May 15, 2025, Thursday
२०८२ जेष्ठ २
नेपालसहित विश्वका १ सय ७६ प्रभावित

यूएसएआईडीको ४५ अरबभन्दा बढी रकमको अमेरिकी सहायता नेपालमा स्थगित !

२०८१ फाल्गुन २९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

550

नेपालमा अमेरिकी अनुदानमा ८० प्रतिशत कार्यक्रम खारेज भएको अमेरिकी विदश मन्त्रालयले जनाएको छ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत नेपालमा सञ्चालित ३२ करोड ४९ लाख २९ हजार ५ सय १६ अमेरिकी डलर बराबरको कार्यक्रम खारेज भएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले घोषणा गरेका हुन ।
अमेरिकी स्वार्थविपरीत दसौं अर्ब डलर खर्च हुने गरेकाले कार्यक्रम रद्द गरिएको रुबियोले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् । ६ सातामा वैदेशिक सहायता कार्यक्रमको समीक्षा पूरा भएको र विश्वभरका ६ हजार २ सयमध्ये ५ हजार २ सय कार्यक्रम रद्द गरिएको उनको बताइएको छ । बाँकी कार्यक्रमबारे अझै पनि समीक्षा भईरहेको बताइएको छ ।
विदेशमन्त्री रुबियोले लेखेका छन् ‘हाल रद्द गरिएका ५ हजार २ सय सम्झौताबाट दसौं अर्ब डलर खर्च भयो, जसले अमेरिकाको मुख्य राष्ट्रिय हितलाई कुनै फाईदा नपुगेको उल्लेख छ । विदेश मन्त्रालयले रद्द गरेका ५ हजार २ सय कार्यक्रमका लागि भने यसअघि नै अमेरिकी कंग्रेसले बजेट विनियोजन गरेको थियो । बाँकी एक हजार सम्झौता विदेश मन्त्रालयद्वारा अझ प्रभावकारी रूपमा अनुगमन हुने रुबियोको भनाइ छ । त्यसका लागि कंग्रेससँग परामर्श गरिने उनले जनाएका छन् ।
नेपालमा पूर्वाधारसम्बन्धी कार्यक्रमका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत एमसीए नेपाल परियोजना सञ्चालनमा छ । तर अहिले यो कार्यक्रम भने स्थगित गरिएको छ । अमेरिकी सहयोग उपयोग सम्बन्धमा अर्थ मन्त्रालय र अमेरिकी सहयोग नियोग (यूएसएआईडी) बीच पाँचवर्षे रणनीतिमा सम्झौता हुँदै आएको छ । यसरी आउने अनुदानमध्ये सबैभन्दा बढी रकम गैरबजेटरी कार्यक्रममा परेको छ । बजेटमा समावेश हुने गरी अमेरिकी अनुदानका कार्यक्रम नेपालमा निकै कम छन् । नेपालमा सन्चालित कुन कार्यक्रम स्थगित भएको विस्तृत विरण भने उल्लेख गरिएको छैन ।

३ नोभेम्बर १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले स्थापना गरेको यूएसएआईडीले १ सय ७६ भन्दा बढी देशमा काम गर्दै आएको छ । यसले खासगरी विश्वव्यापी विकास, मानवीय सहायता र प्रजातान्त्रिक शासन प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ । अमेरिकाले ‘रक्षा, कूटनीति र विकास शीर्षकमा क्रमशः रक्षा मन्त्रालय, विदेश मन्त्रालय र यूएसएआईडीमार्फत राष्ट्रिय सुरक्षा स्वार्थपूर्तिका लागि विश्व समुदायसँग सहकार्य गर्दै आएको थियो ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ मा प्रदान गरिएका मानवीय सहायतामध्ये ४२ प्रतिशत यूएसएआईडीले प्रदान गरेको थियो । अमेरिकाले २०२३ मा यूएसएआईडीले १ सय ७६ देशलाई ६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्रदान गरेको थियो । उक्त रकममध्ये ८८ प्रतिशत आर्थिक सहयोग र १२ प्रतिशत सैन्य सहयोग रहेको ‘फरेन एसिस्टेन्स डट जीओभी’को तथ्यांक छ । युक्रेन, जोर्डन, इजरायल, इजिप्ट, इथियोपिया, सोमालिया, नाइजेरिया, कंगो, अफगानिस्तान र केन्या यूएसएआईडीबाट अनुदान पाउने शीर्ष १० स्थानमा छन् ।