पर्यटकका रूपमा भित्रिएर भिसा दुरुपयोग गरेको आरोपमा अध्यागमन विभागको अनुसन्धान दायरामा तानिएका १७ जना अमेरिकी नागरिक कारबाहीअगावै सुटुक्क फर्किएका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ परेका थिए
अध्यागमन विभागको अनुसन्धानमा तानिएका उनीहरू अनुसन्धान टुंगोमा नपुग्दै सुटुक्क स्वदेश फिर्ता भएका हुन् । विमानस्थल अध्यागमन कार्यालय स्रोतका अनुसार अनुसन्धान दायरामा तानिएका सबै जना शुक्रबार कतार एयरवेजको विमानबाट फिर्ता भएका हुन् । स्रोतका अनुसार विभागले उनीहरूमाथि निश्चित अवधिका लागि नेपाल आउन नपाउने गरी निष्कासनको तयारी गरेको थियो । तर, कारबाही छल्दै उनीहरू त्यसअगावै स्वदेश फिर्ता भएका हुन् ।सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको थियो । त्यसपछि उनीहरूलाई प्रशासनले सोधपुछ गरी चेतावनी दिएर छाडेको थियो भने उनीहरूबाट बरामद कागजात अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गृह मन्त्रालयमा पठाएको थियो । गृहले भने थप अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएको थियो ।