February 8, 2025, Saturday
२०८१ माघ २६
आप्रबासनप्रति समृद्धशाली देशको क्रुर नीतिः

आगामी दशकमा आप्रवासीले अमेरिकी जीडीपीमा ७ ट्रिलियन डलरको योगदान गर्ने प्रक्षेपण

२०८१ पुष २९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

545

 

आजका सम्पन्न देशहरूले आफ्नो सफलताको धेरैजसो भाग आप्रवासी कामदारहरूको योगदानबाट प्राप्त गरेका हुन । तर, आप्रवासीविरोधी भावना बढ्दै जाँदा आप्रवासनलाई सीमित गर्ने खतरा छ, जसले विदेशी श्रमिकमा निर्भर रहेका देशहरू र आर्थिक विकासका लागि रेमिट्यान्समा भर पर्ने विकासशील अर्थतन्त्रहरूलाई जोखिममा पार्न सक्छ ।

एलन मस्क नेतृत्वमा रहेका टेक व्यवसायीहरू र डोनाल्ड ट्रम्पका आप्रवासीविरोधी समर्थकहरूबीच दक्ष आप्रवासीहरूलाई सीमित गर्ने विषयमा भएको विवादले आप्रवासनको राजनीति र अर्थतन्त्रबीचको गहिरो तनावलाई उजागर गर्छ । ट्रम्पको मेघा आधारले आप्रवासीहरूलाई आफ्नो रोजगारीको खतरा ठान्छन्, भने कम्पनीका मालिकहरूले प्रतिभाका लागि विश्वव्यापी प्रतिस्पर्धा बढ्दै गएको महसुस गर्छन् । अमेरिका “महान” बनाउन उनीहरूलाई थप विदेशीहरूको आवश्यकता छ भन्ने कुरा बुझिन्छ । वास्तवमा, अमेरिकी ट्रिलियन–डलर टेक कम्पनीका ६० प्रतिशत भन्दा बढी सीईओहरू विदेशी जन्मिएका छन्, जसमा मस्क पनि पर्छन् ।
आजका सम्पन्न अर्थतन्त्रहरूको सफलता धेरै हदसम्म आप्रवासीहरूको योगदानमा आधारित छ, जसले आफ्नो इच्छा वा बाध्यताले वृक्षारोपण, कारखाना, खानी र घरहरूमा श्रम गरे । अहिले पनि यी देशहरूले आर्थिक वृद्धिलाई कायम राख्नका लागि उच्च र निम्न दक्षताका आप्रवासी श्रमिकहरूमा निर्भर रहन्छन्, जसले स्थानिय श्रमिकले गर्न नचाहेका वा गर्न नसक्ने काम पूरा गर्छन् ।

स्थानिय श्रमिकलाई विस्थापित गर्नुको साटो, आप्रवासनले प्रायः स्थानिय नागरिकहरूको रोजगारीमा वृद्धि ल्याउने गर्दछ । अध्ययनहरूले देखाएका छन् कि महत्वपूर्ण विदेशी–जनसंख्या भएका देशहरूले द्रुत र दीर्घकालीन वृद्धि अनुभव गरेका छन् । उदाहरणका लागि, सन् २०२२ मा, अमेरिकी आप्रवासीहरूले संघीय, राज्य, र स्थानीय करमा अनुमानित ४५ सय ७९ अर्ब तिरेका थिए । त्यस्तै, युनाइटेड किङडममा, ३५०,००० को नेट आप्रवासन वृद्धि २०२८ सम्ममा करिब ३७.४ अर्ब (४९.१ अर्ब) ऋण घटाउन सहयोग पु¥याउने सरकारी पूर्वानुमान छ । यी आँकडाहरू प्रभावशाली भए पनि आप्रवासनको आर्थिक प्रभावको दीर्घकालीन योगदानलाई उल्लेख गर्न असफल छन् ।

