सीमा सुरक्षामा कडाई गरेसंगै मेक्सिकोबाट अमेरिका आउनेको संख्यामा आधा भन्दा बढी घटेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । एकातिर सीमामा कडाई गरेको छ भने अर्कोतर्फ विभिन्न अभियोगमा रहेकाहरुलाई डिर्पोट गर्ने प्रक्रिया पनि उत्तिकै तिव्र गतिमा बढाएको जनाइएको छ । चुनावी बर्ष भएकोले पनि आप्रवासनमा कडाई भएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाइलम प्रतिबन्धबारे नयाँ नीति सार्वजनिक भएसंगै विनाभिसा अमेरिका आउन खोज्नेको संख्यामा ४० प्रतिशत कमी आएको जनाएको छ । अमेरिका आउने मुख्या बाटो मेक्सिको सीमामा बाइडेनको कार्यकारी आदेश लागु भएको तीनहप्तामा आप्रवासीहरु गिरफ्तारी दर निकै घटेर गएको जनाएको एपी समाचार संस्थाले जनाएको छ ।
जसरी सिमामा कडाई गरिएको छ त्यसैगरी विभिन्न बाहानामा अमेरिका आएकाहरुको डिर्पोट गर्ने ढडानहरु पनि सक्रिय गराइएको छ । जस अनुसार होमल्याण्ड सेक्यूरिटीले दुई हप्ताको बीचमा २० भन्दा बढी देशहरूमा एक सय भन्दा बढी डिपोर्टेशन उडानहरूमा २४ हजार मानिसहरूलाई फिर्ता गरेको जनाएको छ । यो सख्या विगतको महिनाहरुमा भन्दा बढी हो । सरकारले सीमा गस्ती हिरासतबाट फिर्ता पठाउने गैरनागरिकहरूको प्रतिशत दोब्बर बनाएको जनाइएको छ ।
नोभेम्बर ५ को चुनाव नजिकिंदै गर्दा आप्रवासन कसरी कडाई गर्ने भन्नेमा उम्मेदवारहरुबीच होडबाजी नै चलेको छ । राष्टैपतिय चुनावमा अमेरिकामा आप्रवासन व्यवस्थापन मुद्दा संधै झै यसपाला पनि प्रमुख चुनावी मुद्दा बनाइएको छ । वर्तमान राष्ट्रपति जो बाईडेनको पालामा ईतिहासमा नै धेरै अबैध मानिसहरु अमेरिकामा सीमाबाट प्रबेश गरेको तथ्यांक सार्वजनिक भएको छ । जसका कारण बाईडेन पनि अबैध आप्रवासन घटाउने पक्षमा कम्मरकसेर लागेका छन ।