January 15, 2025, Wednesday
२०८१ माघ ३

जिमी कार्टरले ४७ वर्षअघि राजा वीरेन्द्रलाई लेखेको पत्र

२०८१ पुष २२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

95

२१ पुस, काठमाडौं । अमेरिकाका ३९औं राष्ट्रपति (१९७७-१९८१) जिमी कार्टरको एकसाता अघि १०० वर्षको उमेरमा निधन भयो । द्वन्द्व व्यवस्थापन र मानवअधिकार रक्षाका लागि खेलेको भूमिकाका लागि कार्टरले सन् २००२ मा नोबेल शान्ति पुरस्कार समेत पाएका थिए ।

नेपालमा माओवादी सशस्त्र संघर्षमा रहेका बेला उनले कार्टर सेन्टरमार्फत यहाँका नेताहरुलाई ‘हाउ टु नेगोसिएट ?’ भन्ने विषयमा सिकाउन अमेरिकामा समेत आमन्त्रण गरेका थिए । माओवादीसँग पटकपटक भएको वार्ताको पहलले सकारात्मक नतिजा नल्याइरहेको स्थितिमा नेपाली नेताहरु अमेरिका पुगेका थिए ।

कार्टरको निधनसँगै उनलाई नेपालको शान्ति प्रक्रियाका एक सहयोगीका रुपमा व्याख्या गरियो । यद्यपि, उनले झण्डै पाँच दशकअघि नेपाली कांग्रेसका संस्थापक एवं बिपी कोइराला पक्राउ परेका बेला चासो राख्दै तत्कालीन राजालाई वीरेन्द्रलाई समेत पत्र लेखेका थिए ।

नेपालमा कोइराला पक्राउ परेका बेला उनलाई घाँटीको क्यान्सर भएको थियो र उपचारका लागि संयुक्तराज्य अमेरिका गएका थिए ।

त्यसबेला कार्टरले १९७८ फेब्रुअरी १ मा लेखेको पत्रमा भनिएको छ, ‘राजदूत हेकले हालैको भेटमा तपाईंलाई भनेका थिए कि धेरै अमेरिकीहरुले विपी कोइरालाको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उहाँलाई गएको गर्मीयाममा उपचारका लागि अमेरिका पठाउनलाई छाड्ने निर्णय ठूलो मानवताको एउटा कदम थियो ।’

जिमी कार्टर भन्थे– समावेशिता भए नेपालमा शान्ति हुन्छ

प्रस्तुत छ, अमेरिकाको डिपार्टमेन्ट अफ स्टेन्ट अन्तरगत अफिस अफ हिस्टोरियनको वेवसाइटमा उपलब्ध पत्रको नेपाली अनुवाद

वाशिङटन, फेब्रुअरी १, १९७८

विषयः नेपालका राजालाई राष्ट्रपति कार्टरको पत्र ।

महामहिम,

मलाई दुःख छ कि मैले हालै गरेको यात्राका क्रममा दक्षिण एसियाका अरु राष्ट्रहरुमा भ्रमण गर्न पर्याप्त समय निकाल्न सकिनँ । यद्यपि, क्षेत्रीय शान्तिप्रति तपाईंको आशाप्रति म पूर्ण जानकार छु र तपाईंलाई आश्वस्त पार्न चाहन्छु दिल्लीमा भएको छलफलका क्रममा पनि ती विषयहरु मेरो मनमा थिए ।

मेरो यात्रा, जसको बारेमा राजदूत हेकले तपाईंलाई जानकारी गराएका छन्, त्यो संयुक्त राज्य अमेरिकाले भारतलाई दिएको महत्वको संकेत मात्र नभइ सम्पूर्ण क्षेत्रप्रति हाम्रो चासोलाई पुष्टि गर्ने उद्देश्यले गरिएको थियो ।

दक्षिण एसियाको एउटा देशको भ्रमण गरेका बेला यस क्षेत्रका सबै देशहरुले आफ्ना समस्यालाई शान्तिपूर्ण रुपमा समाधान गर्ने, क्षेत्रीय स्थितरता बढाउने, विकासलाई प्रबद्र्धन गर्ने काम गरेको देखेर म प्रभावित छु ।