अनुसन्धानले देखाउँछ कि आप्रवासनले स्थानिय श्रमिकको ज्यालामा नकारात्मक प्रभाव पार्दैन । हार्वर्डका अर्थशास्त्र प्राध्यापक जर्ज बोरजास, जो एक पटक आप्रवासनप्रति आलोचक थिए, स्वीकार्छन् कि आप्रवासनको स्थानिय ज्यालामा पर्ने प्रभाव “अध्ययनबाट अध्ययनमा व्यापक रूपमा फरक पर्छ“ तर “शून्यको वरिपरि केन्द्रित“ छ । कम दक्षताका आप्रवासीहरूले प्रायः रातभरको काम, शून्य घण्टा सम्झौता, र कठिन श्रम जस्ता अप्रिय काम लिने भएकाले उनीहरूको मुख्य प्रतिस्पर्धा अरू आप्रवासीहरूसँग नै हुने गर्दछ ।

यी तथ्यहरू ट्रम्पका लागि खासै महत्त्वपूर्ण देखिँदैनन् । उनले आधारहीन दाबी गर्दै आप्रवासीहरूले “काला अमेरिकीहरूको रोजगारी खोस्दैछन“ भन्ने आरोप लगाएका छन् । तर वास्तविकतामा, पछिल्ला वर्षहरूमा आप्रवासनमा तीव्र वृद्धि भए पनि काला अमेरिकीहरूको बेरोजगारी दर ऐतिहासिक रूपमा सबैभन्दा कम छ । यो तथ्य झन् व्यापक रूपमा सत्य छ । आप्रवासीहरूले स्थानिय नागरिकहरूसँग प्रतिस्पर्धा गर्नुभन्दा अमेरिकी रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएका छन् । विगत दुई दशकमा, आप्रवासनले कलेज शिक्षा नलिएका अमेरिकीहरूको तलब वृद्धि गरेको छ र कलेज–शिक्षित श्रमिकहरूमा कुनै महत्वपूर्ण प्रभाव परेको छैन । यसले महिलाको कार्यबलमा सहभागिता दर पनि बढाएको छ, आंशिक रूपमा बाल हेरचाह र घरेलु कामको लागत कम गराएर ।

सिधा भन्नुपर्दा, धेरै देशहरू आप्रवासीहरूमा यति धेरै निर्भर छन् कि उनीहरूका अर्थतन्त्रहरू आप्रवासीबिना धराशायी हुन सक्छन् । यो खाडी क्षेत्रका केही देशहरूमा झनै सत्य हो; संयुक्त अरब इमिरेट्स र कतारमा आप्रवासीहरूले करिब ९० प्रतिशत श्रम शक्ति ओगटेका छन् । अन्यत्र, विदेशी श्रमिकहरूले विशेष सीप चाहिने कामहरू, जस्तै प्रोग्रामिङ, प्लम्बिङ, वा शल्यक्रिया पूरा गर्न वा फलफूल टिप्न र वृद्धहरूको हेरचाह गर्नजस्ता स्थानीयहरूले गर्न नचाहेका कामहरू सम्हालेर महत्वपूर्ण श्रम अभाव पूर्ति गर्छन् ।

समृद्ध अर्थतन्त्रहरूले स्वाभाविक रूपमा धेरै आप्रवासीहरूलाई आकर्षित गर्छन्, जसले उत्पादकत्व बढाउँदै आर्थिक वृद्धिलाई गतिशील बनाउँछन् । यस सकारात्मक चक्रले आप्रवासीहरूको उच्च जनसंख्या भएका शहरहरूलाई संसारकै सबैभन्दा जीवंत र सम्पन्न क्षेत्रहरूमध्ये राख्छ । आप्रवासीहरू अक्सर रोजगारीको अवसर सीमित भएका देशमा आइपुग्न सक्छन्, तर उनीहरू प्रायः स्थायी रूपमा बसोबास गर्दैनन् । उदाहरणका लागि, ग्रीसमा आइपुग्ने आप्रवासीहरू जर्मनी र उत्तरी यूरोपतिर जाने गर्छन्, ठीक दक्षिण अमेरिकी आप्रवासीहरूले मेक्सिको हुँदै अमेरिका पुग्ने जस्तै ।

