May 15, 2025, Thursday
२०८२ जेष्ठ २

अमेरिकी “गोल्डकार्ड” लिने भए ५ मिलियन डलर लाग्ने !

२०८१ फाल्गुन १४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.1K

अब अमेरिकाको ग्रिन कार्ड हुँदै नागरिकता लिने बाटोको लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले “गोल्ड कार्ड“ वितरण गर्ने योजनाको घोषणा गरेका छन् । गोल्ड कार्ड लिनको लागि ५ मिलियन अमेरिकी डलर चाहिनेछ । यस अघि पनि ग्रीनकार्डका लागि १५ लाख अमेरिकी डलर आवश्यक पर्नेमा सोही प्रक्रियालाई बढाएर ५ मिलियन बनाउने तयारी भएको हो । यस विधामा कार्ड लिन व्यापारीले व्यापार व्यवसाय देखाउनु पर्ने र क्यास पैसा लिएर अमेरिका जानुपर्नेछ ।

“हामी गोल्ड कार्ड बेच्नेछौं । तपाईंहरूसँग हरियो कार्ड छ । यो भने गोल्ड कार्ड हो । हामी यस कार्डको मूल्य करिब ५ मिलियन राख्नेछौं । यसले हरियो कार्डको जस्तै सुविधा प्रदान गर्नेछ । साथै, यो नागरिकता प्राप्त गर्ने मार्गसमेत हुनेछ, र धनी व्यक्तिहरू यस कार्ड किन्न देशमा आउनेछन्,“ ट्रम्पले मंगलबार ओभल अफिसमा घोषणा गरेका हुन । “उनीहरू धनाढ्य हुनेछन्, सफल हुनेछन्, धेरै पैसा खर्च गर्नेछन्, धेरै कर तिर्नेछन्, र धेरै मानिसहरूलाई रोजगारी दिनेछन् । हामी सोच्छौं कि यो कार्यक्रम अत्यन्त सफल हुनेछ र यसअघि कहिल्यै यस्तो गरिएको थिएन,“ उनले थपे ।

वाणिज्य सचिव होवार्ड लुटनिकले यो कार्यक्रम दुई हप्ताभित्र सुरू हुने र हालको आप्रवासी लगानीकर्ता कार्यक्रमलाई प्रतिस्थापन गर्ने बताएका छन । उनले आप्रवासीहरूलाई सावधानीपूर्वक छानबिन गरिने र यसले बजेट घाटा कम गर्न मद्दत गर्ने बताए ।
ट्रम्पले कम्पनीहरूले शिक्षित कामदारहरूलाई अमेरिका ल्याउन गोल्ड कार्डका लागि पैसा तिर्ने अपेक्षा राखेको र देशले एक मिलियन कार्ड बेच्न सक्ने बताए । राष्ट्रपतिले यो कार्ड नागरिकता प्राप्त गर्ने मार्ग हुनेछ भने तापनि नागरिकता किन्न भने नपाईने बताए ।