March 22, 2025, Saturday
२०८१ चैत्र ८

बाराक ओबामाले पनि गरे कमला ह्यारिसलाई समर्थन

२०८१ श्रावण १२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

845

पूर्व-अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पविरूद्ध डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसको उम्मेदवारीको समर्थन गरेका छन्। हालका राष्ट्रपति जो बाइडेनले आइतबार डेमोक्र्याटिक पार्टीका तर्फबाट आफूले चुनाव नलड्ने र ह्यारिसलाई पार्टीको उम्मेदवार प्रस्ताव गरेपछि पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टन लगायत धेरै वरिष्ठ नेता र ह्यारिसका प्रतिद्वन्द्वी ठानिएका धेरै नेताले समेत समर्थन गरेका थिए। तर ओबामाले भने त्यसो गरेका थिएनन्।

सन् २०१६ मा राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल पुरा गरेपछि डेमोक्र्याटिक पार्टीका अभिभावकको भूमिकामा रहेका ओबामाले किन ह्यारिसलाई अनुमोदन गरेनन् भनेर चर्चा चल्न थालेको थियो। उनी निकट नेताहरूले ओबामाले पार्टी भित्रको प्रतिस्पर्धामा कसैको पनि पक्ष लिने नगरेको भने पनि उनले अनुमोदन नगर्दा कतै उनी ह्यारिसले ट्रम्पलाई हराउन नसक्ने त ठान्दैनन् भनेर प्रश्न उठेका थिए।

ट्रम्पका संचार निर्देशकले हालै निकालेको एक विज्ञप्तिमा समेत ओबामासहित डेमोक्र्याटिक पार्टीका धेरै नेता ह्यारिसले ट्रम्पलाई हराउन नसक्ने ठानेर उनीभन्दा राम्रो उम्मेदवार खोजिरहेका छन् भन्ने दाबी गरिएको थियो। तर ह्यारिस उम्मेदवार बन्ने लगभग पक्का भएपछि भने ओबामाले उनको उम्मेदवारीको समर्थन गरेका छन्।

ओबामा र उनकी श्रीमती मिसेल ओबामाले संयुक्त विज्ञप्ति निकालेर ह्यारिसलाई अमेरिकाको आगामी राष्ट्रपति निर्वाचित गराउन उनीहरूले सक्ने जेसुकै गर्ने दृढता व्यक्त गरेका छन्। ह्यारिसले फोन गरेर ओबामाको अनुमोदन स्वीकारेको भिडिओ उनको प्रचार गर्ने टिमले शुक्रबार सार्वजनिक गरेको छ।

 

त्यस्तै, डेमोक्र्याटिकबाट कमला ह्यारिसलाई राष्ट्रपतिका उम्मेदवारका रूपमा समर्थन गरेका थिए। राष्ट्रपतिको निधन भए वा काम गर्न नसक्ने गरी बिरामी भएमा, जसरी उपराष्ट्रपतिले सोझै राष्ट्रपतिको पदभार सम्हाल्छन्, चुनावमा उम्मेदवारी दिने हकमा त्यसो हुँदैन।

बाइडेनले मैदान छाडेपछि ह्यारिस स्वाभाविक रूपमा प्रमुख दाबेदार भए पनि अरूले उनलाई चुनौती दिन सक्छन्। तर ह्यारिसलाई पार्टीका वरिष्ठ नेता र उनका प्रतिद्वन्द्वी ठानिएका धेरै नेताले समेत समर्थन गरेका थिए। राष्ट्रपतिका लागि दाबेदार मानिएका क्यालिफोर्नियाका डेमोक्र्याट गभर्नर ग्याभिन न्यूसमले बाइडेनले मैदान छाड्ने बित्तिकै ह्यारिसको समर्थन गरेका थिए।

धेरैले ट्रम्पलाई हराउन सक्ने सबभन्दा बलियो दाबेदार ठानेकी मिसिगनकी गभर्नर ग्रेचन ह्विटमरले पनि सोमबार ह्यारिसलाई समर्थन गरेकी थिइन्। तर बाइडेनलाई उम्मेदवारी फिर्ता लिन लगाउन प्रमुख भूमिका खेलेकी प्रतिनिधि सभाकी पूर्वसभामुख न्यान्सी पेलोसी र ओबामाले भने ह्यारिसको उम्मेदवारीको अनुमोदन गरेका थिएनन्।

पार्टीका सबैभन्दा प्रभावशाली दुई नेताले ह्यारिसलाई समर्थन नगरेकाले केही शंका उब्जिरहेको बेलामा पेलोसीले बिहीबार बिहानै समर्थन गरेकी थिइन्। त्यसको २४ घण्टा पनि नबित्दै ओबामाले पनि ह्यारिसको उम्मेदवारीको अनुमोदन गरे पछि पार्टी पुरै एक ढिक्का भएर ह्यारिसलाई जिताउन लागेको सन्देश गएको छ।