ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको मृत्युपछि सिर्जित परिस्थितिका कारण कलेज छाडेका विद्यार्थीहरुमध्ये केही फर्किएका छन् ।
दिल्लीस्थित नेपाली दूतावासबाट ओडिसामा खटिएका कन्सुलर सञ्जीव शर्मा दासका अनुसार, अहिले कलेजमा फर्किएर आएकासहित १८२ जना विद्यार्थी छन् । यद्यपि, कलेजमा १ हजार १६९ नेपाली विद्यार्थी पढ्दै आएका थिए ।
एक विद्यार्थीका अनुसार, भारतमै रहेकाहरु फर्किइरहे पनि नेपालसम्म आएकाहरु अझै फर्किन तयार छैनन् । उनीहरुले निष्पक्ष छानबिन, कम्प्युटर साइन्सका निर्देशकमाथि अनुशासनको कारबाही लगायतका विभिन्न बुँदे माग राखेका छन् ।
नेपाली विद्यार्थीहरुको मनस्थिति बुझेपछि केआईआईटीले आगामी सेमेस्टरको परीक्षा पनि सार्ने भएको छ । ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजले प्रदेशसभामा बोल्दै आवश्यकताअनुसार परीक्षाको नयाँ मिति तोकिने भनेका छन् । ‘सरकारले नेपाली विद्यार्थीलाई भविष्यमा केआईआईटीबाट कुनै समस्या नहोस् भन्ने विषयलाई विशेष प्राथमिकता दिनेछ’, उनले भनेका छन् ।
केआईआईटीको गर्ल्स होस्टलको कोठामा आइतबार रुपन्देही स्थायी घर भएकी नेपाली विद्यार्थी २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । कलेज प्रशासनले उनले आत्महत्या गरेको भन्दै यो प्रकरणलाई सामान्यीकरण गर्न खोजेको थियो ।