राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जनवरी २० मा अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गरे । सपथग्रहण प्रत्येक चार वर्षको जनवरी २० मा वाशिंगटन, डी.सी., स्थित अमेरिकी संसद भवन यूएस क्यापिटल बिल्डिङमा आयोजना हुन्छ । यदि जनवरी २० आइतबार परेमा, राष्ट्रपति पदको शपथग्रहण निजी रूपमा सोही दिन गरिन्छ, तर सार्वजनिक कार्यक्रम जनवरी २१ मा गरिन्छ ।
यस वर्षको सपथग्रहण समारोह, उद्घाटन सम्बोधन, र उद्घाटन लञ्चजस्ता परम्परागत गतिविधिहरू भए । आखिर किन यहि दिन सपथ ग्रहण गरिने गर्दछ भन्ने प्रश्न हुन सक्दछ । इनोगरेशन डे सधैं जनवरी महिनामा मनाइने प्रचलन थिएन । १७८९ मा कंग्रेसले नयाँ सरकारको कार्यवाही सुरु गर्ने मिति मार्च ४ तोकेको थियो। तर, कठिन जाडो मौसमका कारण जर्ज वाशिंगटनको सपथग्रहण केही हप्ता ढिलो भयो, र उनी अप्रिल ३०, १७८९ मा न्यूयोर्क सिटी (त्यतिबेला देशको राजधानी) मा राष्ट्रपति बने । त्यसपछि १०० वर्षभन्दा बढी समयसम्म मार्च ४ मा राष्ट्रपति र उपराष्ट्रपतिहरूले सपथ लिँदै आएका थिए ।
पुराना समयमा, निर्वाचन र सपथग्रहणको बीचको लामो समयको कारण नयाँ र पुराना प्रशासनबीच चुनौतीहरू उत्पन्न हुन्थे । मतगणना प्रक्रियामा ढिलाइ र खराब सडक अवस्थाका कारण यात्रा कठिन हुन्थ्यो ।
१९३३ मा २०औं संविधान संशोधन पारित भएपछि, सपथग्रहण मिति जनवरी २० मा सारियो र नयाँ कंग्रेसको पहिलो अधिवेशन जनवरी ३ मा तोकियो । जनवरी २० मा पहिलो पटक सपथग्रहण सन् १९३७ मा भयो । त्यसपछि यो परम्परा निरन्तर रहँदै आएको छ ।
सपथग्रहण अगाडिसम्म कुनै पनि निर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति पद ग्रहण नगरेसम्म निजी नागरिक मानिन्छन् । यो राजनीतिक रूपान्तरणको अवधि पहिले चार महिना लामो हुन्थ्यो, जसलाई छोट्याउन २०औं संशोधनले महत्वपूर्ण भूमिका खेलेको हो ।