क्यानडाको संघीय सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा सीमा लगाएको लगभग एक वर्षपछि, झूटो विवरण पेश गरेर शरण खोजेर देशमा बस्न खोजिरहेका विद्यार्थीहरूलाई नियन्त्रण गर्न कदम चाल्न थालेको छ । क्याम्ब्रिजका सांसद ब्रायन मेले शरण प्रक्रिया उनीहरूको लागि सुरक्षित रहनुपर्छ जसलाई यसको आवश्यकता छ, र परम्परागत आप्रवासन प्रक्रियालाई छलेर यसलाई उपकरणको रूपमा प्रयोग गर्नु अस्वीकार्य भएको बताएका छन् । उनले पढ्न आएका विधार्थीहरु शरणका लागि अयोग्य रहेको समेत बताउँदै त्यस्तालाई शरण दिन नसकिने प्रष्ट पारेका छन ।
सासंद मेले सरकार बेइमानीपूर्ण आप्रवासन सल्लाहकारहरूको बारेमा पनि जानकार रहेको र उनीहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गलत सल्लाह वा जानकारी दिँदा शरण दाबीहरूको संख्या बढिरहेको बताए । देशभरका कलेजहरूले विद्यार्थी सीमाको प्रभाव महसुस गरिरहेका छन्, तर विशेष रूपमा केहि कलेजलाई यसले सबैभन्दा बढी असर गरेको छ ।
इमिग्रेशन, रिफ्युजीज एन्ड सिटिजनसिप क्यानडाले प्रदान गरेको तथ्याङ्क अनुसार, कलेजमा शरण दाबीहरूको संख्या विद्यार्थी प्रतिबन्ध घोषणा र लागू गरिएको समयमा अत्यधिक वृद्धि भएको जनाएको छ । २०२१ यता, कनास्टोगा कलेजमा शरण दाबी गर्नेहरूको संख्या १ हजार एक सय प्रतिशतले बढेको छ । २०२१ मा जहाँ ५० दाबीहरू थिए, २०२४ को अक्टोबर ३१ सम्म ५५० पुगेको छ । २०२१ मा कलेजमा १२ हजार ८३० अध्ययन अनुमति पत्र स्वीकृत भएका थिए भने २०२४ मा यो संख्या घटेर ७ हजार ५४० मा झरेको तथ्यांकले देखाएपछि सरकारले छानवीन शुरु गरेको छ ।
कनास्टोगा कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग काम गर्नका लागि समर्पित कर्मचारीहरू राखेको बताएको छ, जसले उनीहरूलाई कार्य अनुमति पत्रका लागि आवेदन गर्न र अन्य सरकारी प्रक्रियाहरूमा सहयोग गर्छन् । कलेजका सञ्चार व्यवस्थापक ब्रेन्डा बेरेच्कीले क्याम्ब्रिज टुडेलाई पठाएको इमेलमा, कलेजले विद्यार्थीहरूलाई भिसा समाप्त हुने डरमा शरणका लागि आवेदन दिन निर्देशन दिएको छैन भनी स्पष्ट पारेकी छन् ।