May 15, 2025, Thursday
२०८२ जेष्ठ २

पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप छ:  प्रा. सूर्य सुवेदी

२०८१ फाल्गुन २८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

420

लन्डन — बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका  प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले  पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप रहेको जनाएका छन् ।

आफ्नो सम्मानमा  बेलायतको म्यानचेस्टर विश्वविद्यालयले आयोजना गरेको एक सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ” शान्तिका अग्रदूत गौतम बुद्धको समयमा नै एक किसिमको संसदीय अभ्यास प्रचलनमा थियो र हिन्दु र बुद्ध धर्मका ग्रन्थहरूमा मानिसको व्यक्तिगत स्वतन्त्रताको सम्मान गरिएको उल्लेख छ ।  प्राचीन समयमा पूर्वीय सभ्यता पाश्चात्य सभ्यता भन्दा निकै अगाडी रहेको थियो र पूर्वीय दर्शनका केही मूल्य र मान्यताहरूले पाश्चात्य दर्शनलाई प्रभावित गरेको थियो।  त्यसैले पूर्वीय सभ्यता र पाश्चात्य सभ्यतामा कुन राम्रो हो भन्ने बहसमा लाग्नु भन्दा दुवै  सभ्यताका राम्रा कुरा समावेश गरी एउटा सिङ्गो मानव  सभ्यता विकास गर्दै लान सकिए संसारमा सबैको भलो हुनेछ,” उनले भने ।

बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा लब्ध–प्रतिष्ठित प्राध्यापकहरूले आफ्नो विधामा जीवनभर दिएको उत्कृष्ट योगदानको कदर गर्दै त्यस्ता प्राध्यापकको सम्मानमा एक ग्रन्थ प्रकाशन र सम्मेलन गर्ने परम्परा छ । बेलायतको प्राज्ञिक क्षेत्रमा यो एक असाधारण र विरलै रूपमा गरिने सम्मान मानिन्छ ।  त्यसलाई परम्परागत अङ्ग्रेजी भाषामा फेस्श्रीफ्ट (Festschrift) भन्ने गरिएको छ । यस्तो सम्मेलनमा ती प्राध्यापकको सुपरिवेक्षणमा विद्यावारिधि गरेका संसारभर छरिएका प्राज्ञिक सन्ततिहरू र सहकर्मी प्राध्यापकहरू जम्मा भई उनलाई सामूहिक सम्मान गर्ने, उक्त ग्रन्थ समर्पण गर्ने, प्रवचन राख्ने र रात्रि भोजको आयोजना गर्ने प्रचलन छ।

यसै परम्परा अनुसार प्रा सुवेदीको सम्मानमा म्यानचेस्टर विश्वविद्यालयमा आयोजना गरिएको एक समारोहमा बेलायतका दुई महिला प्राध्यापक डा लुइसा आश्ली र डा निकी बटलरले प्रकाशन गरेको ‘अन्तर्राष्ट्रिय रूपमा मानव अधिकार कार्यान्वयनमा देखिएका समस्या र तिनको समाधान’ पुस्तक उनीहरूले प्रा सुवेदीलाई अर्पण गरे।  त्यसपछि उक्त ग्रन्थ लीड्स विश्वविद्यालयका भूतपूर्व डीन प्राध्यापक स्टेफेन व्हिटलीले लोकार्पण गरेका थिए।  त्यसपछि  प्राध्यापक सुवेदीले मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनमा दिएको योगदानको बारेमा प्रकाश पारेका थिए।

उक्त समारोहमा डा निकी बटलर र डा लुइसा आस्लिले प्रा सुवेदीको प्राज्ञिक तथा पेसागत  योगदानबाट  प्रभावित भएर  उक्त ग्रन्थको लेखन र सम्पादन गरेको बताएका थिए । उक्त दुई अङ्ग्रेज महिला प्राध्यापकहरूले प्राध्यापक सुवेदीको सुपरिवेक्षणमा दश–पन्ध्र वर्ष अघि विद्यावारिधि गरेका थिए र उनीहरूले अहिले आफ्ना गुरुको सम्मानमा उक्त ग्रन्थ लेखन र सम्पादन गरेका हुन् । बेलायतको प्रतिष्ठित प्रकाशन गृह राउटलेजले उक्त ग्रन्थ प्रकाशन गरेको हो । उनीहरू मध्ये डा निकी बटलर म्यानचेस्टर विश्वविद्यालयमा प्राध्यापक भएकीले उनले उक्त कार्यक्रम आफ्नै विश्वविद्यालयमा आयोजना गरेकी हुन्। उक्त सम्मेलनको समाप्ति पछि प्रा सुवेदीको सम्मानमा एक रात्रि भोजको आयोजना गरिएको थियो।
प्राध्यापक सुवेदीको सुपरिवेक्षणमा २३ देशका ४० जना विद्यार्थीले विद्यावारिधि गरेका छन् । उनी आफैँले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधि गरेका हुन् । उनले १२ वटा ग्रन्थ र ६० भन्दा बढी प्राज्ञिक लेख संसारभरिका उत्कृष्ट जर्नलमा प्रकाशन गरेका छन् ।
सुवेदीले लिड्स विश्वविद्यालयमा सन् २००४ देखि र अक्सफोर्ड विश्वविद्यालयमा सन् २०१६ देखि प्राध्यापन गर्दै आएका छन्।