January 15, 2025, Wednesday
२०८१ माघ ३

अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको संघर्ष, चुनौति र संभावनाको यात्रा

२०८१ पुष १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.6K

अनुप खनाल

अमेरिका यस्तो देश हो, जहाँ संसारभरका झण्डै दुई सय देश र १० वटा टेरीटोरीबाट उच्च शिक्षा अध्ययनका लागि विधार्थी आउँछन । अंकमा हेर्ने हो भने विश्वको सबैभन्दा बढी अन्तराष्ट्र्रिय विधार्थी अर्थात ११ लाख भन्दाबढी अमेरिका प्रतिबर्ष उच्च शिक्षाका लागि आउने गरेको तथ्यांक छ । यति धेरै विधार्थी आउने देशमा अवसर, संभावना र चुनौति दुवै हुनु स्वाभाविक नै हो ।

धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि, अमेरिकामा अध्ययन गर्नु सम्भावना, अवसर र व्यक्तिगत विकासले भरिएको सपना हो । तर, पनि यो सपनाको पछाडि थुप्रै चुनौती र कठिनाइहरू छन् जसले उनीहरूको धैर्य, दृढता र अनुकूलताको परीक्षण गर्दछ । सांस्कृतिक भिन्नता, भिन्न परिवेश र आर्थिक कठिनाइहरूदेखि लिएर परिवारबाट आउने दबाबसम्म अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सामना गर्ने चुनौतीहरू हुन । जसलाई हामी धेरैले पुर्ण रूपमा बुझ्न सकेका हुदैनौ र सक्दैनन् । तर पनि विगतमा आफु पनि एउटा विधार्थी जीवनकालबाट ग्रुजेको र आफुले भोगेका, देखको, सिकेको र मनमा लागेका कुराहरु लेख्दा यसबाट म जस्तै विधार्थीहरुका लागि एउटा सिकाई हुनेछ भन्ने ठानेको छु ।

सांस्कृतिक अनुकुलता

अमेरिकामा विश्वभरबाट विधार्थी आउने हुनाले नयाँ संस्कृतिमा घुलमिल हुनु अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सामना गर्ने पहिलो कठिनाइहरूमध्ये एक हो । अमेरिकी जीवनशैली, सामाजिक मान्यता र मूल्यहरू उनीहरूको जन्मस्थानको भन्दा पूर्ण रूपमा भिन्न हुन्छ । भाषा अवरोध, अपरिचित परम्परा र घरको सम्झनाले यो प्रक्रियालाई झन् जटिल बनाउँछ । धेरै विद्यार्थीहरू दैनिक जीवनका साधारण कार्यहरू (जस्तै खाना बस्न, किनमेल गर्ने वा सामान्य कुराकानी गर्ने) गर्न पनि संघर्ष गर्छन् । कारण हामी आफ्नो घरबाट निक्नु पहिले खासै केहि सिकेका हुँदैनौ त्यहि कुरा अमेरिका आएपछि पहिलो दिनबाटै नजानी सुख छैन । जबकि यहि समयमा घरबाट टाढा भएको एक्लोपनसँग जुधिरहेको महसुश हुन्छ ।

आर्थिक चुनौतीहरू

संयुक्त राज्य अमेरिकामा अध्ययन गर्नु एउटा महँगो प्रक्रिया त छदैछ । हरेक सेमेस्टरमा लाग्ने शुल्क, आवास, स्वास्थ्य बीमा र अन्य जीवनयापनका खर्चहरूले विद्यार्थीहरूलाई आर्थिक रूपमा तनावमा पार्छ । विधार्थी भिसामा रहेका विद्यार्थीहरूलाई कानुनी रूपमा काम गर्ने अनुमति सीमित हुने (अधिकतम २० घण्टा प्रति हप्ता त्यो पनि क्याम्पस भित्र बाहिर पाईन्न) हुनाले यो चुनौती झन् गम्भीर बन्छ । यस्ता कामहरू र शैक्षिक जिम्मेवारीहरूबीच सन्तुलन कायम गर्नु सधै तनावपुर्ण हुन्छ । विशेष गरी २० घण्टा काम गरेको पैसाले दैनिक खर्चहरू पनि पूरा गर्न निकै कठिन पर्दछ । त्यहि २० घण्टा काम पाउनु पनि त्यति सजिलो छैन ।