आर्थिक अनिवार्यता
आप्रवासनविरोधी राजनीतिज्ञहरूले प्रायः आप्रवासीहरूलाई सार्वजनिक बजेटमा बोझको रूपमा चित्रण गर्छन् । तर, वास्तविकता यो हो कि विदेशी श्रमिकहरूले करको रूपमा उनीहरूले पाउने लाभभन्दा बढी योगदान गर्छन् । यसको मुख्य कारण अधिकांश आप्रवासीहरू युवा हुने, स्थानीय जनसंख्याभन्दा लामो समय काम गर्ने, र शिक्षा, पेन्सन, स्वास्थ्य सेवा र वृद्ध हेरचाहजस्ता सरकारी सेवाहरूमा कम निर्भर हुने हो । यूनाइटेड किङडममा गरिएको अध्ययनहरूले देखाएको छ कि आप्रवासीहरूले सरकारी राजस्वमा उपभोग गर्ने स्रोतभन्दा बढी योगदान गर्छन् । यसैगरी, संयुक्त राज्य अमेरिका, जर्मनी, ग्रिस, पोर्चुगल, र स्पेनमा पनि आप्रवासीहरू देशभित्र जन्मिएका नागरिकहरूभन्दा सामाजिक सेवाहरूमा कम निर्भर हुन्छन् ।

कागजातविहीन श्रमिकहरूको योगदान
कागजातविहीन आप्रवासी श्रमिकहरूले पनि सरकारी वित्तमा उल्लेखनीय योगदान गर्छन् । संयुक्त राज्य अमेरिकामा, उनीहरू देशभित्र जन्मिएका श्रमिकहरू वा कागजात भएका आप्रवासीहरूभन्दा तलब पाउने काममा बढी संलग्न हुन्छन् । आफ्नो स्थिति सार्वजनिक गर्न डराएर, उनीहरू कल्याणकारी सुविधाहरू कमै प्रयोग गर्छन्, जसले गर्दा सरकारी कोषमा ठूलो योगदान रहन्छ । करिब २.३ ट्रिलियन डलर “सस्पेन्स फाइलहरू” मा संचित भएको अनुमान छ, जसमा सामाजिक सुरक्षा योगदानहरू समावेश छन्, जुन दाबी गर्न नसक्ने व्यक्तिहरूबाट आएको छ । ती रकम अन्ततः अन्य सरकारी खर्चका लागि प्रयोग गरिन्छ ।

आप्रवासन घटाउनुले आर्थिक वृद्धिमा अवरोध पु¥याउने र ठूलो मात्रामा रोजगारी गुम्ने सम्भावना हुन्छ । सन् २०२२ मा मात्र, संयुक्त राज्य अमेरिकाका आप्रवासीहरूले सामान र सेवामा झण्डै १.६ ट्रिलियन डलर खर्च गरे । संघीय सरकारको अनुमानअनुसार, आगामी दशकमा आप्रवासी श्रमिकहरूले अमेरिकी जीडीपीमा ७ ट्रिलियन डलरको योगदान गर्नेछन् ।

शरणार्थीहरूले कहिलेकाहीं सामाजिक प्रणालीमा बोझ थप्न सक्छन्, तर यो प्रायः यस्ता नीतिहरूका कारण हुन्छ, जसले शरणार्थीहरूलाई काम गर्नबाट रोक्छ । उदाहरणका लागि, संयुक्त अधिराज्यमा शरणार्थीहरूले काम गर्न पाउँदैनन् र सार्वजनिक सेवामा निर्भर रहन बाध्य हुन्छन् ।

