४५ देखी ८० लाख सम्म तिरेर एमविविएस पास गर्यो, अस्पतालमा काम गर्न जाँदा महिनाको २५ हजार तलव हुन्छ । त्यो पनि भन्ने वित्तिकै पाईन्न । त्यो पैसाले खाजा खान नी पुग्दैन । कमाएर सापटी गरेको पैसा उठाउने कहिले ? त्यति मात्रै होईन, प्रशासनका मानिसको हामी डाक्टरहरुप्रति हेर्ने दृष्टिकोण यति तल्लो स्तरको हुन्छ की भन्न लायक पनि हुँदैन । कतिखेर कुटाई खानु पर्ने हो त्रासमा काम कसरी गर्ने । हामी पनि मान्छे हो नी मानौ हामीले नै मान्छे मारे जसरी अपराधिकरण गर्दै कुटपीट हुन्छ अनि कसरी काम गर्ने ? १५, १८ घण्टा काममा दलाउँछन अस्पतालले त्यहि डाक्टरको सेवाबाट दिनमा ५ लाख कमाउँछन तर हामी डाक्टरका लागि दिनको १ हजार दिन गाह्रो मान्छ ,अनि त्यस्तो देशमा बसेर न कामको मुल्यांकन छ नत पेशाको मर्यादा हुन्छ । यो बाक्यंश नेपाली डाक्टर जो एविविएस सकेर विदेश जाने तयारीमा रहेका बेला पोखेका वास्तविक गुनासो हो । उनले थपे ५० लाख खर्च गरेर पढे अब ३०, ४० लाख खर्च गरेर विदेश जान्छु यो म जस्ता हजारौ नेपाली डाक्टरको बाध्यता हो । सरकारी अस्पताल होस वा नीजि अस्पताल सबैतिर भनसुनको आधारमा डाक्टरको जागिर वा सुरुवा हुन्छ ।
न्ेपाली डाक्टरहरु किन सबै विदेश जान्छन भन्ने तथ्यांक देखिएपछि सरकारले गरेको एक अध्ययन अनुसार विदेश जान चाहने डाक्टरको संख्या सर्वेक्षणमा सहभागी सतप्रतिशत डाक्टरले विदेश जाने सोच सुनाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. टंकप्रसाद बाराकोटी संयोजकत्वको गठित समितिले गरेको सर्वेक्षणमा यस्तो अवस्था देखिएको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज मेडिकल क्याम्पसका सन् २०२२ मा एमबिबिएस उत्तीर्ण गरेकामध्ये ४३ विद्यार्थी सम्मिलित गरेर समितिले अध्ययन गरेको थियो । सर्वेक्षणमा सहभागी सतप्रतिशत विद्यार्थीले विदेश जाने सोच बनाएको जवाफ दिएका थिए । सर्वेक्षणमा ‘४३ मध्ये ४१ (९५ प्रतिशत)ले विदेशी परीक्षाका लागि दर्ता गरिसकेका थिए । बाँकी ४१ मध्ये पाँचजना सबै परीक्षा उत्तीर्ण गरी म्याचिङको प्रक्रियामा र ३१ जनाले परीक्षा दिँदै गरेका अवस्था देखियो । अधिंकाश चिकित्सक अमेरिकाको मेडिकल लाइसेन्स परीक्षा (यूएसएमएलई) गर्ने सोचमा रहेको अधययनले देखाएको डा. बाराकोटीले बताएका छन ।
अध्ययनको निस्कर्षमा डाक्टरहरुले देश छोड्ने कारण न्यून तलब र सुविधा, अध्ययन–अनुसन्धान र वृत्ति विकासको संभावना न्यून, अस्पताल रातारात कमाउने तर डाक्टरलाई न्यून तलबमा काम लगाउने र श्रम शोषणा भईरहेको, स्वास्थ्य संस्थामा घटिरहने हिंसाका घटना, जस्ता कारणले चिकित्सक नेपालमा काम गर्न नसक्ने औंल्याइएको छ ।
चिकित्सा शिक्षा आयोगका अनुसार नेपालमा बर्सेनि करिब दुई हजार ५०० हाराहारीले एमबीबीएस पूरा गर्छन् । तीमध्ये एक हजारदेखि १५ सय हाराहारी राम्रो अवसरको खोजीमा विदेश पुग्छन् । सरकार होस वा स्वास्थ्यमन्त्रीले चिकित्सक दुर्गम जान मान्दैनन्, जिल्ला जान मान्दैनन भनेर भाषण मात्र गर्छन्, तर देशभित्रै टिकाइराख्न कुनै नीति बनाउँदैनन् ।
सन् २०२३ मा दुई हजार ३१८, जना, सन् २०२२ मा एक हजार ९५४, जना, २०२१ मा एक हजार ३२७ र सन् २०२० मा ८६९ जनाले ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएका छन् । लिएका थिए । नेपालमा दर्ता रहेका चिकित्सकले विदेशमा अध्ययन वा काम गर्नका लागि नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिनुपर्छ । यो अवस्था हेर्दा बर्षेनी डाक्टरहरु विदेसिने क्रम बढी रहेको छ ।
