक्राउ शुरु भएको छ । अब यहि अवस्था रहेमा आफन्त वा नातेदार वा कसैलाई सहयोग गर्छु भनेर आफ्नो डेरा वा घरमा कागजात नभएका मानिसहरु राखेको बेला छापा हानेको खण्डमा जवाफदेहि हुनुपर्ने अवस्था श्रृजना भएको छ ।
गत हप्ता म्याकालेन, टेक्सासबाट अबैध आप्रवासीलाई लुकाएको वा शरण दिएको भन्दै अमेरिकी संघीय अधिकारीहरूले टेक्सासको दक्षिणी शहर म्याकालेनमा रहेको एबीस बेकरीका मालिकलाई पक्राउ गरेको हो । गैरकानुनी रूपमा आप्रवासीहरूलाई आश्रय दिएको अभियोगमा पक्राउ गरिएका लियोनार्डो बाज र नोरा एलिसिया अविला–गुएल रहेका छन । यी दुवैलाई अवैध रूपमा आप्रवासीहरूलाई लुकाउने तथा मद्दत गर्ने अभियोग लगाइएको छ । फेब्रुअरी १२ मा ८ जना गैरकानुनी आप्रवासीहरू उनीहरूको बेकरीभित्र काम गरेको भेटिएको थियो । बेकरी मालिकहरूले ती आप्रवासीहरू गैरकानुनी रूपमा देशमा आएको थाहा पाएको स्वीकारेका छन । बाज र अविला–गुएल थुनामा रहेका छन् । फेडरल अदालतमा शुक्रबार पहिलो पेशी भएको बताइएको छ । टेक्सासका स्थानीय नगर प्रमुख वा राजनीतिक दलहरुले चिन्ता व्यक्त गरेका छन । तर पनि राज्यलाई सहयोग गर्नु दायित्व हो भन्दै सजकता अपनाउन सुझाव दिएको छ ।
यस अघि नै ट्रम्प प्रशासनले अबैध आप्रवासीलाई काम दिनेलाई दण्ड जरिवानाको व्यवस्था गरिसकेको छ भने त्यस्ता आप्रवासीलाई लुकाएको वा लुकाउन मद्दत गरेको खण्डमा कडा कारबाही गरिने जनाइएको छ । यसो हुँदा कोही आफन्त वा नजिकका नातेदारहरु अबैध रुपमा अमेरिका बसिरहेका छन भने पनि उनिहरुलाई सहयोग गर्दा पनि समस्यामा पर्न सक्ने बताइएको छ ।