जनसांख्यिकीय लाभमा आप्रवासनको महत्व छ । अधिकांश विकसित देशहरू, साथै धेरै विकासोन्मुख देशहरू (चीनसमेत), अहिले प्रतिस्थापन स्तरभन्दा कम जन्मदरको सामना गर्दैछन् । लामो आयु संगै, यो प्रवृत्तिले तीव्र जनसंख्या बृद्धि र वृद्धजनहरूको संख्यामा वृद्धि गरिरहेको छ । सन् २०५० सम्ममा, ६० वर्ष वा माथिका व्यक्तिहरूको संख्या दोब्बर भएर दुई अर्बभन्दा बढी पुग्नेछ । सामाजिक प्रणालीलाई टिकाउन र वृद्ध हेरचाह, व्यक्तिगत सेवा, र आतिथ्यजस्ता स्वचालित वा टाढाबाट गर्न नसकिने कामहरू पूरा गर्न श्रमिकहरू आवश्यक पर्नेछ ।

अमेरिकामा आप्रवासनको प्रभाव
संयुक्त राज्य अमेरिकामा, बृद्ध जनसंख्या र घट्दो श्रमिक संख्याले कृषिदेखि स्वास्थ्य सेवा, खुद्रा व्यापार र उत्पादनसम्मका क्षेत्रमा कर्मचारी अभाव सिर्जना गरेको छ । इंडियाना र यूटा जस्ता राज्यका रिपब्लिकन गभर्नरहरूले आप्रवासनबारेको कांग्रेसको गतिरोधले अमेरिका “दुबै पार्टीलाई कमजोर बनाउने र दीर्घकालीन समृद्धिलाई खतरामा पार्ने“ बताएका छन् ।

आप्रवासनले दुई महत्वपूर्ण कुराको आपूर्ति गर्दछः उच्च शिक्षित श्रमिकहरूको बढ्दो संख्या र विविध कार्यबल, जसले नवप्रवर्तन र उद्यमशीलतालाई बढावा दिन्छ । उदाहरणका लागि, संयुक्त राज्य अमेरिकामा आप्रवासीहरूले देशभित्र जन्मिएका नागरिकहरूको तुलनामा व्यवसाय सुरु गर्ने सम्भावना ८० प्रतिशत बढी हुन्छ ।

निष्कर्ष

आप्रवासनले जीडीपी वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिशीलताको सम्भावना उच्च बनाउँछ । आप्रवासनमैत्री नीति अपनाउने देशहरू दीर्घकालीन समृद्धिको लागि अझ राम्रो स्थिति बनाउन सक्षम हुन्छन् । निस्सन्देह, सबै आप्रवासी असाधारण वा कानुन मान्ने हुँदैनन् । तर पनि, आप्रवासीहरूमा आपराधिकता दर सामान्यतया देशभित्र जन्मिएका नागरिकहरूको तुलनामा कम हुन्छ । यसको एक कारण आप्रवासनको चुनौती हो, किनकि आफ्नो जीवनलाई उखेलेर नयाँ देशमा जान चाहने व्यक्तिहरू बढी महत्वाकांक्षी, सिर्जनात्मक, संसाधनसंपन्न र दृढ हुने गर्छन् ।
यसको उदाहरण डोनाल्ड ट्रम्पका हजुरबुवा फ्रेडरिक ट्रम्प हुन् । फ्रेडरिक ट्रम्पले आफ्नो जन्मभूमि बाभेरियामा रहेको गरिबीबाट उम्किन अमेरिका आएर सफल व्यापारी बने । सन् १८९६–९९ को क्लोन्डाइक गोल्ड रशका बेला उनले रेस्टुरेन्ट चलाए र खोजकर्ताहरूका लागि अन्य सेवा प्रदान गरे । विवाहका लागि जर्मनी फर्केपछि उनी सैनिक सेवा छलेको आरोपमा पुनः अमेरिकामा फर्काइए र क्वीन्समा जग्गा किनेर आफ्नो सन्तानहरूको सम्पत्ति साम्राज्यको आधार बनाए ।
तर, यदि आप्रवासनले यति स्पष्ट लाभ दिन्छ भने, किन धेरै मानिस र राजनीतिज्ञहरूले यसको विरोध गर्छन ? आर्थिक यथार्थ र राजनीतिक व्याख्यानबीचको दूरी सर्वेक्षणहरूमा झल्किन्छ, जसले देखाउँछ कि मानिसहरूले आफ्ना देशका आप्रवासी जनसंख्या धेरै बढी अनुमान गर्छन् । यसलाई विभिन्न राजनीतिक दलहरूको आप्रवासनविरोधी व्याख्यानले झन् बल पु¥याउँछ