यसरी प्रमाणपत्र लिनेमध्ये सबैभन्दा बढी बेलायत जाने प्रक्रियामा लाग्ने चिकित्सक छन् । पछिल्लो चार वर्षमा एक हजार ५७८ जनाले बेलायत जान प्रमाणपत्र लिएका छन् । सन् २०२० मा १६२ जना, सन् २०२१ मा ३१९ जना, सन् २०२२ मा ५९२ जना र सन् २०२३ मा ५०५ जनाले बेलायत जान प्रमाणपत्र लिएको काउन्सिलको तथ्यांक छ ।
अमेरिका जाने प्रक्रियामा लाग्ने चिकित्सकको संख्या पनि डरलाग्दो छ । पछिल्लो चार वर्षमा एक हजार ८८८ जनाले अमेरिका जान प्रमाणपत्र लिएका छन् । जसमा सन् २०२० मा २७६ जना, सन् २०२१ मा २७३ जना, सन् २०२२ मा ४९६ जना र सन् २०२३ मा ८४३ जना रहेका छन् ।
यस्तै, माल्दिभ्स जान सन् २०२० मा २१६ जना, सन् २०२१ मा ४०३ जना, सन् २०२२ मा ४५३ जना र सन् २०२३ मा ३९५ जनाले प्रमाणपत्र लिएका छन् । अस्ट्रेलिया, यूएई, क्यानडा र कतार जाने चिकित्सकको संख्या पनि बढ्दै गएको तथ्यांकले देखाउँछ ।
यसरी चार वर्षको अवधिमा विदेश जाने प्रक्रियामा लाग्ने चिकित्सकको संख्या २.६७ गुणाले बढेको देखिन्छ । नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. विश्व दवाडी नेपाली चिकित्सक विदेश जाने क्रम भयावह रूपमा बढिरहेको बताउँछन् । विदेशी नियामक निकायमा दर्ता हुन आवश्यक पर्ने गुड स्ट्यान्डिङ सर्टिफिकेट लिएका सबै व्यक्ति विदेश नै जान्छन् भन्ने चाहिँ हुँदैन । विदेशमा सहुलियत ऋण, अध्ययन गर्न छात्रवृत्ति, छोरा–छोरीको शिक्षादेखि स्वास्थ्य निःशुल्क हुने हुँदा डाक्टर आकर्षित भएका हुन ।
नेपालमा चिकित्सक बन्न स्नातक तहमा पाँच वर्ष ६ महिना अध्ययन गर्नुपर्छ । त्यसपछि स्नातकोत्तर तहका लागि तीन वर्ष डिएम/एमचिएच तहका लागि तीन–तीन वर्ष अध्ययन गर्नुपर्छ । स्नातक तहभन्दा माथि अध्ययन गर्न चाहिने कार्य अनुभवको कारण अध्ययन पूरा गर्दा नै धेरै चिकित्सक उमेर ४० वर्ष लागेको हुन्छ । नेपाली चिकित्सकको आधाभन्दा धेरै जीवन अध्ययनमै बित्ने गर्छ ।
तर, जीवनको १२/१५ वर्ष र करोड रुपैयाँ खर्चेर पढेका चिकित्सकले जागिरको राम्रो अवसर नहुने, सेवा सविधा निकै कम हुँदा उनीहरूको आकर्षण नै विदेश बन्न जान्छ । देशमा आर्थिक, राजनैतिक र सामाजिक परिवेश डामाडोल छ । विशेष गरेर चिकित्सकमा नैराश्य छाएको कारण यो परिस्थिति आएको हो ।
‘अमेरिका, अस्ट्रेलिया, यूएई, क्यानडा र कतारमा नेपालमा भन्दा १० गुणा बढी पारिश्रमिक पाइन्छ,’ ती चिकित्सक भन्छन्, ‘लाखौं खर्च गरेर पढेँ, तर जागिर पाउने मुस्किल भएपछि विदेश जाने योजना बनाएको प्राय सबैको एउटै धारणा छ । नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकको संख्या ३४ हजार ९१० छ, जसमा १० हजार ५८८ विशेषज्ञ छन् ।
नेपालमा कति डाक्टर छन् ?
नेपाल चिकित्सक संघले २०७२ सालमा गरेको अध्ययनमा करिब ३६ प्रतिशत चिकित्सक देशबाहिर थिए । त्यसबेला काउन्सिलमा १७ हजार दर्ता भएका चिकित्सकमध्ये करिब ११ हजार मात्रै देशमा थिए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीका अनुसार राज्यले स्वास्थ्यको जनशक्ति थप गर्नमा नजरअन्दाज गरिरहेको, अधिंकाश चिकित्सक असुरक्षित भएर भविष्यको डरले विदेश जाने क्रम उत्पन्न भइरहेको बताउँछन् । ३० वर्षअघि १ हजार ४०० हाराहारी रहेका सरकारी चिकित्सक संख्या अहिलेसम्म थपिएको छैन । निजी स्वास्थ्य संस्थाहरूमा शुल्क चर्को भए पनि त्यसअनुसार जनशक्ति छैन ।
‘एमबीबीएस मात्रै पढेको ४८ लाख शुल्क छ । अर्कोतर्फ सरकारी तर्फ ४८ हजार मात्रै तलब छ । निजीमा त श्रमशोषण भइरहँदा पनि काम गरिरहेका छन तर सुन्दा पेशा मर्यादित तर तलव सुविधा र काम भने असुरक्षित र जनजीवीका धान्न मुस्किल बन्दै गएको छ । जसका कारण डाक्टरहरु नेपालमा जति उत्पादन हुन्छन ८० प्रतिशत नेपाल बाहिर जान्छन ।