होम लम्साल
अमेरिकामा रहेका नेपाली समुदाय अमेरिकामा बस्ने विश्वका अरु देशहरुको तुलनामा नेपाली समुदाय पनि ठुलोमध्ये एक हो । सबैभन्दा धेरै नेपाली समुदाय भारतमा छन् ३० लाखभन्दा बढी । भारतमा नेपाली बसाइसराईको लामो इतिहास छ । नेपाल र भारतबीच खुला सिमाना भएका कारण नेपाली र भारतीयहरूले स्वतन्त्र रूपमा सीमा पार गर्न सक्नेछन् । मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कुवेत, जापान, दक्षिण कोरिया, बहराइन र हङकङ जस्ता केही एसियाली देशहरूमा र केही गैर–एसियाली देशहरूमा पनि ठूलो संख्यामा नेपाली समुदाय ठुलो सख्यामा भेटिन्छन् । संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया र क्यानडा आदीमा पछिल्लो दशकहरुमा नेपाली समुदाय तिब्रतर रुपमा बढी रहेको तथ्यांकहरुले देखाउँछ ।
अमेरिकी अध्यागमन तथ्याङ्कले नेपाललाई एसिया अन्य वर्गमा राखेको हुनाले कतिपय तथ्यांक भेटिन्न । सन् १९५० भन्दा पहिले कुनै नेपाली अमेरिकामा बसाइँ सरेका थिए वा थिएन् भन्ने तथ्यांकमा भेटिन्न । त्यतिखेरको अवस्थामा नेपाल सरकारकोे विदेश नीतिका कारण प्रतिवन्धका कारण संयुक्त राज्य अमेरिकासँगको कूटनीतिक सम्बन्धको अभाव कारण सन् १९४७ सम्म नेपालीहरू अमेरिका आउन सकेका थिएनन् । अमेरिकामा नेपालीहरुको अध्यागमनको अभिलेख सन् १९५६ बाट सुरु भएको अमेरिकी सरकारी तथ्यांकले देखाउँछ । त्यस वर्षमा एक जना मात्र नेपाली आप्रवासी अमेरिका आएको देखिन्छ । १९६८ देखि १९८६ सम्म, प्रत्येक वर्ष दस भन्दा कम नेपालीहरू अमेरिकामा आएको तथ्यांक छ । १९८३ देखि १९८६ सम्म, नेपाली आप्रवासीको वार्षिक संख्या १०० भन्दा कम थियो र विस्तारै नेपाल अमेरिका सम्बन्धमा कारण बढ्दै गएको देखिन्छ । करिब आधा शताब्दीमा मात्र ४७ सय ७८ नेपालीहरू अमेरिकामा आप्रवासीका रुपमा आएको देखिन्छ ।
बिसौ शताब्तिपछि एक्काइसौं शताब्दीमा मात्रै नेपाली अध्यागमनले तीव्रता पाएको देखिन्छ । नेपाली आप्रवासीको संख्या सन् २००० अघिको अवधि (१९५६–१९९९) देखि २००० पछिको अवधि (२०००–२०२२) सम्म ३३ सय ९५ गुणा बढेको तथ्यांकमा देखिन्छ । विगत सात दशकमा कुल १ लाख ७२ हजार ९६ संयुक्त राज्य अमेरिकामा बसाइँ सरेका देखिन्छ । पछिल्लो ३ बर्षमा कति बढे त्यो भने यहाँ उल्लेख छैन । यहि जन्मेका, विधार्थीका रुपमा आएर पछि आफ्नो परिवार नै यहि बसको र बसाई सरेकाहरुको तथ्यांक केलाउँदा अमेरिका नेपालीको संख्या ३ लाखभन्दा बढी रहेको बताईन्छ । जब अमेरिका विधार्थीहरु पढ्न आउन थाले त्यसपछि अमेरिका बसाई सर्ने नेपालीको सख्या पनि दोब्बरका दरले बढेको तथ्यांकले बताउँछ ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरू आप्रवासी होइनन्, तर तिनीहरू अध्यागमनको महत्वपूर्ण स्रोत हुन् । किनभने धेरै विद्यार्थीहरूले अमेरिकामा रोजगारी पाएपछि आफ्नो गैरआप्रवासी स्थितिलाई आप्रवासीमा समायोजन गर्छन् । त्यसको प्रतिशत ८० भन्दा बढीमा गनिन्छ । त्यसमा पनि नेपाली विधार्थीहरु अमेरिका पढाई सकेर नेपाल फर्किएको कुनै तथ्यांक छैन । यसको मतलव त्यो एक प्रतिशतमा पनि छैन । अर्कोतर्फ अमेरिका अध्ययन गर्न आएकाहरु आफ्नो पढाई सकेपछि रोजगारी र अन्य माध्यमबाट यहि आधिकारिक रुपमा बसेका छन । यो विशेष गरी संयुक्त राज्य अमेरिकामा नेपाली विद्यार्थीहरूको लागि सत्य हो । अमेरिकी विश्वविद्यालयहरूमा भर्ना भएका नेपाली विद्यार्थीहरूको संख्या शैक्षिक वर्ष १९९५–१९९६ मा १२ सय १९ बाट २०२३–२०२४ मा १६ हजार ७ सय ४२ सम्मको उतारचढाव हेर्दा तथ्यांकले ११ गुणाले बढेको देखाएका छ ।
३० बर्षमा अमेरिका पढ्न आउने नेपाली विधार्थीहरु निकै ठुलो फड्को मारेको देखिन्छ । इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेशन र ओपन डोर्सका अनुसार सन् २०२४ मा अमेरिकी उच्च शिक्षामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्याका आधारमा नेपाल १० औं अग्रणी देशको सुचिमा परेको छ । सन् १९९५–१९९६ देखि २०२३–२०२४ सम्म संयुक्त राज्य अमेरिकामा नेपाली विद्यार्थीको कुल संख्या २ लाख ३३ हजार ७ सय १७ पुगेको छ । ओपन डोरको ७५ बर्षको तथ्यांकमा अमेरिकामा अहिलेको अन्तर्राष्ट्रिय विधार्थी सख्या हालसम्मकै उच्च र विश्वमा सबैभन्दा धेरै विधार्थी भित्र्याउने देश बनेको छ । यो सख्या सन २०२३ को तुलनामा ७ प्रतिशत बढेर ११ लाख २६ हजार ६९० पुगेको हो । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्र्तराष्ट्रिय विधार्थीलाई पढाई सकेपछि ग्रीनकार्ड दिने बाटोमा लैजाने प्रस्तावले अर्को बर्ष अझै बढ्ने देखिन्छ । अबैध आप्रवासीलाई रोकेर विधार्थीलाई ग्रिनकार्डको बाटोमा लगी दक्ष जनशक्तिलाई अमेरिका भित्र्याउने ट्रम्पको उदेश्य देखिन्छ । यो कार्यान्वयनको चरणमा आउन भने समय लाग्ने छ ।