सीमा पर्खालहरूको प्रभाव

आप्रवासनविरोधी राजनीतिज्ञहरूको प्रिय साधन पर्खाल र बारहरू हुन् । तर यी भौतिक अवरोधहरूले आप्रवासन रोक्नुको सट्टा आप्रवासीहरूलाई देशभित्र थुनिने अवस्था सिर्जना गर्छन् । सबैभन्दा हतास आप्रवासीहरूलाई यी पर्खालहरू पार गर्न जोखिम उठाउन बाध्य बनाउँछन् । ट्रम्पको मेक्सिकोसँगको सिमानामा बनाइएको “ठूलो, सुन्दर पर्खाल“ यसको पछिल्लो संस्करण हो । १९९० को दशकमा, राष्ट्रपति बिल क्लिन्टनले अमेरिकी सीमा नगरहरूमा आप्रवासन रोक्न पर्खाल निर्माण गर्न आदेश दिए । जर्ज डब्ल्यू. बुसले यस परियोजना विस्तार गरे । ओबामाले थप १०० माइल सीमा पर्खाल थपे, र ट्रम्पले ४७ माइल नयाँ पर्खाल थप्दै ४०० माइल बलियो बनाए ।
सीमा बलियो बनाउँदा आप्रवासीहरू झन् खतरनाक बाटाहरू रोज्न बाध्य भए । सन् २०२२ मा, ६८६ मानिस सिमाना पार गर्ने प्रयासमा ज्यान गुमाए वा हराए, जसले यसलाई संसारकै सबैभन्दा खतरनाक भूमि सीमा बनायो । २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा, आप्रवासनविरोधी व्याख्यानले नयाँ उचाइ छ । ट्रम्पले ल्याटिनो र अन्य आप्रवासीहरूलाई अपराधीको रूपमा चित्रित गरे । उनले ११–२१ मिलियन मानिसलाई देश निकाला गर्ने योजना गरे । तर यस्तो कदमले अमेरिकी अर्थतन्त्रलाई ठूलो क्षति पु¥याउनेछ । निर्माण, कृषि, र मासु प्रशोधनजस्ता उद्योगहरूमा कागजातविहीन श्रमिकहरूको ठूलो हिस्सा छ । यसले खाद्य र आवास लागत, वृद्ध हेरचाह, र आतिथ्य सेवाको मूल्य वृद्धि गर्नेछ ।

अन्ततः, आप्रवासनविरोधी नीति र कार्यान्वयनको खपत लागत मात्रै ३१५ अर्ब डलर पुग्न सक्छ । यस्तो कदमले मेक्सिको र मध्य अमेरिकी देशहरूको अर्थतन्त्रमा थप दबाब पार्नेछ, जसले आप्रवासनबाट प्राप्त हुने रेमिट्यान्सको ठूलो हिस्सा गुमाउनेछन् । खुला सिमानाको अवधारणा आजकल राजनीतिक रूपमा असम्भव जस्तो लाग्न सक्छ, तर बीसौँ शताब्दीसम्म यो सामान्य कुरा थियो । युरोपेली संघको शेंगेन क्षेत्र, जसले सदस्य राष्ट्रहरूबीच स्वतन्त्र आवतजावतलाई अनुमति दिन्छ, यस्तो प्रणाली कसरी प्रभावकारी रूपमा काम गर्न सक्छ भन्ने उदाहरण हो । वर्षौंदेखि, युरोपभित्रको आप्रवासन आर्थिक अवस्थाहरू प्रति धेरै नै संवेदनशील साबित भएको छ । खुला सिमानाहरूले पुनःस्थापना र परिक्रामी आप्रवासनलाई सम्भव बनाएको छ ।

