मेक्सिको सिमाबाट अवैधरुपमा अमेरिका छिरेका ७ नेपाली डिपोर्ट भएर नेपाल पुगेका छन । पैदलमार्ग हुँदै अमेरिका पुगेका उनीहरुलाई चार्टर्ड फ्लाइटमार्फत अमेरिकी सरकारको होमल्याण्ड सेक्यूरिटीले नेपाल फिर्ता पठाएको हो । नेपाल प्रहरीका अनुसार अमेरिकामा डिपोर्ट भई नेपाल फर्किनेहरुमा अमित डिसी, चन्द्र अग्री,जनार्दन रिजाल,सञ्जय भण्डारी,कमल बिक,अमृत पौडेल, रुपसिंह बिसी छन् ।
६ महिनाअगाडि अमेरिका पुगेका उनीहरु त्यहाँको प्रहरीले पक्राउ गरी शरणार्थी क्याम्पमा बस्दै आएका थिए । अमेरिकाले शरणार्थी नियम परिवर्तन गरेपछि उनीहरुलाई नेपाल फ़र्काइएको हो । होमल्याण्ड डिपार्टमेन्टले गैरकानुनीरुपमा शरणार्थी क्याम्पमा बस्दै आएका अन्य हजारौँ नेपालीलाई पनि फर्काउने तयारी गरेको बताइएको छ । त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै उनीहरुलाई अध्यागमनले मानव बेचबिखन ब्यूरोको जिम्मा लगाएको छ ।
विगत चार बर्षमा अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सख्या बर्षेनी बढी रहेको तथ्यांक रहेको छ । सन् २०२४ मा ४६ जना, २०२३ मा २२ जना, २०२२ मा २८ जना, २०२१ मा २३ जना नेपालीहरुलाई चार्टड विमानमार्फत अमेरिकाबाट देशनिकाला गरिएको उल्लेख छ ।