January 15, 2025, Wednesday
२०८१ माघ २

नोभेम्बरमा भित्रिए एक लाख १४ हजार पर्यटक

२०८१ मंसिर १७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

385

सन् २०२४ को नोभेम्बर महिनामा एक लाख १४ हजार पर्यटक भित्रिएका छन् ।  पर्यटन बोर्डको तथ्यांकअुसार गत महिनाभरीमा एक लाख १४ हजार ५०१ पर्यटक भित्रिएका हुन्। अघिल्लो महिना अक्टोबरमा एक लाख २४ हजार पर्यटक भित्रिएका थिए । पर्यटकीय सिजनमा पर्वातारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गरेको बोर्डले जनाएको छ। तर यसपालिको सिजनमा अपेक्षा गरेअनुसारको पर्यटक नबढेको बोर्डका निर्देशक मणि लामिछानेले बताए।

‘पर्यटकीय सिजनमा हामीले डेढ लाख बढी पर्यटक आउँछन् भन्ने आकलन थियो,’ उनले भने, ‘तर बाढी पहिरो र विमानस्थल बन्द लगायतले पर्यटकले बुकिङ रद्द गरे त्यसैले आगमन केही घट्यो।’ यसपालि घुम्न आउनेमध्ये सबैभन्दा धेरै १९ हजार ९१५ भारतीय पर्यटक रहेका छन् । त्यस्तै, अमेरिकाबाट १० हजार, चीनबाट ९ हजार, अस्ट्रेलियाबाट ४ हजार, श्रीलंकाबाट ४ हजार, बेलायतबाट साढे ६ हजार पर्यटक आएका छन् । तथ्यांक हेर्दा अघिल्लो महिनाको तुलनामा श्रीलंकाबाट नेपाल घुम्न आउने पर्यटक बढेका छन्। अघिल्लो महिना एक हजार पर्यटक घुम्न आएका थिए भने यसपालि चार हजार ३९५ पर्यटक आएका छन् । त्यसैगरी, बंगलादेशबाट ५ हजार, जर्मनीबाट झन्डै ४ हजार पर्यटक भित्रिएका छन्।