विश्वविख्यात अभिनेता तथा संरक्षणकर्मी लियोनार्डो विल्हेम डिक्याप्रियोले नेपालको सबै भन्दा पुरानो र ऐतिहासिक महत्वको जैविक विविधता संस्कृतिक सम्पदाको सरंक्षण गर्न अव्हान गरेका छन । आफ्नो सामाजिक सन्जाल ६२ मिलियन फलोअर भएको ईन्टाग्राम र १९ मिलियन फलोअर भएको फेसबुक पेजबाट विश्वकै र्दुलभ मानिएको क्षेत्रको सरंक्षण गर्नुपर्नेमा जोड दिदै त्यस्तो क्षेत्रहरुमा धमाधम निर्माण भैईरहेको अबैध हाईड्रोपावर सडक निर्माणको काम बन्द गर्नुपर्नेमा जोड दिएका छन । संखुवासभा जिल्लाको लुम्बा सुम्बा क्षेत्रमा हिम चितुवा, लोपोन्मुख रेड पाण्डा र विविध जडीबुटीहरु पाईन्छ । छुजुड, छुन्जाम र बखाम नदीहरु नेपालका अति सीमान्तकृत आदीवासी जनजातीहरुमध्ये ल्होमी सिंमा र भोटे जातीहरुको धार्मिक रुपमा पनि पवित्र नदिहरु हुन भन्दै त्यस्तो स्थानमा निर्माण हुँदै गरेको र हुन लागेको बाँध निर्माण रोक्नुपर्नेमा जोड दिएका छन । स्थानीय मानिसहरुले औषधीजन्य जडीबुटी उत्पादन गर्ने र आफ्नो धार्मिक महत्वको स्थानको संरक्षणमा लाग्नुपर्ने भन्दै नेपाल सरकारसंग त्यस्तो स्थानमा कुनै पनि खालको निर्माण कार्य रोक्न माग गरेको जनाइएको छ । लुम्बा सम्बा जैविक साँस्कृतिक सम्पदा विशेष संरक्षण क्षेत्र ऐन सन् २०२० मा स्थानीय सरकारले लागु गरेको नियममा त्यस्तो क्षेत्रमा जलविधुत, सडक, र खानी बनाउन रोक लगाउँछ । त्यसैले यस्तो पृथ्वीकै यस्तो स्थान लुम्बासुम्बा जुन संरक्षणका लागि महत्वपुर्ण रहेको छ भन्दै लियोनार्डोले नेपाल सरकार र सम्बन्धित पक्षलाई निर्माण प्रक्रिया रोकेर संरक्षण गर्न आग्रह गरेका छन ।
वातावरणीय हिसावले नेपाल स्वर्गको टुक्रा हो । त्यसैले संसारमा वातावरणप्रेमीहरु नेपालको वातावरण संरक्षण गर्नुपर्नेमा निकै जोड दिन्छन । विश्वका ठुला ठुला वातावरणविद् होस वा संघ संस्थाहरु नेपालको वातावरणी विभिधता साथै जैविक विविधता देखेर मोहित हुन्छन । यहि बेला विश्वप्रसिद्ध अमेरिकी अभिनेता तथा फिल्म निर्माता लियोनार्डो विल्हेम डिक्याप्रियोले आफ्नो सामाजिक सन्जालमा नेपालको संरक्षणको मुद्दा किन उठाएका हुन । उनले एक पटक नेपाल भ्रमण गरी सकेका कारण पनि उनलाई नेपालको वातावरणीय विविधताले मनमोहक बनाएको थियो ।
नेपालको वातावारण र जैविक विविधतामा उनको कति ठुलो चासो रहेछ भन्ने कुरा उनको यो भनाईबाट प्रष्ट हुन्छ । यदि असाध्यै दुर्लभ क्षेत्र मासेर विश्वकै महत्वपुर्ण जैविक विविधता मासेर कञ्चनजंघा संरक्षण क्षेत्रभरि हाइड्रो माफियाहरुले कसरी ध्वस्त बनाएका होलान भन्ने सामान्य अनुमान लगाउन सकिन्छ । कंचनजंघाको संरक्षण क्षेत्रभित्र तमोर, घुन्सा, याङ्मा, सिम्बुवा र काबेली नदीमा १३ वटा भन्दा बढी हाइड्रो निर्माण प्रक्रियामा छन् । जुन नेपालको यस्तो संरक्षणा क्षेत्र हो, जहाँ विश्वबाट हराउँदै गएका वन्यजन्तु र र्दुलभ वनस्पतिहरु पाईन्छ । त्यहि मात्रै होईन कि जातीय हिसावले लिम्बुहरुको उद्गम बसोवास क्षेत्रमा बन्न लागेका त्यस्ता निर्माणाधिन संरचनाले त्यहाँ पाईने कालो भालु, हाब्रे, कस्तुरी मृग, हिउँ चितुवालगायत वन्यजन्तु पलायन हुने संभावना हुन्छ ।
संसारको आँखा परेको यस्तो संरक्षित क्षेत्रलाई सरकारले सरंक्षण गर्नुको साटो हाईडोपावर बनाउन अनुमति दिनु गंभीर विषय हो । स्थानीयको व्यापक विरोधका बावजुद पनि राजनीतिक र सरकारी कर्मचारीको संलग्नतामा भैरहेको हाईड्रोपावर र संरचना निर्माणलाई बेलैमा रोक्न सकेन भने अन्तर्राष्ट्रिय जगतमा नै नेपालको बदनामी हुने देखिन्छ । यस्ता दुर्लभ स्थानहरुको संरंक्षण गर्दै विश्व बजारमा पर्यटन प्रवद्र्धन गर्ने हो भने त्यसबाट एकातिर नेपालको वातावरण सरंक्षण हुने अर्कोतर्फ स्थानीय भाषा सस्कृतिको संरक्षण र मनग्गे आमदानी हुने निश्चित छ । लियोनाडो एक अमेरिकी अभिनेता र चलचित्र निर्माता हुन् । थुप्रै विश्वप्रशिद्ध अवार्ड जित्न सफल लियोनार्डो विश्वप्रख्यात फिल्म टाइटनिकका हिरो हुन । लियोनार्डो वातावरणको क्षेत्रमा काम गर्ने वातावरणप्रेमी पनि हुन ।
लियोनार्डो बाघ संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिलाई लिएर उनले देशको प्रशंसा गरेका छन् । एक पटक नेपाल भ्रमण गरेर बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्दै त्यहाँ बाघको तस्बिरसमेत खिचेका थिए । लियोनार्डोले जैविक विविधता संरक्षण, सागर र वन संरक्षण र जलवायु परिवर्तनको निकै सक्रिय छन । आफ्नै लियोनार्डो डिक्याप्रियो फाउन्डेसनले कमजोर पारिस्थितिक प्रणाली र प्रमुख प्रजातिहरूको संरक्षण गर्ने विश्वभरका ३५ भन्दा बढी नवीन संरक्षण परियोजनाहरूलाई सहयोग र समर्थन गर्दै आएका छन । उनको ईन्टाग्राममा ६१ दशमलव ८ मिलियन, फेसबुकमा १९ मिलियन र ट्वीटरमा पनि १८ दशमलव ९ मिलियन मानिसले फलो गरेका छन । पृथ्वीमा वातावरण जोगाएर मात्रै मानिसहरु जोगाउन सकिने भएकाले पहिले वातावरण जोगाउनुपर्नेमा जोड दिन्छन ।