February 8, 2025, Saturday
२०८१ माघ २६

अमेरिकी सभामुख, रक्षामन्त्रि र अर्थमन्त्रिको हत्या योजना बनाएको आरोपमा क्यापिटलहिल नजिकैबाट शंकास्पद व्यक्ति पक्राउ

२०८१ माघ १६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

670

 

अमेरिकी सभामुख माइक जोनसन तथा रक्षामन्त्रि पिट हेगसेथ र रिपव्लिकन नेता अर्थमन्त्री स्कट बिसेन्टलाई हत्या गर्ने योजना बनाएको आरोपमा क्यापिटलहिल नजिकैबाट एक व्यक्ति पक्राउ परेको समाचार छ । संघीय अभियोजनकर्ताहरूले अदालतका कागजातहरूमा लगाएको आरोपमा अमेरिकी क्यापिटल भवन नजिक सोमबार पक्राउ परेका एक व्यक्तिको साथबाट केहि अत्यन्तै शंकास्पद वस्तुहरु बरामद गरिएको जनाइएको छ ।

अदालतका दस्तावेजहरूमा आरोपित व्यक्तिलाई रयान इङ्गलिसको रूपमा पहिचान गरिएको छ । रायनले क्यापिटोलको प्रवेशद्वार नजिकै आफैं प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । अभियोजनकर्ताहरूका अनुसार, उनको शरीर तलासी गर्दा दुईवटा “विनाशकारी उपकरणहरू“ फेला परेका थिए । ती उपकरणहरू ५० मिलीलिटरका अब्सोलुट ब्रान्डको भोड्काका बोतलहरूमा च्यातिएका कपडाहरू राखेर बनाइएको मोलोटोभ ककटेलका रूपमा भेटिएको द गार्जियन समाचारले जनाएको छ ।
अभियोजनकर्ताहरूले भनेअनुसार, उनले एउटा फोल्डिङ चक्कु पनि बोकेका थिए । उनीसँगै रहेको गाडीको थप तलासी गर्दा ठूलो भोड्काको बोतल र एउटा खैरो स्वेटसर्ट पनि फेला परेको छ । अभियोजनकर्ताहरूका अनुसार, स्वेटसर्टको सामग्री उनीसँग फेला परेका मोलोटोभ ककटेलमा प्रयोग गरिएको कपडासँग मिल्दोजुल्दो थियो ।
रयानले आफ्नो म्यासाचुसेट्सस्थित घर छोड्दा अमेरिकी सभामुख माइक जोनसन र हालै रक्षा सचिवको रूपमा सिनेटबाट अनुमोदित भएका पिट हेगसेथलाई हत्या गर्ने योजना बनाएको बताएको द गार्जियनको समाचारमा उल्लेख छ ।

रयानले सोमबार सिनेटबाट अनुमोदित भएका ट्रम्प प्रशासनका नयाँ अर्थमन्त्री स्कट बिसेन्टलाई पनि हत्या गर्ने योजना बनाएको बताएका छन । अनुसन्धानकर्ताहरूका अनुसार, उनले सम्भवतः ट्रम्प समर्थक दक्षिणपन्थी लबिङ समूह हेरिटेज फाउन्डेशनलाई आगो लगाउने योजना पनि बनाउन सक्थे, जुन क्यापिटोल नजिकै रहेको उल्लेख गरेका छन । संघीय अभियोजनकर्ताहरूका अनुसार, इङ्गलिसलाई थाहा थियो कि आफ्नो प्रयासका क्रममा उनी मर्न सक्थे, र उनले आफ्ना प्रियजनलाई पत्र लेख्दै यसबारे माफी मागेका थिए। अधिकारिहरूका अनुसार, इङ्गलिसमाथि अवैध रूपमा बन्दुक ओसारपसार गरेको र क्यापिटोलमा आगजनी उपकरण ल्याएको आरोप लागेको छ।