दक्षिण कोरियामा राष्ट्रपतिले यून सुक योलले मंगलबार साँझ लगाएको इमरजेन्सी मार्सल ल त्यहाँको संसदले उल्ट्याएको छ। राष्ट्रपति योलले विपक्षी पार्टीलाई विद्रोको योजना बनाएको र स्वतन्त्र लोकतन्त्र ढाल्ने प्रयास गरेको आरोप लगाउँदै आपतकालीन सैनिक कानुन घोषणा गरेको केही घन्टामा संसदले त्यसलाई उल्ट्याएको हो।
नेशलन एसेम्बलीका ३०० मध्य १९० सांसद राष्ट्रपति योलले घोषणा गरेको मार्सल ल को विपक्षमा उभिएपछि सैनिक कानुन फिर्ता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेको छ। त्यस्तै सबै मिडिया र प्रकाशनहरू मार्सल लको कमान्डको नियन्त्रणमा रहने उनले बताएका छन्। मार्सल ल र आदेश उल्लंघन गर्नेलाई अदालतको वारेन्ट बिनै पक्राउ गर्न सकिने पनि उनले बताएका छन्।
दक्षिण कोरियामा सन् १९८० को दशकको अन्त्यमा सैन्य तानाशाही समाप्त भएपछि पहिलोपटक कुनै राष्ट्रपतिले मार्सल ल घोषणा गरेका हुन्। विपक्षी पार्टीलाई ‘विद्रोहको योजना बनाएको’ र ‘स्वतन्त्र लोकतन्त्र ढाल्ने प्रयास गरेको’ आरोप लगाउँदै राष्ट्रपति यूनले मार्सल ल घोषणा गरेका हुन्। उनले नागरिक र राजनीतिक दलहरूका कुन कुन अधिकार निलम्बित हुन्छन् भनेर चाहिँ खुलाएका छैनन्। दक्षिण कोरियाको संविधान अनुसार राष्ट्रपतिले लगाएको मार्सल ल संसदको बहुमतले उल्ट्याउन सक्छ।
राष्ट्रपतिको निर्णय उल्ट्याउन उनकै पार्टीका सांसदहरू पनि मार्सल लको विपक्षमा उभिएका थिए।बहुमत सांसदहरूले आफ्नो निर्णयविरूद्ध उभिएपछि राष्ट्रपति योलले मार्सल ल हटाएका छन्। राष्ट्रपतिको निर्णय उल्टिएसँगै त्यहाँका राजनीतिक दल र नेताहरुले उनको राजीनामा मागेका छन्। राष्ट्रपति यूनले मंगलबार साँझ एक्कासि मार्सल ल (सैनिक कानुन) घोषणा गरेलगत्तै त्यहाँ ‘मार्सल ल हटाऊ’ भन्दै विरोध र प्रदर्शन सुरू भएको थियो।