हमासले इजरायल आक्रमणको क्रममा कब्जामा लिइएकामध्ये थप ३४ बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।
समाचार संस्था बीबीसीले हमासका एक उच्च अधिकारीले रिहा गर्न लागिएका बन्दीहरूको नाम रहेको सूची प्राप्त भएको जनाएका छन् । सूचीमा एकदेखि ८५ वर्ष उमेर समूहका बन्दी छन् ।
इजरायल हमास लडाकुले मुक्त गर्न लागेका व्यक्तिहरूको सूचीमा नेपालका विपिन जोशी नरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासले उपलब्ध गराएको सूचीमा जोशीको नाम नरहेको बताएका हुन् ।
सूचीमा १० महिला र ५० देखि ८५ वर्षसम्मका ११ पुरुष छन् । त्यसबाहेक यसअघि हमासले ‘मृत्यु भइसकेको’ भनेका केही बालबालिका पनि रहेका बीबीसीले जनाएको छ । उनीहरू सबै इजरायलकै नागरिक हुन् ।
आक्रमणको क्रममा हमासका लडाकुहरूले कञ्चनपुरका विपिन जोशीसहित दुई सय ५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए । त्यसयता जोशीको अवस्था अज्ञात छ ।
सन् २०२३ को नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेजमा हमासले नियन्त्रणमा लिएका केही व्यक्तिहरू दखिएका थिए । तीमध्ये एकजना नेपाली पनि रहेको इजरेली सेनाले जनाएको थियो ।
नेपाली भनिएका ती व्यक्ति विपिन हुनसक्ने अनुमान नेपाली अधिकारीले गरेका थिए । विपिनका दाजु किशोरले पनि भिडियोमा देखिएका व्यक्ति आफ्नो भाइ नै रहेको बताएका थिए ।
विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल तीव्र पारेको बताए पनि उनको अवस्था अझै थाहा हुन सकेको छैन ।
एक महिनाअघि मात्रै राजदूत नियुक्त भएर इजरायलको राजधानी तेलअभिभ पुगेका पण्डित नेपालीहरू मारिएको र विपिन अपहरणमा परेको गाजा नजिकैको शहर किबुत्ज अलुमिम पुगेर घटनाक्रमबारे जानकारी लिएका थिए ।
हमासले गत ७ अक्टुबर सन् २०२२ मा इजरायली भूमिमा प्रवेश गरी आक्रमण गरी एक हजार दुई सयभन्दा बढीको ज्यान लिएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । मृत्यु हुनेमा दश नेपाली विद्यार्थी पनि थिए ।
गाजामा युद्धविराम र बन्धक रिहाइको सम्झौताको प्रयास स्वरुप कतारमा लगातार वार्ता चलिरहेको छ । वार्ताको क्रममा आफ्नो कब्जामा रहेका ३४ बन्धकलाई रिहा गर्न हमास तयार भएको खबर पनि आएको छ ।