नेपाली आप्रवासनका क्रममा विश्वका १ सय १४ देशमा रहेको विभिन्न तथ्यांकहरुले भनिरहँदा जति धेरै प्रवासमा छन, उत्तिकै संख्यामा समस्याहरु बढेर गएका छन । एक तथ्यांकले देखाए अनुसार प्रत्येक दिन ४ जना नेपाली विभिन्न देशबाट डिर्पोर्ट भएर नेपाल फर्किएका रहेका छन । अध्यागमन विभागको तथ्याङ्कअनुसार औसतमा प्रत्येक दिन तीन जनाभन्दा धेरै र हरेक महिना एक सय जनाको हाराहारीमा नेपालीहरू विभिन्न देशबाट निष्काशित भएर नेपाल फर्किरहेका छन् । यो वर्ष नोभेम्बर २२ सम्मको तथ्याङ्कअनुसार डिपोर्ट भएर स्वदेश फर्काइएका नेपाली नागरिकको संख्या एक हजार १ सय ६२ जना पुगेको छ । यो वर्ष सबैभन्दा धेरै नेपाली यूएईबाट निष्काशनमा परेका छन् । त्यसपछि क्रमशः मलेशिया र कतारबाट निष्काशित हुने नेपालीको सख््या बढी रहेको बताइएको छ ।
त्यसै गरी विगत चार वर्षको अवधिमा अमेरिकाबाट एक सय १४ नेपाली नागरिकहरू निष्काशनमा परेर नेपाल फिर्ता भएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२४ मा अहिलेसम्म ३३ जनालाई अमेरिकाले त्यसरी नेपाल फर्काएको छ । तीमध्ये आठ जना एकै खेपमा नेपाल आएका पुगेको प्रहरी जनाएको छ । अमेरिकाबाट गत वर्ष २४ जना, सन् २०२२ मा २२ र २०२१ मा ३५ नेपाली निष्काशनमा परेका थिए । अमेरिकाले देशनिकालाको आदेश गरे पछि पनि झण्डै साँढे १४ लाख आप्रवासीहरु अमेरिकामा नै रहेको एक तथ्यांकले जनाएको छ । ती मध्ये १३ सय ६५ जना नेपालीहरु रहेको अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसलले सार्वजनिक गरेको छ । ती व्यक्तिहरु हिराशतमा राखेको छैन तर उनिहरु आगामी ट्रम्प प्रशासन आइसकेपछि देशनिकालाको मुख्य प्राथमिकतामा रहेकाहरु हुन् । ट्रम्पले भनेका छन कि सबै भन्दा पहिले उनिहरु देशबाट निकालिने छन । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुसार अहिलेसम्ममा नेपालीहरु ३ हजार ४ सय ४९ जनालाई देशनिकालाको आदेश दिइएको छ ।
विश्वका विभिन्न मुलुकबाट देशनिकालामा परेर फर्किने नेपालीहरूमा वैदेशिक रोजगारी र अध्ययनमा गएका युवादेखि प्रदेशका बहालवाला मन्त्रीसम्म मुछिएका छन । केही साताअघि कोशी प्रदेशका कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई जापानले विमानस्थलबाटै नेपाल फिर्ता पठाइदिएको थियो ।अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार यूएईबाट २ सय ७० जना, मलेशियाबाट ८८ जना र कतारबाट ६४ जना देशनिकालामा परेर नेपाल फिर्ता भएको विविसि संग बताएका छन ।
विगत पाँच वर्षको तथ्याङ्कअनुसार सन् २०२३ मा सर्वाधिक सङ्ख्यामा नेपाली नागरिकहरू निष्काशित भएर फर्किएका थिए । २०२३ मा सो वर्ष एक हजार ४ सय ४३ जना डिपोर्ट भएर नेपाल फर्काइएका थिए । त्यसअघि सन् २०२२ मा एक हजार १ सय ६७ जना र २०२१ मा ८ सय ८० जना डिपोर्ट भएर नेपाल फर्काइएका थिए । प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका प्रवक्ता भावेश रिमालका अनुसार अमेरिकाबाट डिपोर्ट भएर आउनेमध्ये अधिकांश गैरकानुनी बाटो मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेहरू रहेका छन ।