शैक्षिक दबाब

अमेरिकी शैक्षिण प्रणालीले आलोचनात्मक सोच, सहभागितात्मक, र सहकार्यलाई प्राथमिकता दिन्छ, जसले परम्परागत वा व्याख्यान–केन्द्रित प्रणालीबाट आएका विद्यार्थीहरूको लागि ठुलो चुनौती हुन जान्छ । भाषा सम्बन्धी समस्या र फरक शिक्षण शैलीहरूले पढाइलाई झन् गाह्रो बनाउँछ । धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्नो लक्ष्य पुरा गर्न, आफ्नो स्टाटसलाई पढाई अवधिभर राम्रोसँग कायम राख्न आफैमा एउटा दवाब हुन्छ । त्यसमाथि पनि परिवारले आफुप्रति गरेको भरोशा उनीहरुको सपनाको कदर गर्न उत्कृष्ट नतिजा ल्याउनुपर्ने अर्को दबाब महसुस गर्छन् ।

परिवारबाट आउने दबाब

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अर्को महत्वपूर्ण संघर्ष भनेको उनीहरूको आफ्नै परिवारबाट आउने मानसिक दबाब हो । प्राय अभिभावकहरुले देशमा पढाई सकिने वित्तिकै विदेशमा गएर पढ्न दवाब दिनु, धेरै विद्यार्थीहरूको लागि अभिभावकहरूले केवल आर्थिक रूपमा मात्र होइन, भावनात्मक रूपमा पनि उनीहरूको विदेशमा गरिने अध्ययनको लागि लगानी गरेका हुन्छन् । राम्रो ग्रेड ल्याउने, उत्कृष्ट करियर सुरक्षित गर्ने र सफल हुनुपर्छ भन्ने नबोलेको अपेक्षाले विद्यार्थीहरूलाई निरन्तर दवावमा राख्दछ । त्यसबाट विधार्थीहरुले मानसिक दवाव महसुश गर्दछन । आफ्नो संघर्ष र चुनौतीहरूको बीचमा, परिवारलाई निराश बनाउने डरले विद्यार्थीहरूमा झन् तनाव बढाउँछ । यसका साथै विदेशमा संघर्ष गरिरहेको भए पनि आफ्नो समस्याहरू अभिभावकहरूसँग नबाँड्ने परिपाटीले पनि उनीहरूको मानसिक स्वास्थ्यलाई झन् प्रभावित गर्दछ । त्यसमा पनि परिवारले अमेरिका गएपछि आस गर्ने आर्थिक पक्ष झन जटिल हुन्छ । जुन सजिलै विधार्थी भन्न सक्दैनन ।

भिसा र अध्यागमन चुनौतीहरू

अमेरिकाको भिसा प्रणाली जटिल र कठोर छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पुर्णरूपमा भिसा सुरक्षित गर्नुपर्ने र त्यसका लागि पर्ने आवश्यकताहरू पालना गर्नुपर्छ । जसले गर्दा उनीहरूको लचीलापनको लागि थोरै मात्र ठाउँ हुन्छ । कुनै पनि गल्ती, जस्तै क्लास छोड्नु वा लामो बिदा लिनु अथवा कलेजमा हाजिर नहुनु, मदिरा सेवन गरेर गाडि चलाउनु अथवा विभिन्न अनावश्यक कानुनी झमेलामा पर्नुले उनीहरुको भिषा स्टेटस जोखिममा पर्न सक्छ । पढाई पछि पनि धेरै विद्यार्थीहरूलाई काम गर्ने अनुमति कहिले आउँछ भन्ने चिन्ता र अनुमति पाए भने पनि राम्रो र आफ्नो पढाई सम्बन्धि काम पाउने अनिश्चितताले गर्दा भविष्यको योजनाहरु बनाउन गाह्रो हुने गर्दछ ।

सामाजिक एक्लोपन

विदेशमा सामाजिक नेटवर्क निर्माण गर्नु चुनौतीपूर्ण हुन्छ । सांस्कृतिक भिन्नता र भाषा अवरोधहरूले साथीसँग सम्बन्ध बनाउन कठिन बनाउँछ । एकातिर सास्कृतिक भिन्नता त छंर्दैछ अर्कोतर्फ पढाईपछि बाँकी भएको समयमा काम गरेर आफ्नो दैनिकी टार्ने पिरलोले गाँजी रहेको हुन्छ । त्यसैले चाहेर पनि त्यस्ता नेटवर्कहरुका सहभागिता कम हुने गर्दछ । धेरै अमेरिकी विश्वविद्यालयहरूले विविधता र समावेशितालाई प्रवद्र्धन गरे पनि, अन्तर्राष्ट्रिय विद्यार्थीहरूले प्रायः क्याम्पस गतिविधिबाट बहिष्कृत भएको महसुस गर्छन् । यो एक्लोपनले मानसिक स्वास्थ्यमा असर गर्छ, जसमा चिन्ता र डिप्रेसन पनि हुन्छ ।

