अमेरिकामा गत नोभेम्बर ५ मा भएको राष्ट्रपतीय चुनावमा निर्वाचित निर्वाचित डोनाल्ड ट्रम्पले पद तथा गोपनीयताको शपथ लिएका छन् । ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले राजधानी वासिङ्टन डिसीस्थित संसद् भवन युएस क्यापिटल हिलको रोटुण्डा भवनमा आयोजित विशेष समारोहमा सपथ गराएका हुन् । पदस्थापन समारोहमा ट्रम्पले १८६१ मा अब्राहम लिंकनले प्रयोग गरेको बाइबल प्रयोग गरेर सपथग्रहण गरेका हुन् ।
वासिङ्टन डीसीस्थित क्यापिटल हिलमा चिफ जस्टिसबाट सपथ लिएलगत्तै उनले अवैध रूपमा अमेरिका छिर्ने आप्रवासीहरूलाई कडाईका साथ कारवाही गर्ने सिमा संकटकाल घोषणा गरेका छन्। निवर्तमान राष्ट्रपति जो बाइडेनकै अगाडि ट्रम्पले अब अमेरिकामा राम्रो दिन सुरु भएको भन्दै अमेरिकाले विगतमा अपनाएको नीतिको आलोचना गरे।
ट्रम्पले म यो कुराको गम्भीरतापूर्वक शपथ लिन्छु कि म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदलाई निष्ठापूर्वक निर्वाह गर्ने छु र आफ्नो पूर्ण क्षमताअनुसार अमेरिकाको संविधानको संरक्षण, बचाउ र रक्षा गर्ने छुु भन्ने वाक्यांश वाचन गरेसँगै औपचारिक रूपमा अमेरिकाको ४७ औं राष्ट्रपति बनेका हुन् । यसअघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए ।
स्थानीय समयानुसार सोमबार मध्यान्न १२ बजे भएको समारोहमा ट्रम्पसँगै जेडी भान्सले अमेरिकाको ५० औं उपराष्ट्रपतिको शपथ लिए । उनलाई न्यायधीस ब्रेट काभानोले सपथ दिलाएका हुन् । सामान्यत शपथ ग्रहण समारोह क्यापिटलको बाहिर हुने गरेको भएपनि यसपटक अत्यधिक चिसोका कारण भवनभित्र गरिएको हो । यसअघि सन् १९८५ मा रोनाल्ड रेगनको शपथ ग्रहण समारोह क्यापिटल हिलभित्र आयोजना गरिएको थियो ।
शपथ ग्रहणपपछि बोल्दै ट्रम्पले अमेरिकामा आत्मविश्वास पुनर्स्थापना गर्नुपर्ने बताएका छन् । राष्ट्रपति पदमा फर्केसँगै हामी राष्ट्रिय सफलताको रोमाञ्चक नयाँ युगको सुरुवातमा रहेकोमा म विश्वस्त र आशावादी छु । परिवर्तनको उभारले देशलाई व्यापक बनाएको छ, ट्रम्पले भनेका छन् ।
ट्रम्पले व्यापार, ऊर्जा लगायतका क्षेत्रमा ठूला परिवर्तन आउने जानकारी दिए। पानामा नहरमा अमेरिकाको आधिपत्य कायम गर्ने, अमेरिकी उपभोक्ताले भोगिरहेको उच्च मूल्यवृद्धि कम गर्ने लगायतका योजना उनले प्रस्तुत गरे। यो ट्रम्पको दोस्रो कार्यकाल हो। यसअघि चार वर्षअघि उनी बाइडेनसँग पराजित भएका थिए। चार वर्षको अन्तरालपछि उनी पुनः ह्वाइट हाउस फर्किएका हुन्। संकटाकल लगाएसंगै अबका दिनदेखि मेक्सिको वा क्यानडाको सिमाबाट अमेरिका छिर्ने अबैध आप्रवासी सिधै जेल जानेछन । कुनै प्रक्रिया नअपनाई डिर्पोट गरिने छ ।
व्यावसायिक पृष्ठभूमिका ट्रम्पको सपथग्रहण समारोहमा गुगल, टेस्ला, एप्पल लगायतका विश्वका ठूला व्यावसायिक कम्पनीका प्रमुखहरू सहभागी थिए। ट्रम्पको सपथ लगत्तै विश्वका नेताहरूले उनलाई बधाई तथा कार्यकालको शुभकामना दिएका छन्।