ताप्लेजुङको पाथीभरा क्षेत्र (मुकुमलुङ) मा शनिबार भएको दोहोरो झडपमा प्रहरीको गोली लागेका तीनजनाको अवस्था गम्भीर छ । उपचारका राति विराटनगर पुर्याइएका तीनजनाको अवस्था जटिल भएको पहिचान पक्षधर नेता सेसेहाङ फियाकले बताउनुभयो ।
उहाँका अनुसार याम लिम्बु, सगुन लावती र धर्मान पालुङ्वाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको नेता फियाकले बताउनुभयो । गए राति नै नोबेल हस्पिटल विराटनगर पठाइएका लिम्बुको प्रहरीले चलाएको गोलीले तिघ्रा छेडेको छ ।
लावतीको छातीमा गोलीले लागेको छ । गोली वारपार हुनुका साथै उनको फोक्सोमा रगत जमेको चिकित्सकलाई उद्धृत गर्दै फियाकले बताउनुभयो । पालुङ्वाको दाहिने कुममा गोली लागेको छ । उनको कुम भाँचिएको छ । लिम्बु, लावती र पालुङ्वा सिकिस्त छन् ।
केवलकार निर्माणको विषयमा शनिबार दिनभर जसो त्यहाँको काफ्लेडाँडा आसपासमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच दोहोरो झडप भएको थियो । झडपमा चारजना सुरक्षाकर्मी घाइते भएका छन् । दुवै तर्फ गरि १५ जना बढी घाइते भएको बताइएको छ ।