मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाइदिइन् । मिस नेपाल अर्थको उपाधि सुमन केसी र मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरिन् । मिस नेपाल वर्ल्ड आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । २६ वर्षिया उनको उचाइ ५ फिट ५ इन्च छ । उनी काठमाडौं निवासी हुन् । यस बर्ष २६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
सबटाइटल विधातर्फ धेरै भोट ल्याएर अन्जना पुनले पपुलर च्वाइस, ऊर्जा नेवाले मिस फिटनेस, सिम्रिका मानन्धरले हेल्दी स्किन, साइरा खड्काले मिस भिजिनरी, प्रेरभिता स्वारले मिस कन्फिडेन्ट, सुमना केसीले मिस हाइजिन र अम्बिका राणाले ग्रीन भिजिनरी उत्कृष्ट भए । मिस फोटोजेनिक श्रद्धासुमन सिलवाल, फार्मेसी फेस अफ द इयर आस्मा केसी, मिस इन्टलेक्चुअल दीक्षा अवस्थी र ब्युटी विथ अ पर्पस विधामा सुमना केसी विजयी भए ।
‘ब्युटी विथ पर्पस’को विधा मिस नेपालको इतिहासमा पहिलोपटक आयोजना गरिएको हो । वुमन विथ द विंग्स विधामा किम्ती श्रेष्ठले जिते । उपाधिका लागि सेमिफाइनलमा आस्मा केसी, सिम्रिका मानन्धर, प्रेरभिता स्वार, श्रद्धासुमन सिलवाल, करुणा रावत र सुमन केसीबीच कडा प्रतिस्पर्धा भएको थियो ।