व्यापार उदारीकरणझैँ, आप्रवासनका लागतहरू प्रायः तत्काल, देखिने र साना समुदायहरूमा केन्द्रित हुने गर्छन्, जबकि यसका लाभहरू प्रायः व्यापक रूपमा फैलिएका, कम देखिने र ढिलो महसुस हुने खालका हुन्छन् । आप्रवासनको पूर्ण आर्थिक सम्भावना अनलक गर्न, सरकारले प्रत्यक्ष रूपमा प्रभावित समुदायहरूले भोग्ने बोझलाई कम गर्ने कदम चाल्नुपर्छ । यसमा जनसङ्ख्या वृद्धि भएका क्षेत्रहरूमा किफायती आवास निर्माण गर्नु वा बढ्दो मागलाई पूरा गर्न सार्वजनिक यातायात र पूर्वाधारमा लगानी गर्नु समावेश हुन सक्छ ।

यी समुदायहरूलाई सहयोग गर्नु आर्थिक रूपमा विवेकपूर्ण पनि हो । करिब २० वर्षअघि, विश्व बैंकले धनी देशहरूले आप्रवासनमार्फत आफ्नो श्रमिक जनसङ्ख्यालाई ३ प्रतिशतले बढाएमा वैश्विक जीडीपी दुई दशकभित्र ३५६ अर्ब डलरले बढ्न सक्ने अनुमान गरेको थियो । अमेरिका र अन्य धेरै देशहरूमा फैलिएको आप्रवासनविरोधी भावना, सीमापार आप्रवासनलाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्दा आतिथ्य र स्रोत दुवै देशलाई लाभ दिन्छ भन्ने अर्थशास्त्रीहरूको बढ्दो मान्यतासँग विरोधाभासमा छ । अहिलेसम्म, अर्थशास्त्रीहरूको कुरा सुनिइएको छैन । विकासशील देशहरूबाट आउने आप्रवासीलाई लक्षित गर्दै थप कठोर नीति अपनाउनु, गरिबी, द्वन्द्व र अभावबाट उम्किन खोज्नेहरूको लागि अत्यावश्यक सहारालाई जोखिममा पार्नुका साथै ती आप्रवासीलाई अस्वीकार गर्ने अर्थतन्त्रलाई क्षति पु¥याउने कार्य भएको छ ।
अवसरहरूलाई अधिकतम बनाउँदै लागतलाई न्यून गर्ने, अधिक मानवीय र खुला आप्रवासन प्रणाली निर्माण गर्नु नीति निर्माताहरूले सामना गर्नुपर्ने सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक हो। एउटा सम्भावित समाधान भनेको स्पष्ट नीति रूपरेखा विकास गर्नु हो । यसले आप्रवासीहरूको लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने, न्यूनतम ज्याला र कार्यस्थल सुरक्षा मापदण्ड लागू गर्ने, र आफ्ना देश फर्किने व्यक्तिहरूलाई पोर्टेबल पेन्सन र सामाजिक सुरक्षा लाभ प्रदान गर्ने समेट्न सक्छ । यसैगरी, आप्रवासीहरूले उचित कागजात प्राप्त गर्नु, कर तिर्नु र आफ्नो आतिथ्य देशको कानुन पालना गर्नुपर्नेछ । तर, यसअघि, मतदाताहरू र राजनीतिक नेताहरूले आप्रवासन एउटा जीवनको यथार्थ हो र सधैँ रहँदै आएको छ भन्ने स्वीकार गर्नुपर्छ। यसको इतिहास दुःखदायी क्षति र पीडाबाट भरिएको छ, तर नयाँ अवसर र असाधारण प्रगतिहरूको कथा पनि हो। पटक–पटक, आप्रवासनले मानव प्रगतिलाई अघि बढाएको छ। सही नीतिहरूसँगै, यसले आगामी दिनमा पनि प्रगति सुनिश्चित गर्नेछ ।
प्रोजेक्ट सिण्डिकेटबाट