क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले शुक्रबार शपथ खाएका छन्। हालै क्यानडाको लिबरल पार्टीको नेतृत्वको चुनावमा विजयी भएपछि केन्द्रीय बैंकका पूर्वगभर्नर कार्नी क्यानडाको प्रधानमन्त्री बनेका हुन्। सामान्यतया क्यानडाका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुने गर्छ।
को हुन् कार्नी?
मार्क कार्नीको जन्म मार्च १६, १९६५ मा क्यानडाको उत्तर-पश्चिममा रहेको फोर्ट स्मिथमा भएको थियो। यद्यपि उनको सुरुवाती जीवन अल्बर्टाको एडमन्टनमा बित्यो। मार्कका आमाबाबु दुवै स्कुल शिक्षक थिए।
त्यसैले सुरुदेखि नै उनको पढाइ धेरै राम्रो थियो। कार्नीले आफ्ना आमाबाबुले आफूलाई सार्वजनिक सेवाप्रति प्रतिबद्धता जगाएको बताएका छन्। मार्क कार्नीले २००४ मा क्यानाडाली वित्त विभागमा पनि काम गरे। अर्थशास्त्रको क्षेत्रमा प्रतिभा देखाएपछि उनलाई २००७ मा बैंक अफ क्यानडाको गभर्नर बनाइएको थियो।
मार्क कार्नीले क्यानडाको २४औं प्रधानमन्त्रीको रूपमा सपथ लिएपछि क्यानडा कहिल्यै अमेरिकाको हिस्सा नबन्ने बताएका छन् । “हामी कहिल्यै, कुनै पनि रूपमा, अमेरिकाको हिस्सा हुने छैनौं,“ क्यानडा र इंग्ल्यान्डको केन्द्रीय बैंकका पूर्व गभर्नर कार्नीले ओटावास्थित रिडो हल बाहिरको भिडलाई सम्बोधन गर्दै भने । उनले डोनाल्ड ट्रम्पको गाभ्ने धम्की अस्वीकार गर्दै थपे, “हामी मौलिक रूपमा एक फरक देश हौं ।“ उनले थपे कि क्यानडाले अमेरिकाबाट “सम्मानको अपेक्षा गर्छ“, साथै आफ्नो सरकार ट्रम्प प्रशासनसँग “सहकार्य गर्ने तरिका खोज्न सक्ने“ आशा व्यक्त गरे।
एक हप्ता भन्दा कम समयअघि, कार्नीले कडा प्रतिस्पर्धामा ८५.९% मत प्राप्त गर्दै पूर्व अर्थमन्त्री क्रिस्टिया फ्रील्यान्ड, पूर्व सरकारी हाउस लिडर करिना गोल्ड र पूर्व सांसद फ्रान्क बेइलिसलाई पराजित गरेका थिए। उनलाई पहिले कुनै निर्वाचित अनुभव छैन र हाउस अफ कमन्समा कुनै सिट छैन, जसले उनलाई क्यानडाली इतिहासमा दुर्लभ नेताको रूपमा उभ्याएको छ।