नेपालले अमेरिका विरूद्धको तीन खेलको टी-२० सिरिज अन्तिम खेलअघि नै जितेको छ। आइतबार विहान दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले सिरिज जितेको हो। यसअघि नेपालले पहिलो टी-२० १७ रनले जितेको थियो। अब अन्तिम टी-२० भोलि बिहान हुनेछ।
सुपर ओभरमा अमेरिकाले पहिले ब्याटिङ गरेको थियो। अमेरिकाका शायन जाहान्गिर र आन्द्रेस गस ब्याटिङमा थिए। बलिङमा नेपालका सोमपाल कामीले पहिलो दुई बलमा दुई रन मात्र दिँदा त्यसपछिका दुई बलमा शायन र आरोन जोन्सलाई आउट गरे। सुपर ओभरमा दुई विकेट गएपछि लक्ष्य पाउने नियमअनुसार नेपालले केवल ३ रनको लक्ष्य पाएको थियो।
जसमा नेपालका कुशल भुर्तेल र कप्तान रोहित पौडेल ब्याटिङ हुँदा अमेरिकाका सौरभ नेत्रभाल्कर बलिङमा थिए। पहिलो बलमा रोहितले एक रन लिए। दोस्रो बलमा कुशलले एक रन नै लिए। तेस्रो बलमा रोहितले रन लिएनन्। चौथो बलमा एक रन भए पछि नेपालले खेल जित्यो।
त्यसअघि खेलमा स्कोर बराबरी भएको थियो। आइतबार अमेरिकाको टेक्सासस्थित डलासमा भएको खेलमा दुवै टोलीले समान स्कोर बनाएपछि खेल सुपर ओभरमा गएको थियो। अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशलले ९२ रन जोडे। उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरेका थिए ।