February 8, 2025, Saturday
२०८१ माघ २६

एक वर्षमा विदेशबाट १५०६ नेपाली निष्कासित, नेपालबाट फर्काइए ४९७ विदेशी

२०८१ पुष २९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

215

एक वर्षमा नेपालबाट ४९७ जना विदेशी निष्कासित हुँदा एक हजार ५०६ जना नेपाली विदेशबाट निष्कासनमा परेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२४ मा नेपालबाट निष्कासित हुनेभन्दा विदेशमा नेपाली निष्कासनमा पर्ने संख्या तीन गुणा धेरै छ ।

नेपालबाट निष्कासित हुने धेरैजसो ओभर स्टेसम्बन्धी कसुरमा संलग्न छन् । ४५१ ओभर स्टे तथा ४६ जना अन्य अपराधमा संलग्न विदेशीलाई जरिवाना तिराएर उनीहरूलाई फर्काइएको विभागले जनाएको छ । नेपालमा अवैध बस्नेमा सबैभन्दा धेरै चिनियाँ, अमेरिकी, बंगलादेशी र पाकिस्तानी नागरिक छन् । एक वर्षमा १४७ चिनियाँ, अमेरिकी र बंगलादेशी ५४–५४, पाकिस्तानी ३५ र बेलायती २७ छन् । निष्कासनमा पर्ने अमेरिकी र बेलायतीमा धेरैजसो नेपाली मूलकै नागरिक छन् । अध्यागमन कानुनबारे जानकारी नहुँदा उनीहरू यस्तो कारबाहीमा पर्ने गरेका छन् ।

अध्यागमन नियमावलीअनुसार नेपालमा एक वर्षमा पर्यटन भिसामा बढीमा पाँच महिना बस्न पाइन्छ । अमेरिकी नागरिक भने ६ महिना बस्न पाउँछन् । तर, त्यो अवधि पनि गुजारेर बस्नेलाई ओभर स्टेको कसुरमा अध्यागमनले जरिवाना गराई निश्चित अवधि नेपाल आउन नपाउने गरी निष्कासन गर्छ । यसरी ओभर स्टेमा बस्नेहरू धेरैजसो शंकास्पद गतिविधिमा हुने गर्दछन् । तर, अवैध रूपमा बसेका विदेशीमाथि निगरानी र अनुसन्धानको प्रणाली बलियो हुन नसक्दा नेपालमा विदेशीहरूको अवैध गतिविधि बढेको र त्यसबाट राष्ट्रिय सुरक्षामै चुनौती हुन सक्ने सुरक्षा अधिकारीहरू बताउँछन् ।

पछिल्ला वर्ष पर्यटक भिसा र बिजनेस भिसाको दुरुपयोग गर्ने विदेशीमा चिनियाँहरू पहिलो स्थानमा छन् । सन् २०२४ मा निष्कासनमा परेकामध्ये १४१ जना ओभर स्टे तथा दुई सार्वजनिक सम्पत्तिविरुद्धको कसुरमा परेका थिए । त्यस्तै, जबर्जस्ती करणी कसुर, अभद्र व्यवहार, बालयौन दुरुपयोग र नेपाल राष्ट्र बैंक कसुरमा संलग्न एक–एकजना छन् । पर्यटक भिसामा आएर चिनियाँहरू सुन तस्करी, अनलाइन ठगीलगायत विभिन्न अवैध गतिविधिमा संलग्न रहँदै आएको प्रहरीका अनुसन्धानले समेत देखाउँदै आएका छन् ।

विभागका अधिकृत विवेक बिडारीका अनुसार सन् २०२४ मा ६४ देशका नागरिक निष्कासनमा परेका छन् । युगान्डाका १४, अस्ट्रेलियाका १२, श्रीलंकाका ११, फ्रान्सका आठ, क्यानडा र जर्मनीका सात, रसियाका ६, जर्मनी, उज्वेकिस्तान र क्यामरुनका पाँच–पाँच तथा दक्षिण कोरियाका चारजना निष्कासनमा परेका छन् । नेपालले १२ बाहेक सबै देशका नागरिकलाई अनअराइभल भिसा दिने भएकाले पनि नेपालमा अवैध गतिविधिमा संलग्न विदेशीहरू आउने गरेको प्रहरी अधिकारी बताउँछन् । पर्यटकलाई मात्र लक्षित गरेर नेपालमा अध्यागमन नीति बनाउँदा सुरक्षामा जोखिम बढ्दै गएको उनीहरूको भनाइ छ ।

नेपालीहरू भने मध्यपूर्वी देश मलेसिया, अमेरिका, कोरिया तथा जापानबाट धेरे निष्कासनमा परेका छन् । अमेरिकी सरकारले अवैध रूपमा बस्नेलाई विशेष विमानमै नेपालसम्म ल्याएर छाड्ने गरेको छ ।

पछिल्लो पाँच वर्षमा नेपालबाट दुई हजारभन्दा धेरै विदेशी निष्कासनमा परेका छन् । सन् २०२० मा ३३२, सन् २०२१ मा २१८, २०२२ मा ५७०, २०२३ मा ४५८ जना निष्कासनमा परेका थिए । यसरी पाँच वर्षमा दुई हजार ७५ जना विदेशी निष्कासनमा परेका छन् ।

सन् २०२४ मा अध्यागमन कार्यालयले १२० जना विदेशीलाई अध्यागमन कार्यालयबाटै फर्काएको (इन्ट्री रिफ्युज) छ । विभागका अनुसार शंकास्पद राहदानीवाहक, शरणार्थी, इन्टरपोलको कालोसूचीमा रहेका, शंकास्पद भ्रमण भएका व्यक्तिहरूलाई विमानस्थलबाट फर्काइएको छ । केही देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँदैनन् । तर, उनीहरू भिसाविना नै आएकाले पनि अध्यागमनले फर्काएको छ ।   विदेश जान विमानस्थल पुगेका आठ हजार ५९९ नागरिकलाई अध्यागमनले विमानस्थलबाटै फर्काएको छ । यो सन् २०२४ मा अध्यागमनले फर्काएको विवरण हो ।