Newyork Time 04:42 pm
September 8, 2024, Sunday
२०८१ भाद्र २४

प्रधानमन्त्रि हसिनाले देश छाडेर भागेपछि बंगलादेशमा सैनिक शासन शुरु, व्यापक लुटपाट र तोडफोड

२०८१ श्रावण २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

245

बंगलादेशमा सैनिक “कु” भए पश्चात प्रधानसेनापति वाकर उज-जमानले देशको शासन व्यवस्थामा परिवर्तनको घोषणा गरेका छन्। देशवासीका नाममा जारी सन्देशमा उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको र अन्तरिम सरकार गठन हुने जानकारी दिएका हुन् “हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ। हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ। हामीलाई विश्वास गर्नुहोस्,” उनले भने। सरकारी जागिरमा आरक्षणको खारेजीको माग गर्दै विद्यार्थीहरूको आन्दोलन चर्किएपछि शेख हसिनाले सोमबार देश छाडेकी थिइन्। प्रधानसेनापतिले देशवासीलाई धैर्य गर्न आग्रह गरेका छन्।

सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट ढाकामा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो। सेनाप्रमुखले हसिनाले देश छाडेपछि देशवासीलाई सेनालाई विश्वास गर्न आग्रह गरेका छन्। ठूलो धनजनको क्षति भएको भन्दै उनले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेका छन्। सेनाप्रमुखले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको र आजसम्म एउटा “समाधान निस्किने” अपेक्षा व्यक्त गरेका छन्। यद्यपि, कसले अन्तरिम सरकारको नेतृत्व गर्छ भन्ने स्पष्ट हुन बाँकी छ।

ढाकामा व्यापक लुटपाट र तोडफोड

उता राजधानी ढाकामा व्यापक लुटपाट र तोडफोड भएका छन्। प्रदर्शनकारीहरूले गृहमन्त्री असदुज्जामान खानको धनमण्डीस्थित निवासमा तोडफोड गरेका छन्। बीबीसी बगंलाका अनुसार, प्रदर्शनकारीहरूले मुख्य गेट तोडेर भवनमा प्रवेश गरेपछि घरबाट धुँवा निस्किएको थियो। प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा पनि लुटपाट भएको छ। प्रदर्शनकारीहरूले शेख हसिनाको कार्यालयबाट फर्निचर बोकेर लगेका छन्। एक प्रदर्शनकारीले बीबीसीलाई भने अनुसार, पूर्वप्रधानमन्त्री शेख हसिनाका पिता तथा स्वतन्त्रता संग्रामका नेता शेख मुजीबुर रहमानको मूर्ति पनि क्षतिग्रस्त गरिएको छ।

शेख मुजीबुर रहमानको स्मृति संग्रहालयमा समेत आगजनी भएको छ। उनलाई १९७५ मा राष्ट्रपतिका रूपमा सेवामा रहेका बेला हत्या गरिएको थियो। पूर्वी शहर सिल्हेटमा पनि उपयुक्त आयुक्त र प्रहरी अधीक्षकको कार्यालयमा आगजनी गरिएको छ भने केही पार्षदहरूको घरमा आक्रमण भएको छ।

प्रदर्शनकारीले शेख मुजीबुर रहमानको मूर्ति ढाले

एक प्रदर्शनकारीले बीबीसीलाई बताए अनुसार गणभवनमा शेख मुजीबुर रहमानको मूर्ति ढालिएको छ। उनी शेख हसिनाका पिता र स्वतन्त्रता आन्दोलनका नेता हुन्। सो क्षेत्रमा छाडिएका केही मन्त्रीहरूको निजी गाडीहरूलाई पनि भिडले क्षति पुर्याइरहेको छ भने केही मानिसहरू बख्तरबन्द सवारी साधनमा चढिरहेका छन्।

प्रधानमन्त्रीको निवासमा लुटपाट

ढाकामा प्रधानमन्त्री शेख हसिनाको आधिकारिक निवासमा लुटपाट भइरहेको फुटेज बाहिर आएको छ। केही प्रदर्शनकारीहरू गणभवनबाट कुर्सी र सोफा बोकेर हिँडेको देख्न सकिन्छ।