दुई संसारलाई सन्तुलन गर्ने संघर्ष

अन्तर्राष्ट्रिय विद्यार्थीहरू प्रायः दुई फरक संसारमा बाँचिरहेका हुन्छन् । अमेरिकामा नयाँ जीवन शैलीमा घुलमिल हुने र आफ्नै देशबाट अमेरिकामा रहेकाहरुसँग पनि सम्बन्ध कायम राख्ने प्रयास गरिरहेका हुन्छन् । उनीहरूले पारिवारिक घटना, चाडपर्व र जीवनका महत्वपूर्ण क्षणहरू छुटाउने भावनात्मक बोझसँगै, विदेशमा आफ्नो संस्कृति सकारात्मक रूपमा प्रतिनिधित्व गर्नुपर्ने दबाब महसुस गर्छन् । यो सन्तुलन कार्यले उनीहरूलाई मानसिक र भावनात्मक रूपमा थकित बनाउँछ । आफ्नोपन जहाँ गएपनि जोगाउनु एकातिर दायित्व हो भने अमेरिकी समाजको यथार्थ जीवनशैलीले कहिले काँही सन्तुलन मिलाउन कठिन हुन्छ ।

संघर्षपछिको शक्ति

यी सबै चुनौतीहरूका बाबजुद पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले उल्लेखनीय दृढता र इच्छाशक्ति प्रदर्शन गरिरहेका नै हुन्छन् । उनीहरूले समयसँगै अनुकुलन गर्ने, आफूलाई सशक्त बनाउने र स्रोतपुर्ण बन्ने सीप विकास पनि गरेका हुन्छन् । विश्वविद्यालय, समुदाय र सामुदायिक संस्थाहरूले परामर्श, सल्लाह विशेष कार्यक्रमहरू र सांस्कृतिक समायोजन कार्यशालाहरू जस्ता स्रोतहरू प्रदान गरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग पु¥याउन महत्वपुर्ण भुमिका खेल्न सक्छन् । तर पनि जति नै ठुलो समाज भएपनि अमेरिकी भुमिमा आफ्नो नियमित काम पछिको बाँकी भएको समयमा गरिने त्यस्ता कार्यहरु भने झै पुर्ण बन्न सकेको हुँदैन । तर पनि जव संघर्षबाट आफ्नो पढाईपछिको सफलता हात पर्दछ त्यति बेला पुराना संघर्षहरुमा पाएका दुखद अवस्थाहरु पनि सफलताको मानक बनेकोमा गर्व गर्न सकिन्छ । त्यहि कुरा विधार्थीहरुले अनुसरण गर्नु पर्दछ ।

निष्कर्षः

संयुक्त राज्य अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको यात्रा सहज छैन । यो यात्रा साहस, अनुकूलता, र दृढताको परिक्षा हो । जसले विद्यार्थीलाई हरेक पाइलामा चुनौती दिन्छ । तर यी कठिनाइहरू उनीहरूको व्यक्तित्व निर्माण गर्ने आधार पनि हो, जसले उनीहरूलाई फरक अनुभव र दृष्टिकोण भएका विश्वव्यापी नागरिकका रूपमा स्थापित गर्छ । सांस्कृतिक भिन्नता, आर्थिक कठिनाइहरू, शैक्षिक दबाब, भिसा जटिलता, सामाजिक एक्लोपन र परिवारको अपेक्षाहरू जस्ता चुनौतीहरूले विद्यार्थीको साहसलाई परिष्कृत गर्न भुमिका खेल्दछ ।

यदि हामीले यी संघर्षहरूलाई बुझ्ने र सम्बोधन गर्ने प्रयास गर्यौं भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको सपना साकार पार्न अझ बलियो प्रेरणा र सहारा दिन सकिन्छ । यो उनीहरूको लागि मात्र होईन, तर हाम्रो समाजलाई पनि विविधता, समावेशिता र आपसी समझदारीले भरिपूर्ण बनाउन मद्दत गर्ने महत्वपूर्ण कदम हुनेछ । कठिनाइहरूमाझ पनि नयाँ सम्भावनाहरूको सिर्जना गर्दै उनीहरूले विश्वलाई नयाँ दृष्टिकोणले बुझ्न मद्दत गर्ने मार्ग प्रशस्त गरिरहेका हुन्छन् ।

लेखक खनाल गैरआवासिय नेपाली संघ अमेरिकाका युवा उपाध्यक्ष तथा युवा, विधार्थी र खेलकुद विभागका प्रमुख हुन ।