Newyork Time 01:45 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

नेपालमा ग्रिन हाइड्रोजन उत्पादन सुरु

२०८० चैत्र २०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

385

नेपालमा पहिलोपटक शतप्रतिशत स्वच्छ ऊर्जा अर्थात् ग्रिन हाइड्रोजन उत्पादन सुरु भएको छ । काठमाडौं विश्वविद्यालय (केयू)को ग्रिन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलस्थित स्टेसनबाट आइतबारदेखि ग्रिन हाइड्रोजन उत्पादन भएको हो ।

उत्पादनसँगै स्टेसनबाट ग्रिन हाइड्रोजनको भण्डारण र रिफ्युलिङ (हाइड्रोजन गाडीमा हाल्ने)समेत गर्न सकिन्छ । केयूले आइतबार नै उक्त प्लान्टबाट आफ्नै हाइड्रोजन गाडीमा ग्रिन हाइड्रोजन रिफ्युलिङसमेत गरेको छ । केयूले ‘उत्पादन–भण्डारण–वितरण’ मोडेलमा यो परियोजना बनाएको छ, जसको प्राविधिक नाम ‘अन साइट ग्रिन हाइड्रोजन प्रडक्सन एन्ड रिफ्युलिङ’ हो । यस स्टेसनमा हाइड्रोजनलाई सात दिनसम्म भण्डारण गर्न सकिनेछ । केयू हाइड्रोजन ल्याबका प्रमुख प्रा.डा. विराजसिंह थापाले हाइड्रोजनको उत्पादन, भण्डारण र वितरणको परीक्षण सफल भएको बताए । यसले नेपालमा हाइड्रोजन उत्पादनको सम्भाव्यतालाई व्यावहारिक रूपमै पुष्टि गरेको उनको भनाइ छ ।

केयूले आफ्नै प्रविधिमा यो प्लान्ट बनाएको हो । केयूले स्टेसनको डिजाइन गरेर कोरियाको लाइट ब्रिज कम्पनी उपकरण बनाउन आग्रह गरेको थियो, त्यसकै आधारमा कोरियन कम्पनीले यसका लागि आवश्यक पर्ने उपकरण तयार गरेको प्रा.डा. थापाले बताए । करिब डेढ करोड लगानीमा स्टेसन तयार गरिएको उनको भनाइ छ ।

केयूले अनुसन्धानका लागि आफ्नै आधारभूत डिजाइनको हाइड्रोजन कार गत मंसिरमा कोरियाबाट ल्याएको थियो । केयूकै डिजाइनमा कोरियाको हुन्डाई कम्पनीले उक्त कार बनाएको थियो । ३३ हजार डलरमा केयूले त्यो गाडी ल्याएको थियो । अनुसन्धान प्रयोजनका लागि भएर यसमा पनि भन्सार राजस्वलगायत करमा छुट दिइएको थियो ।