नेसनल सेन्टर फर एजुकेसन स्ट्याटिस्टिक्सका अनुसार राष्ट्रिय रूपमा ७७ प्रतिशत अमेरिकी स्कुलहरूले गैरशैक्षिक प्रयोगको लागि स्कुलमा सेलफोन निषेध गरेका छन् । तर, त्यो संख्या भ्रामक छ । यसको मतलब यो होइन कि विद्यार्थीले ती प्रतिबन्धलाई पालना गरेका छन् । अर्थात्, सबै विद्यालयहरूले प्रतिबन्धलाई कार्यान्वयनमा ल्याएका छैनन् । फोन फ्री स्कुल मुभमेन्टका सहसंस्थापक किम ह्विटम्यानका अनुसार प्रतिबन्धको मुद्दालाई लिएर अभिभावक र शिक्षक दुवै पक्ष सकारात्मक छन् । किनकि उनीहरू मोबाइलकै कारण बच्चाहरूको खस्कँदो नतिजालाई लिएर तनावमा छन् । ‘तपाईं ठुलो वा ग्रामीण जुनसुकै सहरमा बसे पनि स्कुलको समयमा बच्चाहरूलाई फोन र सोसल मिडियाको दबाबबाट सात घण्टाको ब्रेक चाहिन्छ,’ उनले भनिन् ।
कुन–कुन राज्यले लागू गर्दै छन् प्रतिबन्ध ?
कम्तीमा आठ राज्यहरू– क्यालिफोर्निया, फ्लोरिडा, इन्डियाना, लुइसियाना, मिनेसोटा, ओहायो, साउथ क्यारोलिना र भर्जिनियाले विद्यालयमा विद्यार्थीको सेलफोन प्रयोगमा प्रतिबन्ध लगाउने कदम चालेका छन् । उनीहरूको कदमलाई अभिभावकहरूले स्वागत गरेका छन् । तर, राज्यपिच्छे नीतिहरूको दायरा व्यापक छ । फ्लोरिडा विद्यालय समयमा सेलफोनमा रोक लगाउने पहिलो राज्य बन्यो । उक्त राज्यले २०२३ मा एउटा कानुन पारित गर्यो, जसअनुसार सबै सार्वजनिक विद्यालयले कक्षाको समयमा सेलफोन प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ र जिल्ला वाइफाईमा सोसल मिडियाको पहुँच रोक्न आवश्यक छ ।
धेरै अन्य राज्यहरूले फोनहरू प्रतिबन्धित गरेका छैनन्, तर काउन्टीका विभिन्न विद्यालयलाई त्यस्ता प्रतिबन्धहरू लागू गर्न प्रोत्साहित भने गरेका छन् । ती राज्यले दिनको समयमा फोन सेट विद्यार्थीलाई उपलब्ध नगराउन विद्यालयहरूलाई उत्प्रेरित गरेका छन् । स्यान्डर्सले गत वर्ष एक पायलट कार्यक्रम घोषणा गरे जसअनुसार फोन–मुक्त नीतिहरू अपनाउने विद्यालयहरूलाई अनुदान प्रदान गर्न थालियो । १०० भन्दा बढी विद्यालयहरूले यस कार्यक्रममा हस्ताक्षर गरे । यस हप्ता उनले पूर्ण प्रतिबन्धको प्रस्ताव गरे । ‘हामी हाम्रा विद्यालयहरूमा सेलफोनहरू प्रतिबन्धित गर्नेछौं, घण्टी बजाउनेछौं, ताकि हाम्रा बच्चाहरू कक्षामा वा बाहिरबाट विचलित नहोस्’ स्यान्डर्सले भने ।
हालै प्रतिबन्धको लागि आह्वान गर्ने अन्य गभर्नरहरूमा न्यू ह्याम्पशायरकी केली अयोटे (जसले यस महिना शपथ लिएकी थिइन), आयोवाका गभर्नर किम रेनोल्ड्स र नेब्रास्काका गभर्नर जिम पिलेन छन् । न्युयोर्कका गभर्नर क्याथी होचुलले सुझाव दिएकी छिन् कि उनले राज्यव्यापी नीति खोज्नेछिन्, तर विशेष प्रस्ताव भने गरेकी छैनन् ।
प्रतिबन्धको विरोध कस्तो ?
सेलफोन प्रतिबन्धले केही राज्यका विद्यालयहरूले अभिभावकहरूको विरोधको सामना गर्नुपरेको छ । सेलफोनले आपत्कालीन अवस्थामा आफ्ना बच्चाहरूलाई सीधै सम्पर्क गर्न सहज बनाएको केही अभिभावकको तर्क छ । कतिपय अभिभावकहरूले हालै भएका विद्यालय गोलीकाण्डलाई औँल्याएका छन् जहाँ सेलफोनमा पहुँच हुँदा आफ्ना प्रियजनहरूसँग कुराकानी गर्न सक्छन् । तर, प्रतिबन्धका समर्थकहरूले भनेका छन् कि विद्यार्थीहरूको फोनले विद्यार्थीहरूलाई विचलित गरेर आपत्कालीन समयमा थप खतरा निम्त्याउन सक्छ ।
प्रतिबन्धको विरोध गर्ने अभिभावकले फोनले आफ्ना बच्चाहरूलाई आकस्मिक र महत्वपूर्ण विषयमा सञ्चार गर्न सहयोग गर्ने भएकाले विद्यालयमा फोन दिनु आवश्यक भएको तर्क गरेका छन् । नेसनल पेरेन्ट्स युनियनका अध्यक्ष केरी रोड्रिग्सले आफू बालबालिकामा सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याएको खतराका बारे सचेत रहेको, तर राज्यले खोजेको प्रतिबन्धले धेरै बहस निम्त्याएको बताउँछिन् । विद्यालयको दिनमा मोबाइलमा प्रतिबन्ध लगाउनाले धम्की वा सामाजिक सञ्जालका खतराजस्ता अन्तर्निहित समस्या समाधान नगर्ने उनी बताउँछिन् ।