पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले गणतन्त्र पोर्चुगलका महामहिम राष्ट्रपति मार्सेलो रेबोलो दि सौसा सामु ३१ मार्च, राष्ट्रपति कार्यालय बेलेम प्यालेसमा भएको औपचारिक समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ ।
लामो समयपछि यहाँ नेपाली दूतावास स्थापना भएपछि पोर्चुगलवासी नेपाली उत्साहित भएका छन् । दूतावास नहुँदा लामो समयदेखि राहदानीसहित कागजातसम्बन्धी समस्या भोग्दै आएका पोर्चुगलवासी नेपालीले अन्ततः दूतावास स्थापना भएसँगै सहज हुनेछ ।
दूतावास स्थापना भएपछि कागजात प्रमाणीकरण र राहदानी बनाउन स्पेन, फ्रान्सलगायत नेपाली दूतावास रहेका अन्य मुलुक जानुपर्ने बाध्यता अन्त्य भएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ६० हजारको हाराहारीमा रहेका दूतावासले अनुमान गरेको छ ।
यसअघि पटक–पटक फ्रान्सस्थित नेपाली दूतावासको टोली र राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आएर घुम्ती सेवामार्फत् पोर्चुगलवासी नेपालीलाई सेवा प्रदान गर्दै आएको थियो ।
सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिरमा उहाँलाई पोर्चुगलका लागि राजदूत नियुक्त गरेका थिए ।