February 7, 2025, Friday
२०८१ माघ २६

इसराइलले लेबननमा रहेका शान्ति सेनामाथि गरेको आक्रमण ‘अस्वीकार्य: इयु

२०८१ आश्विन २९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

290

युरोपेली संघ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबननमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूलाई घाइते बनाएको इसराइली आक्रमणको शृङ्खलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गरेका छन्।

‘इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि आक्रमण रोक्न इसराइललाई आग्रह गर्न सहमत भएका छन्,’ बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भने, ‘संयुक्त राष्ट्रसंघका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ।’

हालैका दिनहरूमा इसराइलले दक्षिणी लेबननमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन्।

इसराइलको सन् १९७८ को लेबनन आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार पाँच सय सैनिकहरूको मिसन युनिफिलले इसराइली सेनालाई आफ्ना ठाउँहरूमा ‘जानीजानी’ आक्रमण गरेको आरोप लगाएको छ।

‘धेरै युरोपेली सदस्य यस मिसनमा सहभागी छन्,’ बोरेलले भने, ‘उनीहरूको काम धेरै महत्त्वपूर्ण छ।’

इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई ‘मानव ढालको’ रूपमा प्रयोग गरेको बताउँदै दक्षिण लेबननमा तैनाथ शान्ति सैनिकहरूलाई ‘खतराको बाटोबाट’ हटाउन आह्वान गरेका थिए।

युनिफिलले आफ्ना स्थानहरू छाड्न अस्वीकार गरेको छ।

RSS