मैले नेपालले छिमेकीसँगको स्म्बन्धलाई राम्रो बनाउन खेलेको भूमिकालाई नोट गरेको छु र क्षेत्रीय शान्ति, स्थायित्वका लागि यहाँ महामहिमज्यूको सरकारले गर्दै आएको योगदानको प्रशंसा गर्दछु ।

म विश्वास गर्छु कि क्षेत्रीय सहकार्यका लागि सबैभन्दा आशाजनक कदम भनेको मुलुकहरुले जलस्रोतको परिचालनतर्फ दिएको ध्यान हो । अझ म विशेष रुपमा तपाईंले कोलम्बो योजना परामर्श समितिको उद्घाटन सम्बोधनमा गरेका प्रस्ताव गरेका पहलहरुप्रति रुचि राख्छु ।

परस्पर निर्भरताको माध्यमबाट स्वतन्त्रता भन्ने तपाईंको भनाइलाई जोड दिने संयुक्त परियोजनामा सहभागी हुने तपाईंको प्रतिबद्धताप्रति अझ रुचि छ । तपाईंलाई थाहै छ, प्रधानमन्त्री कालाहान (बेलायतका पूर्वप्रधानमन्त्री) र मैले पनि यो विषयलाई हाम्रो भ्रमणका क्रममा दोहोर्‍याएका थियौं ।

मेरो प्रशासन नेपाल जस्तो सबैभन्दा धेरै आवश्यता भएका देशहरुलाई विकास सहयोग प्रदान गर्न प्रतिबद्ध छ । र, म एआईडी (यूएएआईडी) र पिस कोरमार्फत हाम्रो सहकार्यलाई निरन्तरता र विस्तार गर्न चाहन्छु ।

संयुक्त राज्य अमेरिका लागूऔषध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिने विषयमा चासो राख्दछ । हामीले सबै किसिमको लागूऔषध अवैध तस्करी र उत्पादनको विषयमा नेपालले प्रभावकारी कदम चाल्छ भन्ने तपाईंको प्रतिबद्धतालाई स्वागत गरेका छौं । विशेष गरी अफिम उत्पादन हुन नदिने भन्ने नेपालको प्रतिद्धताको स्वागत गर्दछौं ।

राजदूत हेकले हालैको भेटमा तपाईंलाई भनेका थिए कि धेरै अमेरिकीहरुले विपी कोइरालाको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उहाँलाई गएको गर्मी याममा उपचारका लागि अमेरिका पठाउनलाई छाड्ने निर्णय ठूलो मानवताको एउटा कदम थियो ।

मैले बुझेको छु कि उहाँको शल्यक्रियामा संलग्न अमेरिकी चिकित्सकहरुले केही महिनाभित्र कोइरालालाई थप परीक्षण गर्नुपर्ने भनेका छन् । यद्यपि, म विश्वस्त छु कि नेपाली चिकित्सकहरुले कोइरालालाई उत्कृष्ट चिकित्सा सेवा प्रदान गर्न जारी राख्नेछन् ।

तपाईंको देशको राजनीतिक वा कानूनी प्रक्रियामा हस्तक्षेप गर्ने मेरो कुनै नियत छैन । र, म राजदूत हेकसँग यसबारे कुराकानी गर्दा देखाएको शिष्टताको कदर गर्दछु । म कोइराला सम्बन्धी विषयलाई फेरि उल्लेख गर्दैछु – ताकि हाम्रो राम्रो सम्बन्धमा कुनै सम्भावित जटिलता नआओस् र विगतमा तपाईंले देखाएको स्नेह र राजनीतिक दृष्टिकोणको सम्मानप्रति ।

म संयुक्त राज्य अमेरिकाको विश्व शान्ति र सहकार्यमा प्रतिबद्धता फेरि दोहोर्‍याउन चाहन्छु र दुई देशका जनताहरुबीचको मित्रतालाई सुदृढ बनाइराख्ने कुरामा निरन्तर चासो रहेको उल्लेख गर्न चाहन्छु ।

–जिमी कार्टर